फाट्टफुट्ट खुल्न थाले खाद्य पसल

तरकारी र फलफूलको मूल्यमा मनपरी
राजु चाैधरी, नुमा थाम्सुहाङ

काठमाडौँ — सरकारले लकडाउन गरेको दोस्रो दिन फाट्टफुट्ट रूपमा खाद्यान्न सामग्री बेच्ने पसल खुलेका छन् । सरकारले अत्यावश्यक वस्तु बिक्रीवितरण गर्न रोक नलगाए पनि पसल कति बेला खोल्ने र कसरी बिक्रीवितरण गर्ने भन्ने द्विविधाका कारण प्रायः पसल बन्द थिए । सुरक्षाका दृष्टिले पनि प्रायः पसल सञ्चालकले खोल्न नचाहेको व्यवसायी बताउँछन् ।

‘बजारतिर कहीँकतै मात्र पसल खुलेका छन् । आफ्नै घरमा पसल हुनेले सञ्चालन गरे पनि टाढाबाट आउनेलाई प्रहरीले रोक्यो,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘सीडीओ कार्यालयमा सम्पर्क गर्दा खाद्य पसललाई छुट दिने भनिएको छ । तर कर्मचारी आउन पाएनन् ।’


संघले सम्भव भएसम्म पसल सञ्चालन गर्न आग्रह गरिरहेको उनले बताए । स्वास्थ्य सुरक्षाका कारण बाध्य बनाउन भने नसकिएको उनको भनाइ छ । प्रायः ग्राहकले मौज्दात राखेकाले एकदुई सातासम्म केही समस्या नहुने उनको दाबी छ । कतिपय ठाउँमा ग्राहकको भीड बढेपछि स्थानीय प्रहरी प्रशासानले समेत पसल बन्द गराएको व्यवसायी बताउँछन् ।


घरमै खाद्यवस्तु डेलिभरी


‘बुधबार भाटभटेनीका आठ ओटा शाखा सञ्चालन गरेका थियौं । तर प्रहरी प्रशासनले बन्द गर्न भन्यो,’ भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘साढे १ बजेदेखि पुनः बन्द गर्‍यौं ।’ सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्देशन दिएको छ । त्यसको असर अत्यावश्यक वस्तुमा पनि परेको छ ।


मुख्य कारोबार हुने असन, इन्द्रचोक, वसन्तपुरलगायत क्षेत्रमा सञ्चालित पसल बुधबार आंशिक रूपमा मात्रै खुले । खुला खाद्य पसलमा उपभोक्ता चाउचाउ, बिस्कुट, भुजिया, दालमोठ, दूध, चिनी, चिउरालगायत सामान खरिदमै व्यस्त थिए । ‘प्रायः खाद्य पसल बन्द छन् । हिजो र आज मैले मात्र पसल खुला राखेको छु,’ काठमाडौं महानगरपालिका–२३ मा किराना पसल सञ्चालन गर्दै आएका अर्जुन दुलालले भने, ‘खाजा र खुद्रा सामान किन्ने ग्राहक नै बढी आउँछन् ।’ दैनिक ३/४ सय ग्राहक आउने गरेको उनको भनाइ छ । पसल खोल्दा प्रहरीले भने बन्द गर्न अनुरोध गरेको उनले बताए ।


ओमबहालस्थित जुजुधौ पसल पनि बुधबार खुला रह्यो । ग्राहककै अनुरोधमा पसल खुला राखिएको सञ्चालक राम श्रेष्ठको भनाइ छ । ‘२०/३० जना ग्राहक आइरहेका छन्,’ उनले भने, ‘ग्राहक थोरै आए पनि दूधको परिमाण धेरै किनेका छन् ।’ ओमबहालमै रहेको धनबहादुर पानी सप्लाईका सञ्चालक धनबहादुर थापा मगरले पानी अत्यावश्यक भएकाले पसल खुला नै गरिएको बताए ।


बुधबार गरेको बजार निरीक्षणमा पनि प्रायः पसल बन्द रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । मुख्य सडकका अधिकांश पसल बन्द छन् । भित्र रहेका ससाना पसल भने खुला रहेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रको भनाइ छ । ‘कोभिड–१९ को त्रासले खाद्य पसल फाटफुट मात्रै चलेको देखिन्छ,’ उनले भने, ‘हामीले आज बजार मूल्यभन्दा पसल निरीक्षण गर्‍यौं ।’


अहिले प्रायःले खाद्यान्नको जोहो गरिसकेको व्यवसायी बताउँछन् । चामल, नुन, तेल, चिनी, गेडागुडीलगायत एक–दुई सातासम्मलाई कुनै समस्या छैन । तर हरियो तरकारीको भने समस्या छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति र बल्खु तरकारी बजारमा फलफूल र हरियो तरकारी भित्रिए पनि ढुवानी गरेर बिक्री गर्ने मान्छे नरहेको व्यवसायी बताउँछन् । बुधबार १ सय ५३ टन तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । बिहान ८ बजेसम्म कारोबार भए पनि त्यसपछि किन्ने मान्छे नभएको उनले बताए ।

‘सामान आउन रोकिएको छैन,’ उनले भने, ‘किन्ने मान्छे भने त्यति आएका छैनन् ।’ होलसेलमा तरकारीको मूल्य नबढेको व्यवसायीको भनाइ छ । टमाटर किलोको ५० रुपैयाँ, घिउसिमी ३५ रुपैयाँ, काउली २५ रुपैयाँसम्ममा बिक्री भएको ढुंगाना एग्रिकल्चरका सञ्चालक समर्थन ढुंगानाले बताए । तर खुद्रा पसलेले भने चर्को मूल्य असुल्दै आएका छन् । ‘बिहान बिक्री गरेको तरकारी बेलुका खरिद गर्न खोज्दा दोब्बर, तेब्बर तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर अनुगमन कसले गर्नु ?’


विभागका कर्मचारी भने जटिल अवस्थामा २–४ रुपैयाँ बढी लिनु स्वाभाविक भएको बताउँछन् । ‘बजारमा तरकारी नै छैन । तरकारी पाउनु नै ठूलो कुरा हो,’ ती अधिकारीले भने, ‘बढी मूल्य लिए पनि उपभोक्ताले किनेका छन् । कुनै गुनासो छैन ।’



घरमै खाद्यवस्तु डेलिभरी

सरकारले खाद्यवस्तुको होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कोरोना समन्वय समिति बैठकले बुधबार ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिनेछ ।


बैठकले औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई आवागमन अनुमति दिने निर्णय गरेको छ । यस्ता सवारीसाधनले भने यात्रु ओसारपसार गर्न पाउनेछैनन् । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूललगायत अन्य खाद्यवस्तु बिक्रीवितरण गर्ने र ग्राहकबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने पनि निर्णय भएको छ । इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन गर्न सरकारले भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।


‘इन्धन ढुवानीमा समस्या छैन’

नेपाल आयल निगमले इन्धन ढुवानीमा कुनै अवरोध नभएको जनाएको छ । मंगलबार मात्रै २ हजार ३ सय टन ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘एकै दिन १ सय २७ बुलेट ग्यास लोड भए, यो इतिहासकै सबैभन्दा बढी हो,’ उनले भने, ‘बुधबार पनि लोड भइरहेको छ । इन्धन ढुवानीका क्रममा कुनै पोइन्टमा समस्या छैन ।’


ग्यास आयातमा समस्या नभए पनि आन्तरिक व्यवस्थापनमा भने केही चुनौती देखिएको उनले बताए । ‘मान्छे हिँडडुल गर्न मिल्दैन । अनिवार्य पास चाहिन्छ, सुरक्षाको कुरा पनि छ,’ उनले भने, ‘बोटलिङ प्लान्ट कसरी सञ्चालन गर्ने भन्ने छलफलमा छौं ।’ बजारमा अभाव हुन नदिन परिचयपत्रका आधारमा मात्रै ग्यास दिइएको उनले बताए । यसैबीच कोरोना समन्वय समितिको बुधबारको बैठकले ग्यास रिफिलिङमा समस्या हुन नदिन ग्यास बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकलाई कार्यस्थलसम्म आउनजान सम्बन्धित उत्पादक संस्थाले सवारीसाधनको व्यवस्था गर्न लगाउने निर्णय गरेको छ । सवारीसाधनका लागि आवश्यक अनुमति गृह मन्त्रालयले दिने जनाएको छ । प्रकाशित : चैत्र १३, २०७६ ०८:५२

प्रतिक्रिया
पठाउनुहोस्

चीनका कक्षा नेपालबाटै

कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि चीनबाट स्वदेश फर्किएका नेपाली विद्यार्थी घरमै बसेर नियमित कक्षा लिइरहेका छन् । प्राध्यापक पनि अनलाइनबाटै पढाइरहेका छन् ।
गणेश राई

काठमाडौँ — पढाउनु पर्ने चीनमै हो । पढ्दै गरेका विद्यार्थी र पढाउन खटिएका विश्वविद्यालय पनि चीनमै छन् । तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का दुई सहप्राध्यापक दुई महिनादेखि काठमाडौंबाटै पढाइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि चीनबाट स्वदेश फर्किएका नेपाली विद्यार्थी घरमै बसेर नियमित कक्षा पढिरहेका छन् ।

‘युनिभर्सिटीको तालिकाअनुसार मार्च २ बाटै कक्षामा पढाउन पुग्नुपर्थ्यो,’ त्रिविका सहप्राध्यापक धनप्रसाद सुवेदीले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि युनिभर्सिटीले अर्को सूचना नभएसम्म नआउनू भनेको छ । युनिभर्सिटीले घरै बसेर पढाउनू भनेपछि मार्च ९ बाट अनलाइन कक्षा पढाउँदै छु ।’ त्रिविबाट खटिएका सुवेदीले युन्नान प्रान्तको कुनमिङस्थित युन्नान मिन्चु युनिभर्सिटीमा नेपाली विषय पढाउँदै आएका छन् । उनी गत सेप्टेम्बरमा एक वर्षका निम्ति त्यहाँ पुगेका थिए । चिनियाँ नयाँ वर्षको अवसरमा हुने डेढमहिने हिउँदे छुट्टीमा स्वदेश फर्किका हुन् ।

‘मेरा दस जना विद्यार्थी छन्, जसमा ८ जना युन्नानका र दुई जना अन्य प्रान्तका छन्,’ भक्तपुरको सिर्जनानगरस्थित घरमा रहेका सुवेदीले कान्तिपुरसँग भने, ‘विद्यार्थी पनि घरमै बसेर मेरो कक्षामा सहभागी भएका छन् । हामीले जुम एप्लिकेसन प्रयोग गरेर भिडियो कन्फरेन्स गर्दै आएका छौं ।’ उनले बिहान सवा ८ बजेबाट डेढ घण्टाको कक्षा पढाउने गरेको बताए ।

त्रिविका अर्का सहप्राध्यापक हरिराम अधिकारी कियन युनिभर्सिटीमा अंग्रेजी विषय पढाउँछन् । जेजियाङ प्रान्तको वेनझउ सिटीमा रहेको यो युनिभर्सिटी अमेरिकी शैलीमा खुलेको चीनको पहिलो युनिभर्सिटी हो । ‘म अंग्रेजी साहित्य पढाउँछु,’ काठमाडौंको मीनभवनस्थित घरमै रहेका अधिकारीले भने, ‘यो युनिभर्सिटीमा धनाढ्यका छोराछोरी पढ्दा रहेछन् । तीन सेक्सनका विद्यार्थीलाई पढाउँछु । प्रतिसेक्सन पन्ध्रदेखि बीस जना छन् ।’

भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत अधिकारी अनलाइन पढाउँदा ‘ब्ल्याकबोर्ड सफ्टवेयर’ प्रयोग गरेको बताउँछन् । ‘मेरो रुटिन मिलेको छ, चीनमा बिहान साढे ८ बज्दा नेपालको सवा ६ बज्छ, हामी (शिक्षक र विद्यार्थी) डेढ घण्टासम्म प्रत्यक्ष कक्षामा रहन्छौं,’ उनले भने, ‘अरूले बनाइदिएको किताब पढाउनेभन्दा पनि आफैंले सबै विषयवस्तु खोजेर पावरप्वाइन्टमा प्रस्तुत गर्छु ।’ शिक्षकको प्रस्तुतिपछि विद्यार्थीले टीकाटिप्पणी गर्छन्, प्रश्न सोध्छन् र सामूहिक छलफल गर्छन् । त्यसपछि शिक्षकले साप्ताहिक र मासिक गृहकार्य दिन्छन् । यसरी उनी सातामा छवटा कक्षा लिन्छन् ।

सम्बन्धित युनिभर्सिटीका प्राध्यापक तथा सुपरभाइजरले यी दुई शिक्षक र विद्यार्थीको स्वास्थ्यस्थिति र नियमित कक्षाबारे सोधीखोजी गर्छन् । ‘मैले पढाइरहेको युनिभर्सिटीले दैनिक रूपमा मेरो स्वास्थ्यको बारेमा चासो लिएर सोधिरहन्छ,’ सहप्राध्यापक अधिकारीले भने ।

त्यसैगरी केशव गिरी चीनको हुनान युनिभर्सिटीमा मास्टर्स इन सिभिल इन्जिनियरिङअन्तर्गत ब्रिज एन्ड टनेल विषय प्रथम वर्ष तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । कोरोना भाइरस फैलिएपछि गत जनवरीमा स्वदेश फर्किएका उनी काठमाडौंमै बसिरहेका छन् । ‘युनिभर्सिटीको नियमानुसार अहिले अनलाइनबाट सातामा दुईवटा कक्षा पढिरहेको छु,’ गिरीले भने, ‘विच्याटको प्रयोग गर्छौं । हरेक दिन प्राध्यापक र सुपरभाइजसँग कुराकानी हुन्छ । हाम्रो स्वास्थ्यस्थितिबारे जानकारी लिन्छन् । अनलाइन कक्षामा शिक्षकले दिएको गृहकार्य पूरा गरेर पठाउनुपर्छ । सातामा एकपटक सामूहिक छलफल हुन्छ । त्यसैअनुसार रिसर्च पेपर बुझाउनुपर्छ ।’ कक्षामा सहभागी सबै विद्यार्थीको तालिका उस्तै रहेको उनले सुनाए । उक्त युनिभर्सिटीमा १० जना नेपाली विद्यार्थी छन् ।

सिन्धुपाल्चोकका पवन गोले पनि हुनान युनिभर्सिटीमै पढ्छन् । हिउँदे बिदामा स्वदेश फर्किएका उनी यतिखेर ललितपुरको सातदाबाटोस्थित डेरामा बसेर अनलाइनमा पढ्दै छन् । ‘चिनियाँ भाषा र संस्कृति’ पढिरहेका उनी स्नातक चौथो तथा अन्तिम वर्षका विद्यार्थी हुन् । गाउँमा बस्दा इन्टरनेट समस्या हुने भएकाले उपत्यकामै बस्नुपरेको उनले बताए । ‘सोमबार र शुक्रबार दुई दिन अनलाइनबाट पढ्दै छौं,’ उनले भने ।

काठमाडौं चौमतीका विश्वास श्रेष्ठ युन्नान युनिभर्सिटीमा स्नातक तह ‘लजिस्टक म्यानेजमन्ट’ विषय पढ्छन् । यतिखेर घरमै बसेर चारवर्षे कोर्सको छैटौं सेमेस्टर अनलाइनमार्फत पढ्दै छन् । ‘विच्याटमार्फत् साता तीनवटा कक्षा पढ्दै छु,’ युनिभर्सिटीले अर्को सूचना जारी नभएसम्म चीन नआउन जनाउ दिएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘भिसा धेरै बाँकी रहेकाले कुनै चिन्ता छैन । पढाइ निरन्तर जारी छ । हामी बसेको ठाउँ कुन्मिन सहरको जनजीवन सामान्य भइसकेको छ । सम्भवतः चाँडै युनिभर्सिटीले बोलाउनेछ ।’

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक भूप धमलाका अनुसार चीनको युनिभर्सिटीमा औपचारिक रूपमा पढाउन जाने शिक्षक सुवेदी र अधिकारी दुई जना मात्र हुन् । व्यक्तिगत पहलमा जाने अरू पनि हुन सक्ने उनले बताए । चीनका विभिन्न युनिभर्सिटीमा पढ्दै गरेका नेपाली विद्यार्थीको तथ्यांक भने यकिन छैन ।

चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँका युनिभर्सिटीले आफ्नै होस्टलमा बसेका शिक्षक र करोडौं विद्यार्थीलाई कक्षा कोठामा होइन, यसैगरी अनलाइनमा पढाउने तथा पढ्ने व्यवस्था गरेका छन् । नेपालमा विद्यमान ११ विश्वविद्यालयमध्ये नेपाल खुला विश्वविद्यालय (एनओयू) ले मात्र औपचारिक रूपमा खुला मोडबाट भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ । अन्य विद्यालयले नियमित कक्षाकै आधारमा पठनपाठन सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×