घरमै खाद्यवस्तु डेलिभरी

चैत्र १२, २०७६

राजु चौधरी

काठमाडौँ — सरकारले खाद्यवस्तुको होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कोरोना समन्वय समितिको बुधबार बसेको बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधानलाई अनुमति दिने उल्लेख छ ।


समितिको बैठकले औषधि खाद्य वस्तु, पानी, दूध, फलफुल, तरकारी, पशुपन्छी र माछाको दाना कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधानलाई सुचारु गर्ने पनि निर्णय गरेको छ । 


यस्ता सवारी साधानले भने यात्रु ओसारपसार गर्न पाउने छैन । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफुल लगायत अन्य खाद्यवस्तु विक्री वितरण गर्ने र ग्राहकहरुबीच भौतिक दूरी कायम हुनेगरी सञ्‍चालन गर्न सहजीकरण गर्ने पनि निर्णय भएको छ । 


यस्तै, इन्डक्सन चुल्होमा प्रोत्साहन गर्न सरकारले भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने जनाएको छ  । ‘इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयगरी विद्युत महसुल र भन्सार छुट दिने व्यवस्था मिलाइने छ,’ समितिको निर्णयमा भनिएको छ ।

लकडाउन

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully