कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अझै खुलेनन् नाका

सरकारले सञ्चालन गर्ने निर्णय गरे पनि सबै नाकामा सर्वसाधारणले आवतजावत गर्न पाएनन्, १६ मध्ये रौतहटका गौर र बंकुल तथा सुनसरीको भन्टाबारी नाकामा मात्रै आउजाउ सहज
प्रदेश ब्युरो

काठमाडौँ — सरकारले बिहीबार भारत र चीन सीमाका थप १६ वटा नाका सञ्चालन गर्ने निर्णय गरे पनि शुक्रबार सबै नाकामा सर्वसाधारणले सहज आउजाउ गर्न पाएनन् । केही ठाउँमा गृह मन्त्रालयबाट जानकारी नआएको र केहीमा तयारी नपुगेकाले नाका सञ्चालन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएका छन् ।

अझै खुलेनन् नाका

लुम्बिनी प्रदेशका मुख्य गरी रूपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकाबाट यसअघि नै पैदल आउजाउ खोलिएको थियो । बिहीबार थप नाका खुला गरिएको समाचार सार्वजनिक भएपछि चहलपहल झन् बढेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । मालवाहकबाहेक छोटो दूरीका गाडी र मोटरसाइकललाई ओहोरदोहोर गर्न दिइएको छैन ।

कपिलवस्तुका दुई नाका पनि सञ्चालनमा आएनन् । कृष्णनगर र मर्यादपुर नाका खुलेको सार्वजनिक भएको थियो । कहींकतैबाट लिखित र मौखिक निर्देशन नआएकाले नाका नखोलेको इप्रका कृष्णनगरका प्रमुख निरीक्षक सुकदेव पौडेलले बताए । भारतीय सीमा सुरक्षा बलको धारणा आएपछि सशस्त्र प्रहरीमार्फत पत्राचार गरिने प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

पश्चिम नवलपरासीको भारतीय नाका अझै बन्द छ । किनमेलका लागि नाकामा आएका सर्वसाधारण शुक्रबार पनि रित्तै फर्किनुपरेको थियो । महेशपुर मूल भन्सार र चारवटा छोटी भन्सार पनि शुक्रबार बन्द रहे । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गृहबाट आधिकारिक रूपमा परिपत्र नआएकाले नाका खुला नगरिएको बताए । ‘अत्यावश्यकबाहेकलाई नाकामा रोक लगाइएको छ,’ उनले भने ।

धनुषाको जटही नाका : तस्बिर सन्तोष सिंह/कान्तिपुर

जिल्ला प्रशासन कार्यालय बाँकेले सीमा नाका खुला गरिएको आधिकारिक जानकारी नआएको जनाएको छ । प्रजिअ रामबहादुर कुरुम्बाङले नाकामा नेपालीले निर्बाध आवागमन गर्न पाए पनि विदेशी नागरिकलाई सर्तसहित अनुमति दिइने बताए । ‘नाकामा हेल्थ डेस्क रहन्छ, भारतबाट नेपाली निर्बाध आउन पाउँछन्,’ उनले भने, ‘रेकर्ड राखेर अत्यावश्यक कामका लागि आउने भारतीयलाई पनि प्रवेश दिएका छौं ।’

बर्दियाका प्रजिअ लीलाधर अधिकारीले यात्रुको आवागमनमा रोकतोक नहुने बताए । ‘दुवै मुलुकका सीमावर्ती नाकासम्म सवारीसाधन आउजाउ गर्न पाउनेछन्,’ उनले भने, ‘बर्दियाको मुख्य सुरजपुर नाकामा हेल्थ डेक्स राखेर स्वास्थ्य जाँच गरिने व्यवस्था मिलाइएको छ ।’

रूपन्देहीका प्रजिअ पीताम्बर घिमिरेले सीमा क्षेत्रमा हेल्थ डेस्क राखेर भारतबाट नेपाल आउने व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र मुलुक प्रवेश दिइने बताए । सरकारले बिहीबार प्रदेश २ का थप १० वटा नाका खुला गरे पनि सीमामा आवागमन सहज हुन सकेको छैन । धनुषाको जटही र इनर्वा नाका शुक्रबार बन्द रहे । गृह मन्त्रालयबाट पत्र नआएकाले नखोलिएको धनुषाका प्रजिअ बन्दुप्रसाद बाँस्तोलाले बताए ।

महोत्तरीको भिठ्ठामोड नाका पनि खुलेन । आवतजावत बन्द भए पनि भारतबाट मालसामान लिएर आउने गाडी भने आइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल–भारत नाका भारतीय पक्षको अवरोधका कारण सुचारु हुन सकेन । प्रजिअ सुरेन्द्र पौडेलले नाका सञ्चालनमा ल्याउन भारतीय डीएमसँग फोन सम्पर्क हुन नसकेपछि इमेलमार्फत जानकारी गराइएको बताए ।

बाराको मटिअर्वा नाका तस्बिर : लक्ष्मी साह/कान्तिपुर

बाराको सिम्रौनगढ र मटिअर्वा नाका पनि खुलेका छैनन् । दुवै नाका खुलाउन हेल्थ डेस्क स्थापनालगायतका बन्दोबस्त मिलाउन निर्देशन दिएको प्रजिअ दीपकराज नेपालले बताए । सबै बन्दोबस्त गरेर शनिबारदेखि नाका खोल्ने उनले जानकारी दिए ।

पर्सामा यसपटक थप नाका खुला गरिएका छैनन् । मुख्य नाका वीरगन्ज–रक्सौल भने यसअघि नै खोलिएको थियो । पर्सामा भिस्वा–सिकटा, धोरे–भेलाही, जानकीटोला–इनर्वा नाका पनि भारतसँग जोडिएका व्यस्त नाका हुन् । अति व्यस्त वीरगन्ज–रक्सौल नाकाबाट दुवै मुलुकका सर्वसाधारण आवागमन गरिरहे पनि सवारीसाधनलाई प्रवेश गर्न दिइएको छैन ।

सरकारले बिहीबार सप्तरीको कुनौली नाका खोल्ने निर्णय गरे पनि शुक्रबार साँझसम्म आवागमन गर्न दिइएको छैन । नाका खुल्ने सुनेपछि उत्साहित भएर सीमासम्म पुगेका स्थानीय र व्यापारीले पारि जान पाएनन् । ‘हामीले पनि कुनौली नाका खुल्नेबारे समाचारमा पढ्यौं तर औपचारिक रूपमा कुनै पत्र वा निर्देशन आएको छैन,’ प्रजिअ शंकरहरि आचार्यले भने, ‘निर्देशन आएपछि खोल्न सकिन्छ ।’

रौतहटको गौर र बंकुल नाकामा भने झन्डै ११ महिनापछि शुक्रबारबाट आवागमन सहज बनेको छ । अहिले नाकामा चहलपहल बढेको छ । मानिस ओहोरदोहोर गरिरहेका छन् तर सवारीसाधनलाई निषेध गरिएको छ । प्रजिअ इन्द्रदेव यादवले सीमामा आउजाउ गर्ने सबैको अभिलेख राख्ने गरेको बताए ।

कञ्चनपुरका नाका खुलाउने सम्बन्धमा स्थानीय प्रशासन अलमलमै छ । नाकामा आवागमनको व्यवस्थापन कसरी गर्ने भन्ने विषय निश्चित नभएकाले तत्काल नाका खुला हुन नसक्ने प्रजिअ रामकुमार महतोले बताए । उनले सुरक्षा निकायसँग उचित छलफलसँगै सीमावर्ती क्षेत्रका प्रशासनिक निकायसँग पनि समन्वय गरेर नाका खुलाइने बताए । ‘तत्काल नाका खुल्ने सम्भावना छैन,’ प्रजिअ महतोले भने, ‘नाकामा कस्तो मापदण्ड अपनाउने र स्वास्थ्य सुरक्षालाई कसरी नियमन गर्नेलगायतका विषयमा छलफलमै छौं ।’

बैतडीका प्रजिअ मोहनराज जोशीले केन्द्रबाट परिपत्र नआएकाले झुलाघाट नाका नियमित सञ्चालनमा ल्याउन नसकेको बताए । दार्चुलाका प्रजिअ शरदकुमार पोखरेलले यसअघि दिन बिराएर दैनिक एक घण्टा नाका खोलिँदै आए पनि पूर्ण रूपमा आउजाउ सञ्चालन गर्न भारतीय प्रशासनसँग समन्वय भइरहेको बताए । यसअघि पनि अत्यावश्यक कामका लागि आउजाउ खुला रहेको कैलालीको गौरीफन्टा नाकाबाट सबैका लागि खुला गर्नेबारे समन्वय भइरहेको सहायक प्रजिअ हीरालाल चौधरीले बताए ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाए पनि भारतसँग सीमा जोडिने दक्षिण झापाको गौरीगन्ज (फत्तेपुर) नाका शुक्रबार सुरु नभएपछि भारतबाट आउने र नेपालबाट पारि जाने सर्वसाधारण अन्योलमा परेका थिए । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार तयारी अभावका कारण शुक्रबार नाका सञ्चालन गर्न नसकिएको जनाए । ‘आइतबारबाट सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘जानेलाई रोकतोक छैन, आउनेलाई आइतबारबाट मात्रै छिर्न दिन्छौं ।’

यसअघि इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र मोरङको रानी नाकाबाट मात्रै सर्वसाधारणको सहज आवागमन खोलिएको थियो । सुनसरीको भन्टाबारी नाकाबाट भने शुक्रबारदेखि नै सर्वसाधारणको आउजाउ सुरु भएको छ ।

प्रकाशित : माघ १७, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?