कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा फैलिइरहेको छ : गभर्नर कोमो

एजेन्सी

न्युयोर्क — नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय अमेरिकामा तीव्र रूपमा फैलिइरहेको छ ।
न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले कोभिड–१९ को संक्रमण ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि आग्रह गरिसकेका छन् । पत्रकारहरूसँग बोल्दै उनले संक्रमणको दर सोचेभन्दा निकै तीव्र र उच्च रहेको जनाए ।

अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा फैलिइरहेको छ : गभर्नर कोमो

संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनको गुनासो छ । उनका अनुसार न्युयोर्कमा हाल कम्तीमा ३० हजारवटा भेन्टिलेटर आवश्यक भए पनि ७ हजारवटा मात्र छन् । संघीय सरकारले जम्मा ४ हजारवटा मात्र भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे ।


न्यूयोर्क सिटी अस्पतालमा कार्यरत एक चिकित्सकले सीएनएनसँगको कुराकानीमा स्थिति भयावह भएको बताएका छन् । दुई हप्ताअघि र अहिलेको अवस्थामा आकाश जमिनको फरक भएको पनि बताएका छन् । कोरोना भाइरस संक्रमणको आशंकामा अमेरिकी अस्पतालमा मानिसहरुको भीड लागेको छ । स्रोत साधन नहुँदा आफूहरुलाई काम गर्न निकै कठिन भएको ती चिकित्सक बताउँछन्, ‘हामीसँग मेसिन छैन, हामीसँग बेड पनि छैन । भन्न त हामी न्यूयोर्कमा बसिरहेका छौँ भन्छौं तर अवस्था यस्तो छ । यहाँको अवस्था गरिब देशहरुको जस्तै छ,’ ती चिकित्सकले भने ।


तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेका छन् । उनले इस्टरको खुसियालीसँगै कोभिड–१९ को संक्रमण हट्ने दाबी गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा पत्रकारसँग बोल्दै ट्रम्पले ‘अमेरिकाका लागि आगामी महिना निकै सुन्दर हुने’ बताए ।


राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन् । इस्टर पर्वसम्ममा सबै अमेरिकीहरू आ–आफ्ना काममा फर्किनेमा म आशावादी छु । तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु ।’


त्यसको केही समयमा माथिल्लो सदन सिनेट र ह्वाइटहाउसबीच अमेरिकाको अर्थतन्त्रको बचाउनका लागि २० खर्ब डलरको छुट्याउने सहमति भएको बीबीसीले जनाएको छ । उक्त सम्झौता सिनेटबाट बिहीबार पारित हुने जनाइएको छ ।


अमेरिकामा हालसम्म हालसम्म करिब ६८ हजारभन्दा बढीलाई कोभिड–१९ को संक्रमण दखिइसकेको छ । तीमध्ये २५ हजार न्युयोर्कका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिइरहेको जनाउँदै अमेरिका प्रकोपको अर्को केन्द्र हुने चेतावनी दिइसकेको छ । बिहीबार बिहानसम्म अमेरिकामा १ हजार २७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २४७ जनाको मृत्यु भएको छ ।


संगठनले हालसम्म ४ लाखभन्दा बढी मानिसलाई कोभिड–१९ भइसके पनि यसको संक्रमणको गति रोक्न सकिने जनाएको छ । जेनेभामा पत्रकारहरूसँग बोल्दै डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले हालसम्म संसारभर ४ लाख मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भइसके पनि यसको गति रोक्न मानिस आफैं सजग हुनुपर्ने बताए ।


सन् २०१९ को डिसेम्बर ३१ मा पहिलो पटक देखिएको कोभिड–१९ को संक्रमण ६७ दिनमा १ लाख मानिसमा देखिएको थियो । त्यसको ११ दिनमै थप १ लाख व्यक्तिमा यसको संक्रमण देखियो । तर अर्को १ लाखमा भने चार दिनमै ३ लाख पुग्यो ।


‘आइसोलेसनको विकल्प छैन’

गेहब्रेयससले मानिसलाई हिँडडुलमा मात्र रोक लगाएर यसको प्रकोपबाट बच्न नसकिने प्रस्ट पारेका छन् । उनले प्रत्येक संक्रमण परीक्षण गरेर तथा संक्रमितको सम्पर्कमा पुगेका सबैलाई आइसोलेसनमा राख्नु कोभिड–१९ विरुद्धको लडाइँका लागि निकै महत्त्वपूर्ण हुने बताए ।


गेहब्रेयससले फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों र उनका चिनियाँ समकर्क्षी सी चिनफिङले आह्वान गरेको जी–२० समूहको आकस्मिक शिखर सम्मेलनमा डब्लूएचओलाई पनि बोलाइएको बताए । उनका अनुसार कोभिड–१९ थप फैलन नदिन तथा नियन्त्रणका उपायबारे पनि बैठकमा छलफल हुनेछ ।


यसैबीच, संयुक्त राष्ट्रसंघले कोभिड–१९ को फैलँदो प्रकोपसँग जुध्न विश्वका जुनसुकै स्थानमा जारी द्वन्द्वका पक्षलाई युद्धविराम गर्न आह्वान गरेको छ । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले ७५ वर्ष लामो राष्ट्रसंघको इतिहासकै कोभिड–१९ अभूतपूर्व स्वास्थ्य संकटका रूपमा देखिएको जनाए ।


गुटेरेसले विश्वका गरिब तथा द्वन्द्वको स्थितिमा रहेको देशका मानिस सबैभन्दा नराम्ररी प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरे । उनले विकसित देशका नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरे ।


आर्थिक मन्दीको त्रास

विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले कोभिड–१९ का कारण संसार हुन सक्ने लामो आर्थिक मन्दीबाट जोगाउन सहयोगका लागि आफूहरू तयार रहेको बताएका छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गर्ने जनाएको छ ।


जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको असर कम गर्न ८ सय अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ । विश्व बैंकले विकासोन्मुख देशहरूलाई कोभिड–१९ को प्रकोपको मार थेग्न १ सय ५० अर्ब डलर सहायता दिने जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?