१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घट्न थाल्यो आयात

‘गाडीवाला, भन्सार एजेन्ट र बैंकका कर्मचारीलाई आउजाउमा रोकिएको छैन, ट्रक कन्टेनरलाई समस्या छैन भनेर बुझाउनुपर्ने देखियो ।’
कृष्ण आचार्य

काठमाडौँ — नेपाल र भारत दुवैतर्फ लकडाउन र कोभिड–१९ संक्रमणको त्रासले एजेन्ट, कामदार तथा सरकारी कर्मचारी काममा जान छाडेपछि उपभोग्य वस्तुको आयात घट्न थालेको छ । नाकामा संक्रमण फैलन नदिन उच्च सुरक्षा सतर्कता नअपनाउँदा र अन्तरसम्बन्धित निकायबीच समन्वय हुन नसक्दा आपूर्ति प्रणालीमा समस्या देखिएको हो ।

घट्न थाल्यो आयात

भारतबाट दिनमा हजारदेखि १२ सयसम्म ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेकामा दुई दिनयता प्रतिदिन २ सय ५० ट्रक र कन्टेनर आइरहेका छन् ।

नेपालबाट भारततर्फ निर्यात ठप्प छ । विकल्पका रूपमा चीनतर्फका नाका कुनै पनि सञ्चालनमा छैनन् । नेपालले यसै साताबाट अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिसकेकाले हवाई माध्यम हुँदै आउने सामान पनि रोकिएका छन् ।


भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतबाट हुने आयातमा दुई दिनदेखि समस्या देखिएको बताए । ‘भन्सार एजेन्ट तथा व्यापारी नै सामान अर्डर गर्न र नाकामा आइसकेका सामान छुटाउन आउन छाडेका छन्,’ उनले भने, ‘मंगलबार र बुधबार दुवै दिनको आयात खासै उत्साहजनक भएन ।’


आपूर्ति प्रणालीका विषयमा भारतीय दूतावास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको उनले जनाए । ‘मालवाहक सवारी साधनलाई कतै रोकेका छैनौं भनेर भारतीय दूतावासले भनिरहेको छ,’ उनले भने, ‘उनीहरूले भन्सार कार्यालय खुलै राखिएको जनाएका छन् । हाम्रा भन्सार कार्यालय पनि खुलै राखेका छौं । व्यापारीले हवाई तथा स्थल यातायात बन्द भएकाले आउजाउ गर्न समस्या परेको बताउने गरेका छन् ।’

तेस्रो मुलुकबाट ल्याइने सामग्रीसमेत भारत हुँदै आउने भएकाले दुई दिनयता देखिएको समस्याले उपभोग्य सामग्रीको अभाव हुन सक्छ । यसबारे सरकारले गम्भीर भएर नसोचेको आयातनिर्यात क्षेत्रका व्यापारीहरूले बताए । संक्रमण रोक्ने सुरक्षाका विषयमा नाकामा उच्च सावधानी नअपनाइएको र अत्यावश्यक क्षेत्रको आउजाउमा सरकारको कमजोर व्यवस्थापन रहेको नेपाल फ्रेर्ट फरवार्डर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘भन्सार खुले बैंक खुल्दैन, एजेन्ट गए भन्सार खुल्दैन, बैंक खुले बाहिरबाट कागजात पठाउन सकिँदैन,’ उनले भने, ‘भन्सारबाट सामान छुटाउन कम्तीमा ४/५ वटा निकायबीच समन्वय हुनुपर्छ । तर त्यसो हुन सकेको छैन ।’

नाकामा संक्रमण नफैलिन उच्च सतर्कता नअपनाइएको र हिँडडुल गर्नेहरूलाई नबुझी अभद्र व्यवहार गर्ने गरिएको हुनाले आपूर्ति प्रणालीमा समस्या देखिएको उनको भनाइ छ । ‘आपूर्ति प्रणालीमा एउटा लिंक टुट्यो भने पूरै प्रभावित हुन्छ,’ उनले भने, ‘कहिले कता, कहिले कताको लिंक टुटिरहेको छ ।’


आपूर्ति प्रणाली जारी राख्न भन्सार नाकामा उच्च सतर्कता र अन्तरसम्बन्धित सरकारी निकायहरूबीच समन्वय जरुरी देखिएको छ । ‘जस्तो औषधि पसल खोल्ने भनियो तर त्यहाँसम्म कसरी जाने ? प्रहरीले यो मान्छे औषधि नै किन्न हिँडेको भनेर छुट्याउन सकिरहेको छैन,’ शर्माले भने, ‘आपूर्ति प्रणालीमा संलग्न व्यक्ति तथा सवारीसाधनलाई पनि प्रहरीले त्यसैगरी व्यवहार गर्छ । डराएर कामदार, ड्राइभर, कर्मचारी र व्यापारी नै हिँड्न मानेका छैनन् ।’ गृह मन्त्रालयले नाकामा प्रहरीलाई सही तरिकाले ब्रिफिङ गर्नुपर्ने र संक्रमण नफैलिने गरी उच्च सतर्कता अपनाउनुपर्ने उनले सुझाव दिए ।


विभागका महानिर्देशक दाहालले पनि सरोकारवाला निकायले अत्यावश्यक सामग्रीका विषयमा अधिक जानकारी गराउन आवश्यक रहेको बताए । ‘सामान बोकेर हिँड्ने गाडीवाला, भन्सार एजेन्ट र बैंकका कर्मचारीलाई आउजाउमा रोकिएको छैन, तिमीहरू भन्सारसम्म जान सक्छौ, ट्रक कन्टेनर आवतजावतमा समस्या हुनेछैन भनेर बुझाउन बाँकी देखियो,’ उनले भने, ‘सम्बन्धित सरोकारवाला सबैले यो कुरा बुझ्नुपर्छ र बुझाउनुपर्छ ।’

सरकारले भारत र चीनतर्फका सबै नाकाबाट मंगलबारदेखि मानिसको आउजाउ बन्द गरे पनि अत्यावश्यक सामग्रीको बिक्री, ओसारपसार र भारततर्फको आयातनिर्यात नरोकिने सरकारले जनाएको थियो । तर भारतमा पनि तीन साताका लागि लकडाउन भएकाले आपूर्तिमा त्यसको प्रभाव पर्ने देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भने खाद्यवस्तुको ढुवानीमा कुनै समस्या नहुने बताए । उनका अनुसार ३५ ट्रक लोड भइसकेका छन् । थप ८ वटा बाटोमा आउने क्रम छन् । कोलकाता बन्दरगाहबाट पनि खाद्यवस्तुलाई नै प्राथमिकता दिइएको उनले बताए । ‘ट्रान्जिटमा कुनै समस्या छैन । आन्तरिक मुभमेन्ट के गर्ने भन्ने मात्रै छ,’ द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखसमेत रहेका उनले भने, ‘ड्राइभरहरूलाई ट्रकसम्म पुर्‍याउनुपर्‍यो । मुख्य ड्राइभरको कुरा हो । त्यसलाई छलफल भइरहेको छ ।’


चिनियाँ नाका खोल्ने सरकारको निर्णय


सुक्खा बन्दरगाहमा जाम

वीरगन्ज– भन्सार जाँचपास र ढुवानी यथावत राख्ने भनिए पनि सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरको जाम लागेको छ । आयातीत वस्तु थन्किएका छन् ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले भन्सार एजेन्ट सामान जाँचपासका लागि नआएको बताए । सामान लोड अनलोड गर्ने कामदारसमेत लकडाउनका कारण बन्दरगाह आउन सकेका छैनन् । सडकमा हिँड्दा प्रहरीले दुर्व्यवहार गरेकाले घरमै बसेको एक एजेन्टले बताए । नेपाल उद्योग वाणिज्य संघ यातायात तथा आपूर्ति समितिका अध्यक्ष अशोक टेमानीले बन्दरगाहमा करिब १४/१५ र्‍याक सामान थन्किएको बताए । १६ र्‍याक सामान बाटोमा रहेको उनले जानकारी दिए । लकडाउनको समयमा आपूर्ति नियमित राख्न कुनै संयन्त्र आवश्यक रहेको उनले बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सुक्खा बन्दरगाहमा अड्किएका सबै सामान तेस्रो देशबाट रेलमार्फत आएका हुन् । ‘रेलबाट सामान आएको आयै छ । जाँचपास गर्न कोही पनि गएका छैनन्,’ उनले भने, ‘सामान राख्ने ठाउँ भरिएको छ ।’ रेलबाट सामान आउने ठाउँ वीरगन्जको सुक्खा बन्दरगाह मात्रै हो । ‘२० वटा रेलका सामान मात्रै अट्न सक्छ । तर अहिलेसम्म कोचाकोच गरेर ३५ वटा रेलका सामान रोकिएका छन्,’ दाहालले भने ।


राहत उपलब्ध गराउनु चुनौतीपूर्ण : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले राज्यको क्षमता सीमित भएकाले कोभिड–१९ का कारण प्रभावित वर्ग र क्षेत्रलाई तत्काल सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताएका छन् ।

सार्क राष्ट्रका अर्थमन्त्रीहरू र दातृ निकायका प्रतिनिधिबीच भएको भिडियो संवादमा सहभागिता जनाउँदै मन्त्री खतिवडाले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताएका हुन् । कोभिड–१९ प्रभावबाट भएको क्षति परिपूर्ति गर्न नेपालजस्ता कम स्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्त संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने उनले बताए । अर्थमन्त्री खतिवडाले क्षेत्रीय सहयोगको सम्भावित सबै संयन्त्र उपयोग गर्न पनि जोड दिए ।

‘सार्कका विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्दै आपसी व्यापार, आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एकअर्कालाई साथ दिनुपर्छ,’ अर्थमन्त्री खतिवडाको भनाइ उद्धृत गर्नै उनको सचिवालयले जानकारी दिएको छ । भिडियो संवादमा कोरोना भाइरसका कारण रोजगारी, वित्त क्षेत्रमा पर्न सक्ने प्रभावको विषय साथै अन्तर्राष्ट्रिय दातृ निकायले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो । संवादमा सार्क राष्ट्रका अर्थमन्त्रीहरुसहित अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, मिगाका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : चैत्र १३, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?