नेपाललाई चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच गर्ने 'किट'

भोली ल्हासा पुग्ने 
लक्ष्मी लम्साल

(बेइजिङ) — चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो।

उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङ्हाइ र बेइजिङ-काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ चियान् ली पनि उपस्थित थिए।


प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ। हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस जाँचका लागि प्रयोग भइरहेका छन्। चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री भोली नै तिब्बतको ल्हासा पुग्नेछन्। त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल पठाइनेछ। उनले भने, ‘किटको परिमाण अनुसार स्थलमार्गबाट नेपाल पठाउनु सस्तो सुलभ हुने भएकाले दाता कम्पनीले यो तरीका अपनाएको हो।’


२ हजार किटको मूल्य करीब ३० हजार अमेरिकी डलर बराबर छ भने सामानको वजन २५ किलो बराबर छ। नेपाल सरकारले मुलुकमा लक डाउन गरे पनि आमरूपमा परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले नीजि क्षेत्रलाई समेत गुहारिरहेका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेको हो। दूतावासका अनुसार अन्य केही व्यवसायहरूले पनि सहयोग गर्ने रूचि देखाएका छन् तर ठोस निर्णय भइसकेको छैन। नेपालमा अहिलेसम्म कोरोना भाइरस जाँडपड्तालका लागि पर्याप्त किटको अभाव छ।

प्रकाशित : चैत्र १२, २०७६ १८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल टेलिकमले रिचार्जमा सतप्रतिशत बोनस दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ ।



यो अफर ७ दिनको लागि हो । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार दिएको निर्देशनको आधारमा टेलिकमले यो अफर घोषणा गरेको हो ।

टेलिकमका अनुसार रिचार्ज गर्दा सत प्रतिशत बोनसको रुपमा प्राप्त हुनेछ । बोनसबाट नेपाल टेलिकमको नम्बरमा कल गर्न, डाटा प्रयोग गर्न र एसएमएस पठाउन सकिन्छ । यो बोनसबाट व्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज गरिद गर्न वा गिफ्ट पठाउन नपाइने कम्पनीले जनाएको छ ।

५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने शत प्रतिशत बोनस २ दिनभित्र खपत गर्नुपर्ने र २ सय तथा ५ सयको रिचार्जमार्फत प्राप्त हुने बोनस ४ दिनभित्र खपत गर्नुपर्ने र एक हजारको रिचार्जमा प्राप्त हुने बोसन ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।

विद्युतीय प्रणालीबाट हुने एक हजार माथिको रिचार्ज गर्दा भने बोनस व्यालेन्स १० दिनभित्र खपत गर्नुपर्नेछ ।

कोरोना भाइरसको संक्रमणका कारण उपभोक्ताहरु घरघरमा बसेको भन्दै दूरसञ्चार प्राधिकरणले मंगलबार टेलिकम कम्पनीलाई यस्तो अफर ल्याउन निर्देशन दिएको थियो । उपभोक्तालाई राहत दिन यस्तो निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×