२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोना प्रकोप : मृतकको संख्या चीनमा भन्दा स्पेनमा बढी

एजेन्सी

म्याड्रिड — कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधबार दिउँसोसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट इटालीपछि सबैभन्दा धेरै स्पेनमा भएको छ ।

कोरोना प्रकोप : मृतकको संख्या चीनमा भन्दा स्पेनमा बढी

मंगलबार मात्रै स्पेनमा मृत्यु हुनेको संख्या २७ प्रतिशतले बढेको छ । मंगलबार स्पेनमा थप ४ सय ४३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ५ सय ५२ जनामा संक्रमण देखिएको छ । स्पेनमा ४७ हजार ६ सय १० जना संक्रमित छन् भने तीमध्ये ५ हजार ३ सय ६७ जना निको भएका छन् ।


त्यस्तै कोभिड–१९ को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ ।


यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो। सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो।


बुधबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन्।


त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार दिउँसोसम्म ७ सय ८४ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या ५४ हजार ९ सय ६८ पुगेको छ।


चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ। मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ।


बुधबार दिउँसोसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ। ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ।


गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ का कारण अहिलेसम्म १९ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै ४ लाख ३५ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ११ हजारभन्दा बढी निको भएका छन्।

प्रकाशित : चैत्र १२, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?