यूएईबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति*

चैत्र १२, २०७६

बुनु थारु

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति यूएईबाट चैत ६ गते नेपाल आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि बुधबार गरेको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष  रहेको र कतारबाट आएको जानकारी दिएका थिए । तर त्यसको केही समयपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ताद्वारा जारी प्रेस विज्ञप्तिमा संक्रमित व्यक्ति यूएईको सारजाहबाट आएको भन्दै सच्याइएको छ ।  ब्रिफिङमा मन्त्री ढकालले संक्रमित व्यक्ति कतार एयरवेजबाट आएको बताए पनि पछि स्वास्थ्य मन्त्रालयले उनको भनाइलाई सच्च्याएको हो । मन्त्रालयका अनुसार ती व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । 




जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो । उनी यूएईबाट काठमाडौँ आएर होटलमा बसेका थिए । अस्वस्थ महसुस भएपछि उनले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए । 

मन्त्री ढकालले होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने बताए । अहिलेको परिस्थितिमा जो जहाँ छ आफ्नो ठाउँ नछोडौँ भनेर सन्देश ढकालले दिए । ती व्यक्तिको आइसोलेसनमा उपचार भइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।


नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।

केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।


गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय १२ जनाको मृत्यु भइसकेकाे छ। त्यस्तै ४ लाख २३ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन्।


* यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रेस ब्रिफिङमा गराएको जानकारीअनुसार संक्रमित व्यक्ति कतारबाट आएका थिए भनेर समाचार प्रकाशित भएको थियो । मन्त्री ढकालले दिएको सूचना अन्यथा भएको भन्दै मन्त्रालयद्वारा जानकारी सच्याइएपछि संक्रमित व्यक्ति यूएईबाट आएका थिए बनाइएको छ । - प्रधान सम्पादक

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully