संक्रमणको जानकारी १४ घण्टा ‘लुकाइयो’

‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ ।’
अतुल मिश्र, स्वरुप आचार्य

काठमाडौँ — सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई कान्तिपुरले सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए। ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन्। मैले के जवाफ दिने?’


लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन। आधा घण्टामा कल गर्नुस् न है।’


दुवैको जवाफबाट स्वास्थ्य मन्त्रालयका विभागहरूबीच अहिलेको विषम परिस्थितिमा पनि राम्रो समन्वय नरहेको प्रस्टै बुझिन्थ्यो। मन्त्रालयका यस्तै कमजोरीबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अपराह्न ४ः१५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिए– एयर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत यूएईबाट आएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखियो। पत्रकार सम्मेलनमा उनले अब सबै संयन्त्र ‘चेन अफ कमान्ड’ का आधारमा चल्ने र त्यसलाई सबैले मान्नुपर्ने पनि बताए।


चिकित्सकहरूले भने संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएका छन्। ‘ती व्यक्ति संक्रमित रहेको कुरा हिजो (मंगलबार) राति नै मन्त्रालयलगायतलाई थाहा रहेछ, तर हामी उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र सञ्चार माध्यमबाट थाहा पायौं,’ टेकु अस्पतालका डा. राजेश साहले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ।’


टेकु अस्पतालका चिकित्साकर्मीले बुधबारै आफ्ना निर्देशक डा. राजभण्डारीलाई भेटेर बिरामीको अवस्थाबारे जानकारी लुकाउने काम भए उपचार प्रक्रिया नै छोड्ने चेतावनी दिएका छन्। जवाफमा डा. भण्डारीले आफूलाई पनि ती बिरामी संक्रमित रहेको जानकारी नरहेको चिकित्साकर्मीहरूलाई बताएका थिए।


‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै व्यक्तिको कोभिड–१९ रिपोर्ट पोजेटिभ आउनेबित्तिकै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने हो। त्यसले तुरन्तै हामीलाई सूचित गर्नुपर्ने हो,’ डा. राजभण्डारीले भने। तर जनस्वास्थ्य प्रयोगशालालाई कोभिड–१९ देखिएको रिपोर्ट अस्पताललाई नदिई सिधै स्वास्थ्य मन्त्रालयमा पठाउन लगाइँदा यसअघि पनि यस्तै समस्या देखिएको उनले जनाए।


पहिलो कोरोना संक्रमितबारेको जानकारी पनि हङकङको प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएको २४ घण्टापछि मात्र स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए।


मुख्य अस्पतालमै छैन पीपीई

बुधबारको पत्रकार सम्मेलनमा मन्त्री ढकालले बढीमा तीन दिनभित्र सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्री विदेशबाट आउने जनाए। उनले यस्तो जानकारी दिए पनि सरकारले खरिदका लागि आह्वान गरेको बोलपत्रमा भने कसैले इच्छा प्रकट नगरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।


सरकारले कोभिड–१९ को उपचारका लागि प्रमुख रूपमा तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीपीई नै छैन भने हुन्छ। अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले हालसम्म जेनतेन बिरामी जाँच गरिरहेका भए पनि संक्रमितको संख्या बढे गम्भीर समस्या निम्तिने अवस्था छ। पीपीईबिना डाक्टरहरू कोरोना संक्रमितको उपचारमा संलग्न हुन सम्भव हुन्न।


अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा प्रयोग गर्ने हो भने अहिले मौज्दात पीपीईले दुई/तीन दिन धान्न पनि मुस्किल छ। ‘अहिले त खासमा चिकित्सकहरूले मात्रै प्रयोग गरिरहेका छौं। भोलि बिरामी बढेको खण्डमा अरू स्टाफहरूका लागि पनि पीपीई चाहिन्छ, त्यस्तोमा कसरी व्यवस्था हुन्छ भनेर चिन्तित छौं,’ उनले भने।


स्वास्थ्यमन्त्री ढकालले भने पीपीई मन्त्रालयमा रहेको बताए। ‘हामीसँग मन्त्रालयमा अझै पनि स्टक छ। त्यो अपुग होला, तर हामीले थप व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘आउनेबित्तिकै आवश्यक सबै स्थानमा पठाउँछौं।’


पीपीईलगायत सामग्री आपूर्ति नहुँदै संक्रमितको संख्या बढे सीमित सरकारी तथा निजी अस्पतालले केही दिन सेवा दिए पनि त्यसलाई निरन्तरता दिन मुस्किल पर्ने चिकित्सक बताउँछन्। सरकारले लकडाउन गरेर स्थिति नियन्त्रण गर्न खोजे पनि कतारलगायत विश्वका विभिन्न कुनाबाट स्वदेश भित्रिएका नेपालीले होम क्वारेन्टाइनको नियम नमानेकाले संक्रमितहरूको संख्या बढ्न सक्ने उनीहरूले बताए।


अझै पनि अपर्याप्त परीक्षण

जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ। हालसम्म प्रयोगशालाले ६ सय ८७ नमुना परीक्षण गरेको छ, तीमध्ये तीन जनामा संक्रमण रहेको पुष्टि भएको हो।


स्वास्थ्यमन्त्री ढकालले लकडाउनका कारण नमुनाहरू काठमाडौं ल्याइपुर्‍याउन मुस्किल भएकाले छिट्टै पूर्वमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण गरिने जानकारी दिएका छन्। पश्चिमबाट भने नेपालगन्जमा नमुना संकलन गरेर बेलुका विमानबाट ल्याइने बताएका छन्। काठमाडौंबाट तीन/चार घण्टाको दूरीमा रहेको स्थानबाट एम्बुलेन्समा नमुना ल्याइने उनले जनाए। उनले परीक्षणको दायरा किन नबढाइएको हो भन्ने विषयमा भने केही बोलेनन्। प्रकाशित : चैत्र १३, २०७६ ०६:४७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलका लागि एटलान्टाले भ्यालेन्सियाको आथित्य गरेको थियो र खेल मिलानको प्रसिद्ध सानसिरो मैदानमा भएको थियो। एटलान्टाको आफ्नै घरेलु मैदान पुनर्निर्माणबाट गुज्रिरहेको हुनाले उसले इन्टर र एसी मिलानको सानसिरोमा खेलेको थियो। फेब्रुअरी १९ मा भएको खेल हेर्न सानसिरोमा त्यस दिन ४४ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो। गोरी के मान्छन् भने कम्तीमा यही खेलका कारण उनको सहर सबैभन्दा प्रभावित रह्यो।

इटालीमा सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित यसै सहरमा छन्। अहिलेसम्म त्यहाँ ६ हजार ७ सय २८ भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ। त्यहाँ मृत्युदर पनि अत्यधिक रहेको छ। एटलान्टा बेरगामो सहरकै क्लब हो र उसले पहिलोपल्ट च्याम्पियन्स लिग खेलिरहेको हो। यसअघि इटालीको घरेलु फुटबलमा खासै सफल नरहेको यस क्लबले पछिल्ला केही वर्ष भने राम्रो खेलिरहेको छ र यसैक्रममा यसपल्ट च्याम्पियन्स लिगको क्‍वाटरफाइनल पनि पुगिसकेको छ।

मेयर गोरीले भनेका छन्, ‘त्यो खेल मानवीय जैविक बमजस्तै रह्यो। त्यति बेला कसैले पनि अनुमानसमेत गर्न सकेन, यसको प्रभावित कति धेरै खराब हुन सक्छ भनेर। त्यतिबेला भाइरस त्यस रंगशालामा पुगिसकेको थियो भने ४० हजार यसबाट संक्रमित भएको हुनु पर्छ। यो खेल हेरेपछि दुवै टिमका समर्थक आ–आफ्नो सहर फर्के र एकले अर्कोलाई भाइरस सार्ने काम गरे।’ त्यस खेलमा एटलान्टाले ४–१ को प्रभावशाली जित निकालेको थियो।

भ्यालेन्सियाका समर्थकले कोरना भाइरस आफूसँग स्पेन लगे। भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानपछि इटाली सबैभन्दा बढी प्रभावित छ र चीनको तुलनामा यहाँ बढी मृत्यु पनि भएको छ। इटालीमा यो समाचार लेखिरहँदा ६ हजार ८ सय २० को मृत्यु भइसकेको छ भने स्पनेमा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगिसकेको छ। बेरगामाको स्थानीय चिकित्सकले पनि मेयरको दाबीको समर्थन गर्दै त्यही खेलबाट भाइरसको संक्रमण बढेको मानेका छन्।

ती चिकित्सकले ‘अफ द बल’लाई भनेका छन्, ‘हाम्रो सहरका सिनियर चिकित्सकहरू पनि के मान्छन् भने त्यस खेल वास्तवमै जैविक बम सावित भएको छ। त्यस खेलमा एटलान्टाको जितपछि क्लबका समर्थकले खुसीयाली मनाउँदै आफ्नो घर फर्केका थिए। त्यति बेला कसैले पनि यो भाइरसको संक्रमणले पुर्‍याउन सक्ने क्षतिबारे अनुमान गर्न सकेका थिएनन्। फेब्रुअरी १९ को त्यस खेलसम्म इटालीमा यस भाइरसबाट कसैको पनि मृत्यु भएको थिएन्।’

त्यसको तीन सातापछि सात दिनको अन्तरमा बेरगामोमा मात्र ३ हजार ३३ को यो भाइरसको संक्रमणकै कारण मृत्यु भइसकेको छ। स्थानीय वैज्ञानिक पनि के निचोडमा पुगेका छन् भने खेलमा क्रममा धेरै भन्दा धेरै समर्थक कोरोना भाइरसको संक्रमणमा आए र तिनैले आफ्नो परिवारका वृद्धवृद्धामा यसलाई सारे। भाइरसकै कारण मृत्यु हुनेमध्ये बढी उमेरका धेरै छन्। एटलान्टाका गोलरक्षक मार्को स्पोर्टटेलो पनि भाइरसबाट संक्रमित भएपछि क्‍वारेन्टाइनमा छन्।

त्यस दिन मिलानको खेलका भ्यालेन्सियाका एक तिहाइ खेलाडी र खेल पदाधिकारी पनि भाइरसबाट संक्रमित भएका छन्। यो खेलपछि मात्र इटालीमा दर्शकविहीन बन्द रंगशालामा खेल्नेक्रम सुरु भएको थियो र यो पनि लामो समय टिकेन। अहिले इटाली र स्पेनसँगै युरोपका सबै प्रमुख लिग स्थगित छन् र ती कहिले फेरि सुरु हुने हो टुंगो छैन। यही भाइरसको संक्रमणको डरले सन् २०२० को युरो पनि एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ।

(सबैभन्दा पहिले यो समाचार स्पेनी पत्रिका मार्काले प्रकाशित गरेको हो। यसलाई पछि इंग्ल्यान्डको डेली मेलले थप विस्तृत रूपमा छापेको छ। त्यसैको स्वतन्त्र अनुवाद।)

प्रकाशित : चैत्र १२, २०७६ २३:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×