सुरक्षा गस्ती बढाइयो

भारतबाट छिरेकालाई विशेष निगरानी गर्न निर्देशन
मातृका दाहाल

काठमाडौँ — लकडाउन उल्लंघन बढ्न थालेपछि सहरी क्षेत्र र भारतीय सीमा नाकामा सुरक्षा गस्ती बढाइएको छ । एक साताका लागि गरिएको लकडाउन बढ्न सक्ने अनुमान गरी सुरक्षा व्यवस्था र स्वास्थ्य सावधानी अपनाएर स्थिति नियन्त्रणमा राख्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देश गरेको छ ।

पछिल्लो पटक हवाईमार्ग हुँदै विदेशबाट आएका दुई जनामा कोभिड–१९ को संक्रमण देखिएपछि मानव आउजाउमा थप कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।


विपत् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोभिड–१९ नेपालमा फैलिने उच्च जोखिम रहेकाले त्यसविरुद्ध तयारी भइसकेको बताए । ‘हामी महामारी फैलिन नदिन सफल भएका छौं,’ उनले भने, ‘हवाई तथा स्थल नाका बन्द त्यसकै लागि हो । विदेशबाट नेपाल छिरेकाको सूक्ष्म निगरानी पनि भइरहेको छ ।’


सरकारले कोभिड–१९ हवाई र स्थल नाकाबाट भित्रिएका नेपालीमा देखिए भयावह हुने भन्दै उच्च सावधानी अपनाएर निर्णय लिन सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लकडाउन कार्यान्वयन गराउन आफूहरू लागिपरेको बताए । ‘सेना अन्य सुरक्षा निकायको ब्याकसपोर्टका रूपमा फिल्डमा छ । आवश्यकताअनुसार पैदल र सवारी गस्तीबाट लकडाउनबारे नागरिकलाई सम्झाइरहेका छौं,’ उनले भने । लकडाउनको पहिलो दिन मंगलबार राजविराज, बागलुङ र महोत्तरीको बर्दिबासमा सेना परिचालन गरिएको र बुधबार सबै जिल्लामा स्थिति नियन्त्रणमा रहेको उनले जानकारी दिए ।


लकडाउन उल्लंघन नेपाल–भारत सीमा र सहरी क्षेत्रमा बढी भएकाले त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री अध्यक्ष रहेको विपत् व्यवस्थापन प्राधिकरणको सचिवालयले भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नेको निगरानीमा विशेष ध्यान दिन निर्देशन दिइसकेको छ । प्राधिकरणले जिल्ला विपत् व्यवस्थापन समितिलाई भारतबाट गाउँ तथा सहर पसेका मानिसमाथि निगरानी राख्न स्थानीय तहसँग समन्वय गरेर खटिन ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।


‘कथंकदाचित भारतबाट आएका मानिसमा कोरोना संक्रमणको लक्षण देखिए त्यसले भयावह स्थिति ल्याउन सक्छ,’ गृहका एक अधिकारीले भने, ‘हरेक व्यक्तिसँग सम्पर्क गर्न अब सम्भव छैन, वडा–वडामा सुरक्षाकर्मी, स्थानीय, स्वयंसेवक र कर्मचारी तैनाथ भई को–कहाँबाट आएको हो, त्यसको निगरानी बढाउन स्पष्ट निर्देशन दिएका छौं ।’ विदेशबाट आएका मानिसलाई सेल्फ क्वारेन्टाइनमा बस्न र घरपरिवारका सदस्यसँग पनि टाढै रहन गृहले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ । लकडाउनको दुई दिनमा सहर र तराई/मधेसका क्षेत्रमा बढी उल्लंघनका घटना भएको देखिन्छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार वाग्मती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा मात्रै लकडाउन उल्लंघन गर्ने ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छोडिएको छ । उपत्यकासहित देशभर करिब १ हजार ५ सय सवारी साधन नियन्त्रणमा लिइएको छ । उपत्यकाका ३ जिल्लाबाट मात्रै ८ सय ९१ वटा सवारीलाई लकडाउन उल्लंघन गरेको कसुरमा नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । अत्यावश्यक कामबाहेक सञ्चालन गरिएका सवारीलाई नियन्त्रणमा लिइएको उनले बताए ।


लकडाउनको पहिलो दिन मंगलबार सप्तरी र बागलुङमा मानिसको चहलपहल बढेपछि सेना र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको थियो । लकडाउनको दोस्रो दिन बारामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सडकमा खटिएका प्रहरीलाई अटेर गर्न थालेपछि सुरक्षा व्यवस्था थप कडा गर्न निषेधाज्ञा जारी गरिएको हो । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठले सीमा नाका र देशभरका सहरी क्षेत्रमा तीनवटै सुरक्षा निकायले उच्च सावधानी अपनाएको बताए ।


‘राजधानीबाहिर सहरी र तराई/मधेसका क्षेत्रमा मानिसको आवतजावन अलि बाक्लो देखियो, यस क्षेत्रमा बारम्बार सम्झाइ–बुझाइ गर्दा पनि घरबाहिर निस्कन थालेपछि सुरक्षा गस्ती बढाएका छौं,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसँग भने, ‘लकडाउन उल्लंघन हुन नदिन नियमित गस्तीबाहेकका टोलीलाई पैदल र सवारी गस्तीमा खटाएका छौं ।’ लकडाउन उल्लंघन गर्नेलाई सम्झाइबुझाइ घरभित्र बस्न आग्रह गरिएको तर केही ठाउँमा सम्झाउँदा पनि अटेर गरेपछि बल प्रयोग भएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिए ।


मंगलबारबाट १८ गतेसम्मका लागि लगाइएको लकडाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक उपभोग्य दूध, तरकारी, पानी बोकेका सवारी, इन्धन, एम्बुलेन्स तथा प्रशासनबाट पास लिएका सवारीलाई सञ्चालन अनुमति दिइएको छ । दैनिक उपभोग्य वस्तु किन्न घरबाहिर निस्किएकालाई पनि सामान किन्ने ठाउँसम्म निर्वाह अनुमति दिइएको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले एआईजीहरूलाई दर्ज्यानी चिह्न कार्यक्रममा बोल्दै कोरोनाविरुद्धको सम्भावित जोखिम नियन्त्रणमा खटिँदा उच्च मनोबल, धैर्यता र व्यावसायिकता कायम राखेर नागरिकमा व्यवहार गर्न प्रहरीलाई निर्देशन दिए ।


नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले अत्यावश्यक वस्तु किन्न जानेलाई केही लचकता अपनाइएको र अनावश्यक रूपमा सडकमा ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको बताए । प्रकाशित : चैत्र १३, २०७६ ०७:३४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘देशभर एक लाख ३० हजार अट्ने क्‍वारेन्टाइन’

‘अब क्वारेन्टाइनको अवस्था बदलिएको छ । भोलि कुनै बाक्लो बस्तीमा या कुनै कारखानामा कुनै व्यक्ति कोरोना संक्रमित देखिए त्यसबाट अरू पनि प्रभावित हुने सम्भावना रहन्छ । त्यसो हुँदा त्यो बस्ती नै उठाउनुपर्ने र अलग ठाउँमा राख्ने स्थिति आउन सक्छ ।’
बिनु सुवेदी

काठमाडौँ — सरकारले देशभर १ लाख ३० हजारलाई राख्न सकिने क्षमतासहितको क्वारेन्टाइन बनाउने तयारी गरेको छ । सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन कार्यदलका संयोजक एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भविष्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै क्वारेन्टाइन बनाउन लागिएको बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका क्वारेन्टाइन जतिसक्दो छिटो बनाउने तयारीमा आफूहरू रहेको बताए ।

उनका अनुसार केन्द्रीय सरकारले ५ हजार अट्ने गरी क्वारेन्टाइन बनाउनेछ । कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत सोमबार पारित गरेको कार्यविधिअनुसार सबै प्रदेश सरकार, महानगरपालिकाहरू र तराई मधेसका जिल्लाले दुई/दुई हजार, उपमहानगरपालिकाले एक हजार र हिमाली तथा पहाडी जिल्लाले पाँच/पाँच सय अट्ने क्वारेन्टाइन बनाउनेछन् ।

क्वारेन्टाइन बनाउन भक्तपुर नगरकोटका होटलमा रहेका २ हजारमध्ये ५ सय कोठा प्रयोग गरिने मन्त्री भट्टराईले बताए । यस्तै भक्तपुरको दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेजको ४ सय ५० बेडलाई क्वारेन्टाइन र ५ वटा वार्डलाई आइसोलेसनका लागि तयार पारिएको छ । पशुपति क्षेत्रमा रहेको धर्मशालामा ७० जनाका लागि क्वारेन्टाइन बनाउने तयारी सरकारले गरेको छ ।

क्वारेन्टाइन निर्माणको सरकारी तयारी र मापदण्डबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग गरिएको कुराकानी :

क्वारेन्टाइन निर्माणको तयारी कस्तो छ ?
क्वारेन्टाइनको आवश्यकता अहिले अलिकति बदलिएको छ । सुरुमा विदेशबाट हवाई यात्राबाट आउने मानिसलाई आवश्यक पर्‍यो भने सामूहिक क्वारेन्टाइनमा राख्ने भन्ने हाम्रो सुरुको कन्सेप्ट हो । त्यही कन्सेप्टका आधारमा वुहानबाट विद्यार्थी ल्यायौं र राख्यौं । त्यस्तै सडकको माध्यमबाट आउनेको पनि स्थिति के हुन्छ भन्न सकिँदैन । त्यसैले केही निश्चित समयका लागि क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने एउटा अवस्था थियो । अहिले सबै बन्द छ । अब क्वारेन्टाइनको अवस्था बदलिएको छ । भोलि कुनै बाक्लो बस्तीमा या कुनै कारखानामा कुनै व्यक्ति कोरोना संक्रमित देखिए त्यसबाट अरू पनि प्रभावित हुने सम्भावना रहन्छ । त्यसो हुँदा त्यो बस्ती नै उठाउनुपर्ने र अलग ठाउँमा राख्ने स्थिति आउन सक्छ । त्यस्तो अवस्थाका लागि अब क्वारेन्टाइन व्यवस्था गर्नुपर्छ । त्यसका लागि कति संख्यामा राख्नुपर्छ अहिले नै भन्न सकिँदैन । त्यसको पूर्वतयारी होस् भन्नका लागि संघीय, प्रदेश र स्थानीय सरकार र सबै जिल्लाले गरेर करिब १ लाख ३० हजार मान्छे अट्ने गरी क्वारेन्टाइन बनाउने हिसाबले काम गरिरहेका छौं ।

उच्चस्तरीय समितिले पास गरेको मापदण्डलाई सबैले अनुशरण गर्नुपर्छ । अब बन्ने क्वारेन्टाइन मापदण्डमा आधारित भएर बनाउनुपर्छ भनेर हामीले सबैतिर सकुर्लर पठाउँदै छौं । ती क्वारेन्टाइन अति आवश्यक ठाउँबाट मान्छेलाई निकालेर ल्याउनका लागि प्रयोग गर्ने हो । अन्यथा सेल्फ क्वारेन्टाइनमा बसेका छौं, त्यसलाई हामीले प्रभावकारी बनाउनुपर्छ । आवश्यक कामबाहेक घरबाट कोही पनि बाहिर निस्किन हुन्न । घरमा बस्नुजस्तो राम्रो क्वारेन्टाइन कुनै पनि हुँदैन ।

क्वारेन्टाइनहरू अन्तर्राष्ट्रिय मापदण्डको हुने भनेर कार्यविधि पारित गर्नुभएको छ । त्यो मापदण्डभित्र के–के कुरा पर्छ ?
क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवश्यकता पूरा हुन सक्ने हुनुपर्छ । बस्तीभन्दा अलि टाढा हुनुपर्छ । यातायातको सुविधा हुनुपर्छ, सञ्चार र खानेपानीको सुविधा हुनुपर्छ । सरसरफाइ हुनुपर्छ । कसैलाई संक्रमणको लक्षण देखियो भने तुरुन्तै अस्पताल लान सक्ने गरी एम्बुलेन्सलगायतको आवश्यक सुविधा हुनुपर्छ । बसेका मान्छेहरूलाई सकारात्मक काउन्सिलिङ हुनुपर्छ ।

कोरोनाको संक्रमण देखिएका दुवै जना व्यक्ति विदेशबाट आएका हुन् । उनीहरूसँगै आएकालाई खोज्ने र ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा यहाँहरूको केही तयारी छ ?
पहिलो कुरा त त्यो फ्लाइटमा आउने मान्छेहरूले स्वस्फूर्त स्वास्थ्य संस्थामा जानुपर्‍यो । आफूलाई जँचाउनुपर्‍यो । सामान्य भए आफ्नो घरमा बस्दा भयो । केही लक्षण देखिएको छ भने डेडिकेटेड अस्पतालमा जानुपर्‍यो । अथवा सरकारले हटलाइन नम्बरहरू दिएको छ, त्यसमा फोन गरेर एम्बुलेन्सलगायतको सहायता माग्नुपर्‍यो । सरकारले सहयोग गर्छ । ती मानिसहरू आएको प्लेनका मानिसको ट्र्याकिङ गर्ने काम पनि सुरु भएको छ । उनीहरू रहेको स्थानीय तहमा उनीहरूको लिस्ट पनि हामीले पठाउँछौं ।

कति नेपाली विदेशमा अलपत्रै छन्, बुधबार मात्रै दुई सयजति नेपाली दिल्लीमा अलपत्र छन् भन्ने खबर पनि आएको छ । उनीहरूका बारेमा के सोच्नुभएको छ ?
उनीहरूका बारेमा छलफल भएको छ । अहिलेको अवस्थामा जो–जो मानिस जहाँजहाँ छन् त्यहाँ सुरक्षित बस्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता नै हो । अर्को कुरा, कुनै विदेशी नागरिक त्यो देशमा छन् र अलपत्र छन् भने सम्बन्धित देशले उनीहरूको पनि सुरक्षा गर्नुपर्‍यो । जस्तो नेपालमा पनि थुप्रै विदेशी छन् । उनीहरूलाई सुरक्षित राख्ने दायित्व नेपाल सरकारको हो, त्यो हामीले गरिरहेका छौं ।

कोही आपत्‌विपत्‌मा हुनुहुन्छ भने सम्बन्धित दूतावास या च्यानलमार्फत हामीलाई खबर गरे हुन्छ, हामी उहाँहरूलाई उद्धार पनि गर्छौं र सुरक्षित ढंगले गर्छौं । त्यो दायित्व हाम्रो हो । त्यस्तै विदेशमा रहेका हाम्रा नेपालीहरू पनि व्यक्तिगत हिसाबले सुरक्षित ढंगले बस्नुपर्‍यो । दोस्रो कुरा, उहाँहरूलाई कुनै समस्या छ भने त्यो देशको कूटनीतिक च्यानलमार्फत त्यो देशका अधिकारीसम्म उहाँहरू जानुपर्‍यो र नेपालीलाई सम्बन्धित देशले सुरक्षाका साथ राख्नुपर्छ ।

अर्को कुरा अत्यन्तै जोखिम र संकटपूर्ण अवस्थामा नेपालीहरू कहीं रहेछन् भने त्यसको आकलन परराष्ट्र मन्त्रालयले गर्छ । त्यस्तो अवस्थामा उहाँहरूलाई कसरी उद्धार गर्ने भन्ने सरकारको दायित्वभित्र पर्छ । त्यस्तो अवस्थामा हामी कुनै उपाय अवलम्बन गर्छौं ।

अहिलेचाहिँ जो जहाँ छन्, त्यहीं बसुन् भन्ने नै हो ?
यो हाम्रो मात्र होइन, विश्वव्यापी कुरा नै हो ।

दक्षिणी नाकाबाट नेपालीहरू लगालग नेपाल आए, उनीहरूलाई क्वारेन्टाइनमा राख्ने त भनियो तर क्वारेन्टाइन व्यवस्थित छैनन् । कति त भागेका पनि छन् । उनीहरूलाई क्वारेन्टाइनमा राख्ने परीक्षण गर्ने कुरा पनि त होला नि ?
पहिलो त ती क्वारेन्टाइनहरू व्यवस्थित हुनुपर्छ । यसको मापदण्ड हामी पठाउँछौं । उहाँहरूले मापदण्डअनुसार बनाउनै पर्छ । अर्को भारत र तेस्रो मुलुकबाट आएका नागरिकको स्वास्थ्य विवरणसहितको रिपोर्ट अद्यावधिक गर्न स्थानीय सरकारलाई भनिसकिएको छ ।

तर यहाँहरूले भनेजस्तो जनशक्तिलाई तालिम दिने, आचारसंहिता सिकाउने भन्ने कुरा अहिलेको अहिल्यै कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले महामारीबाट विश्व नै संकटमा छ । अति महाशक्ति राष्ट्रका ठूला–ठूला सहरहरू पनि अस्तव्यस्त बनेको अवस्था छ । त्यसकारण यसमा कसैले पनि सर्वोत्कृष्ट उपाय अपनाउन सकेका छैनन् । सबैले आफूले सकेको गर्ने हो । हामी पनि सकेको गर्छौं ।

सबैतिर स्वाब परीक्षणको ल्याब पनि छैन । धनगढीबाट काठमाडौंमा स्वाब पठाउन सकिएन भन्ने खबर आएको थियो । अछाममा त स्वाब पठाउने उपकरण नै भएन भन्ने पनि छ नि ?
काठमाडौं बाहिर छिट्टै ल्याबहरू सुरु हुन्छन् । भोलितिरै धरानमा सुरु हुन्छ । नेपालगन्जमा पनि छिट्टै सुरु हुन्छ । त्यसैले काठमाडौंबाहिर ल्याबहरू सुरु नहुँदासम्म सम्बन्धित जिल्लाहरूले त्यसको कलेक्सन सेन्टरमा ल्याउने र त्यहाँबाट पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको मागअनुसार हवाई यातायात उपलब्ध गराउने हो । स्वास्थ्य मन्त्रालयले मागेको अवस्थामा हामीले नमुना परीक्षणका लागि हवाईजहाज पठाउँछौं ।

प्रकाशित : चैत्र १३, २०७६ ०७:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×