भर्चुअल भीड

नेपालमा इन्टरनेटको माग ५० प्रतिशत बढेको छ, यसअघि साँझ ७ देखि ११ बजेसम्म उच्च हुने इन्टरनेट ब्यान्डविथको खपत दिउँसो पनि उस्तै छ
विजय तिमल्सिना

काठमाडौँ — संसारभरका अर्बौं मानिस केही सातादेखि घरभित्र बन्द छन् । मानिसका गतिविधि सुस्त भए जसरी नै सुस्त छ– इन्टरनेट स्पिड । सायद यस्तो कहिल्यै भएको थिएन र हुने पनि छैन । केही सातायता विश्वभरका मानिस कोभिड–१९ सँगै इन्टरनेटको स्पिडसँग पनि लडिरहेका छन् । सीमित पूर्वाधारमा आधारित संसारभरका इन्टरनेट सेवा प्रदायक र टेलिकम कम्पनीलाई अहिले उपभोक्ताको माग धान्न गाह्रो परेको छ ।

भर्चुअल भीड

मानिस घरभित्र बस्न थालेयता संसारभर नै इन्टरनेटको माग धानिनसक्नु छ । कोभिड–१९ सँगको संक्रमण फैलिएसँगै इन्टरनेट दैनिक जीवनमा कति अत्यावश्यक बनेको छ भन्ने प्रमाण स्वतः सार्वजनिक भएको छ ।

सरकारले लकडाउन घोषणा गरेसँगै नेपालमा इन्टरनेटको माग ५० प्रतिशत बढेको छ । सामान्यतः साँझ ७ देखि ११ बजेसम्म उच्च हुने इन्टरनेट ब्यान्डविथको खपत दिउँसो पनि बराबर देखिएको छ ।


उपभोक्ताले केही दिनयता भोगेको इन्टरनेट स्पिडको समस्या युरोपेली कोभिड–१९ प्रकोपका कारण लकडाउनमा गएका अन्य देशका उपभोक्ताले केही सातादेखि नै भोग्दै आएका छन् । इन्टरनेट सेवा प्रदायकहरुले माग धान्नै नसक्ने अवस्था आएपछि भिडियो सेवा दिने प्लेटफर्महरुले आफ्नो भिडियोको गुणस्तर घटाउनुपरेको छ । नेटफ्लिक्सले गत साता युरोपमा ३० दिनका लागि आफ्नो भिडियोको गुणस्तर घटाउने निर्णय गरेको थियो । फेसबुकले पनि भारतमा आफ्नो सेवा प्रदान गर्दा हुने ब्यान्डविथ खपत कम गर्ने निर्णय गरेको छ ।


कोभिड–१९ को संक्रमणबाट बच्न धेरै देशले लकडाउनको विधि अपनाएसँगै केही देशका कार्यालयले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् । केहीले भने घरबाटै काम गर्ने सुविधा दिएका छन् । योबाहेक सधैं काममा व्यस्त हुनेहरु मनोरञ्जनका रुपमा उच्च गुणस्तरमा भिडियो हेर्ने, गेम खेल्नेजस्ता बढी ब्यान्डविथ खपत हुने काममा लाग्न थालेपछि यसको माग बढेको हो ।


ब्यान्डविथको माग उच्च भएर नेटवर्क धान्नै नसकिने अवस्था भएपछि नेपालमा पनि इन्टरनेट सेवा प्रदायकहरुले प्रयोगकर्तालाई संयमित भएर इन्टरनेट प्रयोग गर्न आग्रह गरिसकेका छन् । सेवा प्रदायकले नेपाल भित्र्याएको ब्यान्डविथको परिणाम र पूर्वाधार क्षमता सीमित भए पनि सबैले एकै पटक इन्टरनेट चलाउँदा माग धान्न गाह्रो हुने इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान) नेपालका अध्यक्ष भोजराज भट्ट बताउँछन् । ‘हामीले ब्यान्डविथको परिमाण बढाऔं भन्दा पनि सकिने स्थिति छैन,’ उनी भन्छन्, ‘अरू देशमा पनि माग उच्च भएकाले उनीहरुले किन्न खोज्दा पनि नदिने स्थिति छ ।’


ब्यान्डविथको माग बढी भएका कारण प्रयोगकर्ताबाट इन्टरनेट सुस्त भएको गुनासो आउने क्रम बढेको सेवा प्रदायक बताउँछन् । आइस्पानले गत साता सूचना नै निकालेर प्रयोगकर्तालाई मनोरञ्जनका लागि भन्दा पनि सूचनामूलक काममा इन्टरनेट प्रयोग गर्न सुझाएको थियो । सेवा प्रदायकले प्रयोगकर्तालाई केमा इन्टरनेट प्रयोग गर र केमा नगर भन्नु औचित्यपूर्ण नहुने भए पनि यो समस्या विश्वभर कायम छ । त्यसैले विश्वचर्चित नेटफ्क्लिसहित अमेजन, युट्युबले आफ्नो गुणस्तर घटाउनुपरेको हो । आईस्पानले विज्ञप्ति निकालेर धेरै ब्यान्डविथ खपत हुने वेबसाइट र एप प्रयोग नगर्न आग्रह गरे पनि त्यसको असर नदेखिएको भट्टको भनाइ छ ।


इन्टरनेटको माग उच्च भएपछि सोनी, माइक्रोसफ्टजस्ता गेम निर्माताले आफ्नो गेम डाउनलोड स्पिड नै कम गर्ने तयारी थालेको प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चले लेखेको छ । इन्टरनेट सेवा प्रदायकहरुलाई मात्रै नभई टेलिकम कम्पनीमाथि पनि भार बढेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक दिल्ली अधिकारीका अनुसार केही दिनयता भ्वाइस र डाटाको प्रयोग २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । काठमाडौंभन्दा बाहिर प्रयोग बढेको उनको भनाइ छ । टेलिकम कम्पनीहरुले भने अझै प्रयोगकर्ताको माग धान्न सक्ने उनको विश्लेषण छ ।

प्रकाशित : चैत्र १३, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?