३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फ्लाइट नम्बर क्युआर ६५२ : अफवाहले पुर्‍यायो अस्पताल

उदयपुरको बेलका नगरप्रमुखले राखेको गलत स्टाटसका कारण वडा ३ रातापानीका विद्यानन्द चौधरीले अनाहक सास्ती खेप्नुपरेको छ । उनी भन्छन्, ‘यति दुःख दिएछ मलाई मान्छेहरुले, उल्टै बिरामी बनाउन लगाएछ । के हो, कसो हो, मैले त केही मेसो पाइरा छैन ।’
जनकराज सापकोटा

काठमाडौँ — उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले मंगलबार सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेखे । उनले नगरपालिकाको वडा नम्बर ३ रातापानी गाउँका विद्यानन्द चौधरी कतारबाट आएको र उनी संक्रमण पुष्टि भएकी युवती चढेकै कल साइन ६५० को विमानमा आएको उल्लेख गरे । फेसबुक र अन्य सामाजिक सन्जालबाट फैलिएको गलत सूचनामा भर परेर उनले उक्त स्टाटस लेखेका थिए । जबकि कोभिड १९ (कोरोना) संक्रमित युवती आएको विमान क्युआर ६५२ थियो ।

फ्लाइट नम्बर क्युआर ६५२ : अफवाहले पुर्‍यायो अस्पताल

मेयर थापाले पछि आफूलाई गलत रिपोर्टिङ गरिएको भन्दै फेसबुकमै लेखे तर गलत पुष्टि हुनुअघि नै उनले यो असत्य तथ्यको सूचना प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश मुख्यमन्त्रीको स्वकीय सचिवसम्मलाई गराइसकेका थिए । मेयरको गलत तथ्यसहितको स्टाटस एकैछिनमा भाइरल भयो । अनि मेयरको भनाइ भन्दै स्थानीय पत्रकारले सन्देश आ–आफ्नो फेसबुकवालमा साभार गरेर पोस्ट गरिसकेका थिए ।


गलत तथ्यबाट फैलिएको हल्ला यतिमै सीमित रहेन । कान्तिपुरको सम्पर्कमा आएका ३५ वर्षीय विद्यानन्दको टिकट हेर्दा थाहा हुन्छ, उनी संक्रमित युवती आएको भोलिपल्ट अर्थात १८ गते काठमाडौं आएका रहेछन् । मेयरको स्टाटसबाट फैलिएको हल्लाले स्थानीय पनि सशंकित भए । विद्यानन्दका अनुसार मंगलबार बिहानै उनलाई नगरपालिकाको कर्मचारी बताउने एक जनाले फोन गरेर तुरुन्तै स्वास्थ्य जाँच गर्न नगरपालिका आउन भने । के भएछ भनेर विद्यानन्द आठै बजे खाना खाएर नगरपालिकातिर जाँदै थिए । बाटोमा भेटिएका एक जनाले अहिले नगरपालिका जान नपर्ने भयो, घरमै फर्केर बस्नुस् भने । त्यसपछि उनी आएकै बाटो घर फर्किए ।


झन्डै साढे चार बजेतिर विद्यानन्दको घरमा इलाका प्रहरी कार्यालयका प्रहरी गाडी लिएर पुगे । उनले सुनाए, ‘त्यतिबेलासम्म पनि कसम मलाई के भइरहेको हो ? के गर्छ भन्ने थाहा थिएन ।’ गाडी लिएर प्रहरी आएलगत्तै एम्बुलेन्स आइपुग्यो । त्यतिन्जेलसम्म विद्यानन्दको घरवरपरका मान्छेको हुल आँगनछेउछाउमा जम्मा भइसकेको थियो । उनले भने, ‘वरपरका सबै मान्छे रमिता हेर्न आएकोझैं गरेर आइरहेका थिए ।’


विद्यानन्दलाई लैजाने बेलाको तस्बिर मेयर थापाले पनि फेसबुकमा राखेका छन् । जसमा उनलाई लिन आएकाहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट लगाएको देखिन्छ । विद्यानन्दले भने त्यतिबेला सामान्य कपडाको मास्क मात्रै लगाएको देखिन्छ । उनले भने, ‘एम्बुलेन्सको पछाडि म र बूढी बस्यौं ।’ जबकि विश्व स्वास्थ्य संगठनले बनाएको गाइडलाइनमा सम्भावित संक्रमितसँगै अरु मान्छेलाई राखेर अस्पताल लैजाँदा संक्रमण भएको रहेछ भने सर्ने जोखिम रहन्छ ।


विद्यानन्दलाई धरानको घोपा क्याम्पस्थित बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स पुर्‍याउँदा ७ बज्नै आंटेको थियो । बिहान ८ बजे नै खाना खाएका विद्यानन्दले त्यतिबेलासम्म केही खान पाएका थिएनन् । अस्पतालले उनलाई एउटा कोठाभित्र हुल्यो । उनका अनुसार जहां उनी जस्तै वैदेशिक रोजगारीबाट फर्केका धरानकै एक मान्छे थिए । राति दस बजेतिर डाक्टरले उनको नाक र मुखबाट स्वाब निकालेर परीक्षणका लागि लगेका छन् ।


विद्यानन्दले सुनाए, ‘मलाई किन ल्याएको ? कति दिन राख्ने हो केही पत्तो छैन ।’ त्यसो त दिनभर भोकभोकै बसेका विद्यानन्दलाई राति १२ बजेतिर एक जना स्टाफ नर्सले एउटा चाउचाउ र पानी खान दिइन् । उनकी श्रीमती रीताले आफू पनि राति १२ बजेसम्म अस्पतालबाहिरै बसेको र पछि कर्मचारीसँग हारगुहार गरेपछि अस्पतालकै बिरामी राख्ने एउटा वार्डमा टुक्रुक्क बसेर रात कटाएको बताइन् । उनले भनिन्, ‘जाँच गरेर राति नै फर्किने हो भन्थ्यो । त्यही भएर कपडा पनि ल्याइनँ । चिसै रात काटें ।’

फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण

छुट्टीमा जाने–आउने गरेर पछिल्ला दस वर्षदेखि कतारमा मजदुरी गर्दै आएका विद्यानन्द पछिल्लो पटक सात महिना पहिले मात्र कतार पुगेका थिए । कोरोनाको त्रास बढेपछि कम्पनीले बिदा दिएर घर फर्केको सुनाए । उनले घर फर्केपछि आफूलाई रुघा, खोकी, ज्वरोजस्तो केही समस्या नदेखिएको सुनाए । उनले भने, ‘हल्लैहल्लामा मलाई यता ल्यायो ।’


विद्यानन्दका कान्छा भाइ गोठालो काम गर्छन् । उनले दाइलाई भाइरस लाग्यो भनेर गाउँमा हल्ला चलेको र नयाँ–नयाँ मान्छेले सोधिरहेको सुनाए । उनले मंगलबार मात्रै मास्क र हेल्मेट लगाएको एक जनाले बाटोमै रोकेर तेरो दाइ कतारबाट फर्केपछि कहाँ कहाँ गयो, नढाँटी भन् भनेको सुनाए । उनले भने, ‘उताबाट फर्केको भोलिपल्ट दाइ गाउँका २० जनासँग कोसी टप्पुमा माछा मार्न गएको थियो भन्दिएँ । अनि त्यो मान्छेले बीसै जनाको नाम टिपेर लग्यो ।’


विद्यानन्दले आफू रोगले भन्दा पनि गाउँमा फैलिएको हल्लाले बिरामी हुन लागेको सुनाए । उनले भने, ‘यति दुःख दिएछ मलाई मान्छेहरुले, उल्टै बिरामी बनाउन लगाएछ ।’ उनले आफूसँग गोजीमा ५ सय मात्र भएको र कति दिन बस्नुपर्ने हो भनेर कसैले नभनेको सुनाए । उनले भने, ‘के हो कसो हो, मैले त केही मेसो पाइरा छैन ।’


बेलका नगरपालिकाका मेयर थापासँग भने सम्पर्क हुन सकेन । नगरपालिकाका प्रशासकीय अधिकृत धर्मराज जोशीले नगरपालिकाले आफ्नै पहलमा शंका लागेको भएर जाँच गर्न लगेको बताए । उनले भने, ‘अब केही दिनमा नगरपालिकामै क्वारेन्टाइन बन्छ अनि शंका भएकालाई त्यहीं राख्छौं ।’


मेयर थापाले त आफ्नो स्टाटस हटाएर नयाँ सूचना लेखे । तर उनले हटाएको पुरानो स्टाटस कपी गर्ने र त्यसको स्क्रिनसट राख्नेहरुबाट उक्त गलत तथ्यसहितको खबर फैलिइरहेको छ । कतिले त उक्त स्टाटसको स्क्रिन सट ट्वीटरमा पनि राखे । यसरी राज्यले समयमै सही सूचना प्रदान गर्न नसक्दा सामाजिक सन्जालमा अफवाह निरन्तर फैलिरहेको छ । जसबाट विद्यानन्द जस्ताले हैरानी खेपिरहेका छन् ।


संक्रमित युवती चढेको विमानमा ४० जिल्लाका यात्रु

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ ।


पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका यात्रु उक्त विमानमा सवार थिए । १ सय ५८ यात्रु सवार विमानमा एक फ्रेन्च, दुई जर्मन र दुई भारतीय थिए । अन्य ४४ जना नेपाली कुन जिल्लाका थिए भन्ने खुल्न सकेको छैन ।


कान्तिपुरलाई प्राप्त कागजातअनुसार संक्रमित युवती सवार विमानमा सबैभन्दा धेरै अर्थात् २७ यात्रु प्रदेश २ का थिए । यो प्रदेशअन्तर्गतका महोत्तरीका ११, सर्लाहीका ४, धनुषाका ९, सप्तरीका २ र बाराका १ जना छन् । एकाधबाहेक उक्त विमानमा सवार अधिकांश यात्रु वैदेशिक रोजगारीबाट फर्किएका कामदार रहेको बुझिएको छ ।


उक्त विमानमा सवार सबै यात्रुमा संक्रमणको जोखिम रहनसक्ने भएकाले ती यात्रुहरु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र स्वास्थ्य समस्या देखिए जाँच गराइहाल्नुपर्ने हुन्छ । तर संक्रमणको पुष्टि भएको तेस्रो दिन भइसक्दा पनि उक्त विमानमा सवार सबै यात्रुसँग सरकारी सम्पर्क हुन सकेको छैन । कान्तिपुरसँगको कुराकानीमा प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले उक्त विमानमा आएकामध्ये १३ जना आइसोलेसनमा बसेको थाहा भएको र अरूको खोजी तीव्र रूपमा भइरहेको बताए । प्रहरी प्रधान कार्यालयले उनीहरुको अवस्था बुझ्न मंगलबार देशैभरका जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिसकेको थियो ।


जोखिममा कामदार

टेकुस्थित केन्द्रीय प्रयोगशालाबाट बुधबार संक्रमण पुष्टि भएका यात्रु पनि वैदेशिक रोजगारीबाट ६ गतेमात्र काठमाडौं फर्किएको देखिन्छ । यसअघि संक्रमण पुष्टि भएकी किशोरी पनि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।


यी दुवै घटनाबाट वैदेशिक रोजगारीबाट फर्किएका कामदार जोखिममा हुन सक्ने र एउटै विमानमार्फत फर्किएका कामदारलाई पनि संक्रमणको जोखिम हुन सक्ने देखिएको छ । दुवै विमान कतार एअरवेजको रहेको र कतारको दोहाबाट आउने उक्त विमानमा अधिकांश घर फर्किने कामदार रहने देखिन्छ ।


४ गते काठमाडौं आएकी युवती सवार विमानबाट यात्रुहरुको विस्तृत विवरण प्रहरी प्रधान कार्यालयले अध्यागमन विभागबाट लिइसके पनि बुधबारको संक्रमित चढेको विमानका यात्रुको विवरण प्रहरीले बुधबार साँझसम्म पनि पाएको छैन । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले पछिल्लो संक्रमित व्यक्ति पनि वैदेशिक रोजगारीबाट फर्किएको कामदार भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाए पनि स्वास्थ्य मन्त्रालयबाट औपचारिक रूपमा नपाएको बताए ।

प्रकाशित : चैत्र १३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?