देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी

सरकारी अस्पतालहरूमा नि:शुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिजविरुद्धको खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ ।

असार १०, २०८३

शंकर आचार्य, प्रताप विष्ट, घनश्याम गौतम, लक्ष्मी गौतम, मेनुका ढुंगाना, रामप्रसाद चौहान , अर्जुन पौडेल

Severe shortage of rabies vaccine across the country, patients suffering

What you should know

बुटवल, पाँचथर, पर्सा, हेटाै‌ंडा, बर्दिया, अछाम र काठमाडौं — सरकारी स्वास्थ्य संस्थामा कुकुर, स्यालजस्ता जनावरले टोकेपछि दिइने रेबिजविरुद्धको खोप (एआरभी) अभावले बिरामीले सास्ती खेपिरहेका छन् । सरकारी अस्पतालहरूमा नि:शुल्क वा न्यून शुल्कमा दिइँदै आएको यो खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले खोप आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन नसक्ने विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीले सास्ती खेपीरहेका छन् । 

गत शनिबार काठमाडौंकै चन्द्रागिरि नगरपालिकामा रेबिजको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका ४८ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । केही साताअघि कुकुरले टोके पनि उनले रेबिजविरुद्धको खोप लगाएका थिएनन् । स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचक्य्राइँ गर्दा ती पुरुषको ज्यान गएको चिकित्सकहरूले बताएका छन् । ‘कुकुरको सानो बच्चाले टोकेकाले खोप लगाउनु पर्दैन होला भन्ने हामी सबैलाई लाग्यो,’ पीडितका एक आफन्तको भनाइ उद्धृत गर्दै टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘नजिकैको स्वास्थ्यचौकीमा खोप उपलब्ध भइदिएको भए सायद हामीले उहाँलाई गुमाउनुपर्ने थिएन होला ।’

देशभरका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कडा रोक लगाएको अधिकारीहरू बताउँछन् । केही दिनअघि सञ्चारमाध्यममा खोप अभावबारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपुछ गरी सचेत गराएको अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अवस्था एकदमै गम्भीर छ । हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई प्रतिबन्ध लगाइएको छ ।’

दैनिक एक सय जनासम्म कुकुरले टोकेका बिरामी आउने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन महिनादेखि रेबिजविरुद्धको खोप अभाव छ । अस्पतालले निजी क्लिनिकबाट बिरामीलाई नै खरिद गर्न लगाएर यो खोपको सेवा दिइरहेको छ । सोमबार मात्र अस्पतालमा कुकुरले टोकेको उपचार खोज्दै २८ जना आएका थिए ।

बुटवल उपमहानगरपालिका–७ दिपनगरका अनन्तराज डुम्रेका ५ वर्षीय छोरा प्रज्ञान डुम्रेलाई ३१ जेठमा कुकुरले टोक्यो । तत्काल बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुर्‍याए । रेबिजविरुद्धको खोप नभएको जानकारीपछि बुटवलकै विभिन्न निजी अस्पताल र क्लिनिकमा पुगे । निजी क्लिनिकहरूमा खोप त भेटियो । तर, चिसो तापक्रममा राख्नुपर्ने खोप खुला रूपमा राखेर बिक्री गर्ने गरेको, त्यो पनि ‘भारतीयका लागि मात्र’ (अन्ली फर इन्डिया) भनेर लेखिएको भेटियो । लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकले त्यो प्रभावकारी नहुने भएकाले प्रयोग नगर्न सुझाव दिए । त्यसपछि तिलोत्तमा नगरपालिकाले नगरवासीका लागि खरिद गरेर राखेको खोप लगाएको उनले बताए ।

‘लुम्बिनी प्रादेशिक अस्पतालमा तीन महिनादेखि खोप अभाव भएको जानकारी पाएपछि प्रदेश स्वास्थ्य मन्त्रालय, संघीय मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि सोधें । तिलोत्तमावासीका रूपमा छोरालाई खोप लगाउन पाए,’ उनले भने । अति आवश्यकमध्येको यो खोपको सरकारी स्वास्थ्य संस्थामा लामो समयदेखि अभाव हुँदा धेरै नागरिकले ठूलो सास्ती भोग्नुपरेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका रेजिबविरुद्धको खोप शाखाका प्रमुख तिलक गौतमले चैत दोस्रो सातादेखि नै अस्पतालमा खोप अभाव भएको बताए । अस्पतालमा पर्याप्त खोप भएका बेला ८० देखि १ सय जनासम्म कुकुरले टोकेका बिरामी आउने गरेको भए पनि अहिले खोप अभावको हल्लामै पनि दैनिक २८/३० जना आउने गरेको उनले बताए । ‘सोमबार मात्र २८ जना आएका थिए,’ उनले भने, ‘हामीलाई खोप उपलब्ध गराउने गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चैत तेस्रो सातादेखि नै उपलब्ध गराएको छैन ।’ बिरामीलाई निजी संस्थाबाट किन्न लगाएर खोप लगाइदिने गरेको उनले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा गैरसरकारी संस्थाका तर्फबाट कार्यरत मोहन जोशीले प्रदेशलाई संघीय स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखाले उपलब्ध गराउने भए पनि चैतपछि खोप उपलब्ध नगराएको बताए । ‘असारभरि खोप उपलब्ध हुन नसक्ने जानकारी आएको छ,’ उनले भने, ‘अब नयाँ आर्थिक वर्षमा टेन्डर भएर खरिद भएपछि साउनसम्म सहज हुन्छ भन्ने छ ।’ असारभरि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध हुने अवस्था नरहेको उनले बताए।

खोपको अभावले दुर्गमका बिरामी बढी मारमा छन् । अछामको ढकारी गाउँपालिका–१ का रोहित विक कुकुरले टोकेपछि दुई साताअघि जिल्ला अस्पताल पुगे । रेबिजविरुद्धको खोप सकिएको भन्दै अस्पतालले फर्काएपछि उनले अहिलेसम्म लगाउन पाएका छैनन् ।

जिल्लामा उक्त खोप लगाउने विकल्प नहुँदा उनी त्रासैत्रासमा बसेका छन् । कामको सिलसिलामा भारत जाने तयारी भएकाले उतै गएर लगाउने योजना बनाएको उनले बताए । ‘१५ दिन भयो कुकुरले टोकेको, अस्पतालमा खोप नपाएर डरैडरले बसेको छु, अब भारत जाने बेला भएकाले उतै गएर लगाउँछु,’ उनले भने, ‘सरकारले सबै ठाउँमा सजिलै नपाइने गम्भीर खालको खोपमा यस्तो लापरबाही नगर्नुपर्ने हो ।’

जिल्ला अस्पताल अछामले २९ जेठमा सूचना निकालेरै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नियमित रूपमा रेबिजविरुद्धको खोप आपूर्ति हुन नसकेको जनाएको छ । जिल्ला अस्पताल अछामकी वरिष्ठ नर्सिङ अधिकृत एवं सूचना अधिकारी गंगा बुढा मगरका अनुसार अस्पतालमा दैनिक २/३ जना रेबिजविरुद्धको खोप लगाउनुपर्ने बिरामी आउने गरेका छन् । खोप अभावले बिरामीलाई रित्तो फर्काउनुपरेको उनले बताए ।

यस्तै, वीरगन्जस्थित नारायणी अस्पतालमा दैनिक २० देखि ३० जना रेबिज खोप लगाउन आउने गरेका छन् । अस्पतालले उनीहरूलाई एक महिनादेखि रित्तै फर्काइरहेको छ । यो अस्पतालमा बारा, पर्सा, रौतहट र भारतबाट समेत रेबिजविरुद्धको खोपका लागि आउने गरेका छन् । यसअघि पनि तीन महिना यो खोपको अभाव खड्किएको थियो । त्यसपछि आएको खोप सकिएकै एक महिना भइसकेको अस्पतालले जनाएको छ । यहाँ महिनाको ५ सयदेखि ६ सय भाइल खोप खपत हुने गरेको नारायणी अस्पतालका रेबिज फोकल पर्सन प्रह्लाद साहले बताए । बिरामीले निजी संस्थाबाट किन्दा प्रतिभाइल ६५० रुपैयाँ पर्ने गरेको छ ।

कोशी प्रदेशका पहाडी जिल्लामा पनि दुई महिनायता रेबिजविरुद्धको खोप अभाव हुँदा कुकुर, बिरालो, स्याललगायत जनावरले टोकेका बिरामी मारमा परेका छन् । पाँचथर जिल्ला अस्पतालमा खोप आपूर्ति रोकिएपछि बिरामीलाई आफैं खोप किनेर अस्पतालमा ल्याउने र स्वास्थ्यकर्मीले लगाइदिने गरिएको छ।

पाँचथर जिल्ला अस्पतालका अहेब सोमनाथ दंगालका अनुसार गत १५ वैशाखयता पाँचथरसहित कोशी प्रदेशका कुनै पनि अस्पतालमा रेबिजविरुद्ध लगाइने खोप आएको छैन । सरकारी संस्थामा खोप अभावका कारण उपचारका लागि आउने बिरामी निजी स्वास्थ्य संस्थामा निर्भर हुनुपरेको उनले बताए ।

एक महिनाअघि कुकुरले टोकेपछि फिदिम–४ की इक्सा केरुङले प्रतिडोज ६ सय ३० रुपैयाँमा खोप किनेर लगाएको बताइन् । सरकारी अस्पतालमा नि:शुल्क वा सहुलियतमा पाइने खोप अभाव भएपछि अतिरिक्त खर्च बेहोर्नुपरेको उनको गुनासो छ । पाँचथर जिल्ला अस्पतालका अनुसार गत चैतमा १ सय ८८ जनाले रेबिजविरुद्धको खोप लगाएका थिए । १५ वैशाखसम्म मात्र थप ८८ जनाले खोप लगाएका थिए । त्यसयता नयाँ खोप नआउँदा सेवा प्रभावित बनेको छ । अस्पतालले बिरामीलाई खरिद गर्न लगाएको खोपको छुट्टै अभिलेख भने राख्ने गरेको छैन । कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ९ असारभित्र २ सय डोज खोप पठाउने आश्वासन दिएको पनि दंगालले बताए ।

बागमती प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरुमा पनि रेबिजविरुद्धको खोप अभाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । हेटौंडा अस्पतालमा आफैले खरिद गरेको रेबिजविरुद्धको खोप पनि सकिने अवस्थामा पुगिसकेको छ । 

बागमती प्रदेश मातहतका अन्य स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोप अभाव छ । हेटौंडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालसहित प्रदेशका १३ जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र खोप शाखाका ईश्वर महराका अनुसार पछिल्ला तीन महिनादेखि नै रेबिज खोपको अभाव देखिएको हो । ‘प्रदेशभरिका स्वास्थ्य संस्थाबाट निरन्तर माग आइरहेको छ, तर केन्द्रमा स्टक नभएकाले वितरण गर्न सकिएको छैन,’ उनले भने । 

चालु आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बागमती प्रदेशका लागि १५ हजार भाइल एन्टी–रेबिज भ्याक्सिन प्राप्त भएको थियो । गत वर्ष मौज्दात रहेको करिब पाँच सय भाइल खोपसमेत थपेर माघ महिनासम्म वितरण गरिए पनि त्यसयता नयाँ आपूर्ति हुन सकेको छैन ।  प्रदेशभर मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा विरामीहरु खोपबाट बन्चित भएका छन् । 

खोप खरिद गर्ने अधिकार संघीय सरकारसँग मात्र भएकाले प्रदेश सरकारले माग गरे पनि समयमै आपूर्ति हुन नसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भनाइ छ । संघीय सरकारबाट खोप उपलब्ध नभएपछि प्रदेशका स्वास्थ्य संस्थाहरु वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।

खोप अभावकै बीच हेटौंडा अस्पतालले आफ्नै स्रोतबाट करिब १० लाख रुपैयाँ बराबरको रेबिजबिरुद्धको खोप खरिद गरेर सेवा सञ्चालन गरेको थियो । अस्पतालका प्रवक्ता उत्सव चौलागाईंका अनुसार हाल पुन: करिब १० लाख बराबरका २ सय भाइल खोप खरिद प्रक्रिया अघि बढाइएको छ । उक्त खोप आउन अझै केही दिन लाग्छ । अहिले अस्पतालमा २/३ दिनलाई पुग्नेमात्र खोप रहेको छ ।  हेटौंडा अस्पतालमा दैनिक ७ जनादेखि १० जनासम्म रेबिजबिरुद्धको खोपका लागि आउने गरेका छन् । 

सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि बिरामीहरू निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भएका छन् । निजी स्वास्थ्य संस्थामा एक पटक खोप लगाउँदा करिब ६ सय ७५ रुपैयाँसम्म खर्च लाग्ने गरेको छ भने पूर्ण उपचारका लागि तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्ने हुन्छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेबिजबिरुद्धको खोपको अभाव तत्काल अन्त्य गर्न प्रदेश सरकारले टेन्डर आव्हान गर्ने तयारी गरिरहेको बताए ।  उनले संघीय सरकारको आपूर्तिमा निर्भर रहँदा खोप अभावको अवस्था सिर्जना भएको बताए । 

चिकित्सकहरुका अनुसार रेबिज विश्वकै सबैभन्दा घातक संक्रामक रोगमध्ये एक हो । संक्रमित जनावरले टोकेपछि समयमै खोप नलगाइए रोग लागेपछि ज्यान बचाउने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

बर्दिया अस्पतालमा रेबिजविरुद्धको खोप नहुँदा महँगोमा किनेर लगाउनुपर्ने बाध्यता रहेको गुलरिया नगरपालिका–१० का रमेश लोधले सुनाए । ‘अस्ति भतिजालाई कुकुरले टोकेर बर्दिया अस्पताल जाँदा खोप पाइएन,’ उनले भने, ‘निजी क्लिनिकमा प्रतिडोज ६ सय ५० तिरेर लगाएँ । हामीजस्ता खर्च बेहोर्न नसक्नेलाई त महँगो खोप किन्न समस्या हुने भयो ।’

कुकुरलगायतका रेबिज शंकास्पद जनावरले टोकेका दैनिक १० जनासम्म अस्पताल आउने गरेको बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले बताए । ‘अस्पतालमा १९ फागुनदेखि रेबिजविरुद्धको भ्याक्सिन छैन,’ उनले भने, ‘प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलबाट भ्याक्सिन नआएपछि बिरामी फर्किने गरेका छन् ।’ यो अस्पतालमा महिनामा करिब ३ सय भाइल रेबिजविरुद्धको भ्याक्सिन आवश्यक हुने उनले जनाए । चालु आर्थिक वर्षको साउनदेखि फागुन दोस्रो सातासम्म ८ सय ४० भाइल रेबिजविरुद्धको भ्याक्सिन आएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

जेठ तेस्रो सातासम्म पर्याप्त खोप रहेको ठाकुरबाबा आधारभूत नगर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी (भावुक) योगीले बताए । ‘पालिकाको बजेटबाट खरिद गरी खोप उपलब्ध गराइरहेका थियौं, यस अवधिमा खरिदका लागि जति माग गरे पनि पाइन्थ्यो,’ उनले भने, ‘तर जेठ तेस्रो सातादेखि खोप अभाव भइरहेको छ । खरिदका लागि १ सय डोज माग गर्दा जम्मा ३० डोज पाइन्छ ।’

यस्तै ठाकुरबाबा, बारबर्दिया र राजापुर नगरपालिकाले आफ्नै लगानीमा खरिद गरी रेबिजविरुद्धको खोप उपलब्ध गराइरहेको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले जानकारी दिइन् ।

सरकारी संस्थामा आपूर्ति नहुँदा अहिले रेबिजका बिरामी महँगो मूल्य तिरेर निजी औषधि पसलबाट खोप किन्न बाध्य छन् । समयमै खोप लगाए रेबिज हुनबाट जोगाउन सकिन्छ । तर एक पटक लक्षण देखिएपछि यो रोग सधैं घातक हुने चिकित्सकहरू बताउँछन् । शुक्रराज अस्पताल टेकुका अधिकारीहरूका अनुसार अहिले कुकुरले टोकेर दैनिक ५ सयभन्दा बढी बिरामी खोप लगाउन अस्पताल पुग्ने गरेका छन् ।

जिल्ला तहका स्वास्थ्य संस्थामा खोप नहुँदा बिरामीसँग काठमाडौं धाउने वा निजी फार्मेसीमा महँगो शुल्क तिरेर खोप किन्नेबाहेक विकल्प छैन । खोपको चरम अभाव भएपछि टेकु अस्पतालले यसअघि गण्डकी प्रदेश सरकार र काठमाडौं महानगरपालिकासँग खोपको मात्रा माग गरेको थियो । विगतमा २४ सै घण्टा रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको टेकु अस्पतालले अहिले अभावकै कारण आकस्मिक (इमर्जेन्सी) विभागबाट दिइने खोपको दोस्रो डोज बन्द गरेको छ । अस्पतालले बिरामीहरूलाई दोस्रो डोजका लागि ओपीडीमा आउन आग्रह गर्न थालेको छ ।

रेबिज कस्तो रोग त हो ? 

कुकुर र स्यालजस्ता जनावरको र्‍यालबाट सर्ने रेबिज एक घातक भाइरल रोग हो । रेबिज प्रतिरोधका लागि यो खोपको नियमित चार डोजको कोर्स पूरा गर्नुपर्छ । हरेक डोज तोकेको समयमै लगाउनुपर्ने हुन्छ । कामका क्रममा हिँडडुल गर्नुपर्ने भएकाले विशेष गरी सडकका कुकुरहरूले टोक्ने जोखिममा श्रमजीवी वर्ग पर्ने गरेका छन् । निजीमा उपचार महँगो हुने हुँदा सरकारी अस्पतालमा सेवा प्रभावित हुँदाको सबैभन्दा ठूलो मार उनीहरूलाई नै पर्छ । नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै वार्षिक ६० हजारभन्दा बढीले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् भने हजारौंले निजीमा उपचार गराउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । तर स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भने कुकुरले टोक्ने घटना बर्सेनि बढिरहेको देखाउँछ । डब्लूएचओका अनुसार विश्वभर प्रति ९ मिनेटमा एक जनाको रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्छन् । नेपालमा बर्सेनि सयभन्दा बढी व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully