देशभर रेबिज खोपको अभाव, उपचारका लागि काठमाडौं आएका विरामीको टेकुमा मृत्यु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भने, 'अवस्था एकदमै गम्भीर छ। हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई कडा प्रतिबन्ध लगाइएको छ ।'

असार ८, २०८३

अर्जुन पौडेल

Rabies vaccine shortage nationwide, patient who came to Kathmandu for treatment dies in Teku

What you should know

काठमाडौँ — रेबिज संक्रमणबाट काठमाडौँकाे चन्द्रागिरि नगरपालिकामा एकजनाको मृत्यु भएको छ । रेबिज संक्रमणकापछि  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

केही हप्ताअघि कुकुरले टोकेका ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) लगाएका थिएनन् ।

स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचेक्र्याइँ गर्दा ती पुरुषको ज्यान गएको चिकित्सकहरूले बताएका छन् ।

'कुकुरकाे सानाे बच्चाले टोकेकाले खोप लगाउनु पर्दैन होला भन्ने हामी सबैलाई लाग्यो,' पीडितका एक आफन्तको भनाइ उद्धृत गर्दै टेकु अस्पतालका एक स्वास्थ्यकर्मीले भने, 'यदि नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद हामीले उहाँलाई गुमाउनुपर्ने थिएन होला ।'

सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कडा रोक लगाएको नाम उल्लेख नगर्ने शर्तमा अधिकारीहरु बताउँछन् ।

केही दिनअघि सञ्चारमाध्यममा खोप अभावबारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपुछ गरी सचेत गराएको समेत बुझिएको छ । अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले भने, 'अवस्था एकदमै गम्भीर छ। हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई कडा प्रतिबन्ध लगाइएको छ ।'

अहिले रेबिजका बिरामीहरु महँगो मूल्य तिरेर निजी औषधि पसल (फार्मेसी) बाट खोप किन्न बाध्य छन् । टेकु मात्र नभई देशभरका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिजविरुद्धको खोपको तीव्र अभाव छ । 

जसका कारण सर्वसाधारणको जीवन उच्च जोखिममा परेको छ । समयमै खोप लगाएर मानिसलाई रेबिज हुनबाट जोगाउन सकिन्छ । तर एकपटक लक्षण देखिएपछि यो रोग सधै घातक हुने चिकित्सकहरु बताउँछन्। 

शुक्रराज अस्पताल, टेकुका अधिकारीहरूका अनुसार अहिले दैनिक ५०० भन्दा बढी कुकुरले टोकेका बिरामीहरू खोप लगाउन अस्पताल पुग्ने गरेका छन् । जिल्ला तहका स्वास्थ्य संस्थामा खोप नहुँदा बिरामीहरूसँग काठमाडौँ धाउने वा निजी फार्मेसीमा महँगो शुल्क तिरेर खोप किन्‍नेबाहेक विकल्प छैन। 

खोपको चरम अभाव भएपछि टेकु अस्पतालले यसअघि गण्डकी प्रदेश सरकार र काठमाडौँ महानगरपालिकासँग खोपको मात्रा माग गरेको थियो ।

विगतमा २४ सै घण्टा रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आएको अस्पतालले अहिले अभावकै कारण आकस्मिक (इमर्जेन्सी) विभागबाट दिइने खोपको दोस्रो डोज बन्द गरेको छ । अस्पतालले बिरामीहरूलाई दोस्रो डोजका लागि ओपीडीमा आउन आग्रह गर्न थालेको छ ।

रेबिज प्रतिरोधका लागि नियमित चार डोजको कोर्स पूरा गर्नुपर्छ । हरेक डोज तोकेको समयमै लगाउनुपर्ने हुन्छ । कामका क्रममा हि‌ंडडुल गर्नुपर्ने भएकाले विशेषगरी सडकका कुकुरहरूले टोक्ने जोखिममा श्रमजीवि वर्ग पर्ने गरेका छन् ।

निजीमा उपचार महँगा हुने हुँदा सरकारी अस्पतालमा सेवा प्रभावित हुँदाको सबैभन्दा ठूलो मार उनीहरुलाई नै पर्छ । 

रेबिज एक घातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर र स्यालजस्ता जनावरको र्‍यालमार्फत् यो रोग फैलन्छ । नेपालमा रेबिजको समस्याका लगभग सबै घटना कुकुरको टोकाइबाट सिर्जित छन् ।

नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै वार्षिक ६० हजारभन्दा बढीले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् भने हजारौँले निजीमा उपचार गराउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

तर स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भने कुकुरले टोक्ने घटना वर्षेनी बढिरहेको देखाउँछ ।आधिकारिक अनुमानअनुसार नेपालमा बर्सेनि १०० भन्दा बढी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

डब्लूएचओका अनुसार विश्वभर प्रति नौ मिनेटमा एक जनाको रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्दछन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully