कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनलगायतका प्लाटिनम–आधारित किमोथेरापी औषधिको चरम अभाव, आपूर्तिकर्ता भन्छन्– सरकारले ११ वर्षअघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न सकिँदैन।
What you should know
काठमाडौँ — फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मीठुकुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने । किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ ।
अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने कार्बोप्लाटिनको खोजीमा परिवारजन जुटे । ‘मेरा जेठाजु र श्रीमान्ले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नुपर्यो,’ मीठुकुमारीकी बुहारी शोभा देवकोटाले सुनाइन्, ‘धेरैसँग अनुनय–विनय गर्नुपर्यो । बल्लतल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो ।’
मीठुकुमारीको परिवारजनले जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिनायता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ । अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन । कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य बढाएका छन् । रिपोर्टिङका क्रममा भेटिएका क्यान्सर बिरामीका परिवारका सदस्यहरूले करिब १४ सय पर्ने १५० एमजीको कार्बोप्लाटिन किन्दा १५ हजार रुपैयाँसम्म तिर्न बाध्य भएको बताए । यति चर्को मूल्य भए पनि सहजै उपलब्ध हुँदैन ।
दिनमा सयभन्दा धेरै बिरामी किमोथेरापीका लागि पुग्ने भरतपुर क्यान्सर अस्पतालकी नर्सिङ विभाग प्रमुख अनुपा थापाले बिरामीका परिवारले पाएको सास्ती सुनाइन्, ‘कति त बिरामी अस्पतालमा छाडेर औषधि किन्न भारतसम्म धाइरहेका छन् ।’ उनले फरक–फरक औषधिको एउटा कोर्स पूरा गर्नुपर्ने अवस्थाका कतिपय बिरामीले औषधि अभावमा जुन पाइन्छ, त्यही मात्रै औषधि प्रयोग गरिरहेको बताइन् । उनले भनिन्, ‘यस्तो अभ्यासले बिरामीको उपचार प्रभावकारी हुँदैन ।’ नर्सिङ विभाग प्रमुख थापा बिरामीका आफन्तले कालोबजारीबाट औषधि खरिद गरिरहेको बताउँछिन् । ‘औषधि ल्याउनेसँग त्यसको बिल हुँदैन । यसबाट पनि थाहा हुन्छ, औषधि कसरी किनबेच भइरहेको छ,’ उनले भनिन् ।
२०७२ मा औषधि व्यवस्था विभागको सिफारिसमा सरकारले कार्बोप्लाटिन १५० एमजीको मूल्य १ हजार ३ सय ९३ रुपैयाँ ८७ पैसा तोकेको थियो । त्यस्तै ४५० एमजीको यही औषधिको मूल्य ४ हजार १ सय ३० रुपैयाँ ७७ पैसा तोकेको थियो । अक्सिलिप्लाटिन ५० मिलिग्रामको मूल्य ४ हजार ३५ रुपैयाँ ८ पैसा थियो । सरकारले त्यसयता मूल्य समायोजन गरेको छैन । सहज रूपमा औषधि उपलब्ध गराउन कुनै विकल्प पनि सरकारले खोजेको छैन ।
सरकारले तोकेको पुरानै मूल्यमा औषधि ल्याएर बेच्न औषधि आपूर्तिकर्ताहरू तयार छैनन् । यसको सोझो मार क्यान्सरका बिरामी र उनीहरूका आफन्तले भोगिरहेका छन् । बजारमा कालोबजारी मौलाएको छ । पाटन अस्पतालमा भेटिएकी देवकोटाले संकटको समय मूल्यभन्दा पनि औषधि पाउनु नै ठूलो कुरा भएको बताइन् । थपिन्, ‘जति चर्को मूल्य परे पनि उपचार त गराउनैपर्यो ।’ नेपालमा उत्पादन नहुने यस्ता औषधिहरू मुख्यतः भारत र बंगलादेशबाट नेपाल ल्याउने गरिन्छ । औषधि उत्पादक संघ नेपालका अध्यक्ष विप्लव अधिकारीका अनुसार यस्ता औषधि उत्पादन गर्ने महँगो प्रविधि नेपालमा छैन, उत्पादन मूल्यभन्दा बिक्री मूल्य कम भएकाले उत्पादकहरूले यस्ता औषधि नेपालभित्रै उत्पादन गर्न चासो देखाइरहेका छैनन् । उनले भने, ‘सरकारले मूल्य तोक्ने तर समय–समयमा मूल्य समायोजन नगर्ने परिपाटीले यस्तो अवस्था निम्तिएको हो ।’
कान्तिपुर मंगलबार पाटन अस्पतालको क्यान्सर डे केयरमा पुग्दा क्यान्सरका ४५ बिरामी किमोथेरापीको प्रतीक्षामा थिए । तीमध्ये कतिका आफन्तले कैयन् हैरानी र झन्झटपछि महँगो मूल्य तिरेर औषधिको जोहो गरेका थिए । कति भने औषधि भेटिने आसमा अस्पतालमा आफन्तको प्रतीक्षा गरिरहेका थिए ।
त्यहाँ कान्तिपुरसँग कुरा गरेका पाँच क्यान्सर विशेषज्ञले विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग गरिने प्लाटिनम–आधारित कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता किमोथेरापीका औषधिहरू अस्पतालमा उपलब्ध नरहेको र यसले बिरामी मर्कामा परिरहेको बताए । कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता औषधि अण्डाशय, फोक्सो, टाउको, घाँटी, स्तन क्यान्सरलगायतका अधिकांश क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।
डाक्टरहरूका अनुसार यस्ता औषधिहरू न अस्पतालको फार्मेसीमा छ न निजी फार्मेसीले नै बेचिरहेका छन् । बिरामीका आफन्तले भने कहाँ–कहाँबाट चर्को मूल्य तिरेर ल्याइरहेका छन् । कतिपय बिरामीका आफन्तले किमोथेरापी औषधिको सप्लायर्स भएका सुन्धारा, त्रिपुरेश्वर, टेकु, कुलेश्वर, महाबौद्धको गल्लीबाट औषधि ल्याएको बताए भने कतिपयले भारतबाट औषधि ल्याएर बेच्ने कम्पनीका गोदामबाटै ल्याएको जानकारी दिए ।
कतिपयले भने भारतबाट आउने आफन्त र चिने–जानेकाबाट ल्याएको सुनाए । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले किमोथेरापीको औषधिका लागि बिरामी कालोबजारीमा भर पर्न बाध्य भइरहेको बताए । उनले भने, ‘हाम्रो फार्मेसीमा औषधि छैन । सरकारी मूल्यमा ल्याउन सकिँदैन भनेर आपूर्तिकर्ताले ल्याएका छैनन् । यो अभावमा कालोबजारी मौलाएको छ । बिरामीका आफन्तले सजिलै औषधि पाइरहेका छैनन् ।’
यो अस्पतालमा हरेक दिन ६० भन्दा धेरै क्यान्सरका बिरामी किमोथेरापीका लागि पुग्छन् । अस्पताल प्रशासनका अधिकारीहरूका अनुसार औषधि ल्याउने ठेक्का पाएको कम्पनीले मूल्य बढेका कारण औषधि ल्याउन नसक्ने बताएको छ । उसले तीन महिनादेखि औषधि आपूर्ति रोकेको छ ।
चालिसेका अनुसार पश्चिम एसियामा जारी तनाव र डलरको भाउ बढेकाले औषधिको कच्चा पदार्थको मूल्य अचाक्ली बढेको छ । केही कम्पनीले औषधि उत्पादन नै कम गरेका छन् भने उत्पादन गर्नेले पनि पुरानो दरमा बेचिरहेका छैनन् । ‘पुरानै सरकारी मूल्यमा ल्याएर बेच्न व्यवसायी तयार छैनन्, जसको प्रत्यक्ष मारमा बिरामी परिरहेका छन् । औषधिको कालोबजारी भने भइरहेको छ,’ उनले भने ।
चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक उमेश नेपालका अनुसार बिरामीले कालोबजारीमा भर पर्न बाध्य हुँदा चर्को मूल्य त तिरेका छन् । अर्कातिर गुणस्तरीय औषधि पनि पाइरहेका छैनन् । उनले यस्तो औषधि निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि कालोबजारीबाट किनिएका औषधिको भण्डारणमा मापदण्ड पूरा भएको देखिँदैन । जसले औषधिको गुणस्तर नै घटाएको छ । उनले भने, ‘एक जना बिरामीका आफन्तले त सिल तोडिएको औषधि किनेर ल्याएका थिए ।’
औषधिको चरम अभाव सम्बोधन गर्न भरतपुरस्थित क्यान्सर अस्पतालले १० दिनअघि नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयलाई पत्राचार गरेको थियो । तर त्यहाँबाट कुनै प्रतिउत्तर नपाएको अस्पतालले जनाएको छ । कालोबजारीको भर पर्दा कतिपय बिरामीका आफन्तले आवश्यक मात्राभन्दा बढी वा कमको औषधि पनि किन्न बाध्य भइरहेका छन् । ‘१५० एमएल औषधि चाहिने अवस्थामा बिरामीका आफन्तले ४५० एमएल औषधि ल्याइरहेका छन् । बढी औषधि खेर गइरहेको छ,’ पाटन अस्पतालका एक चिकित्सकले सुनाए ।
वीर अस्पतालका वरिष्ठ क्यान्स रोग विशेषज्ञ सन्ध्या चापागाईंले जुनसुकै क्यान्सर विशेषज्ञसँग सोधे पनि क्यान्सर बिरामीबारे बताउने पीडाको कथा एउटै भएको सुनाइन् । ‘कम उमेरका र उपचारपछि पूर्ण निको हुने सम्भावना भएका बिरामी पनि औषधि नपाएर छटपटाइरहेका छन्,’ उनले भनिन् । बिरामी रोगले र बिरामीका आफन्त औषधि नपाएर छटपटाउन बाध्य भएको उनले बताइन् । उनले कैयन् बिरामीका आफन्तलाई चिने–जानेका औषधि आपूर्तिकर्तासँग आफूले सम्पर्क गराइरहेको पनि सुनाइन् ।
औषधि र शल्यक्रियाका सामग्री आपूर्ति गर्ने संस्था यतिकेमका कार्यकारी निर्देशक कृष्णमुरारी कार्कीले अहिले हरेक दिन क्यान्सर बिरामीका आफन्तले औषधिको आसमा आफूलाई फोन गर्ने र कार्यालय नै धाउने गरेको सुनाए । यतिकेम नेपालमा क्यान्सर रोगसँग सम्बन्धित औषधि भित्र्याउने कम्पनीमध्येको एक हो । ‘मेरो कम्पनीले तीन महिनायता किमोथेरापी औषधि आयात गरेको छैन । उत्पादक कम्पनीहरूले हामीलाई पुरानो मूल्यमा औषधि उपलब्ध गराउन नसक्ने बताएका छन् । हरेक दिन आधा दर्जन जति मानिस औषधि छ कि छैन भनेर सोध्न आउँछन् र हाम्रो जवाफ छैन भन्ने नै हुन्छ,’ उनले भने ।
औषधि व्यवस्था विभागका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सर औषधिको आपूर्ति सहज बनाउन आपूर्तिकर्ताहरूसँग छलफल गरिरहेको छ । ‘मन्त्रालयले औषधि आपूर्ति गर्ने व्यवसायीसँग छलफल गरिरहेको खबर मैले पाएकी छु,’ विभागकी कार्यवाहक महानिर्देशक शिवानी खड्गीले भनिन्, ‘मन्त्रालयले हामीलाई चाँडै बोलाएर मूल्य सीमाका बारेमा निर्णय गर्ने अपेक्षा हामीले राखेका छौं । यो औषधि संकटलाई जतिसक्दो चाँडो सम्बोधन गर्न लागिपरेका छौं ।’
विभागका अनुसार मूल्य समायोजनको निर्णय मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ । उक्त निर्णय कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित हुनुपर्छ । योभन्दा अगाडि मन्त्रालयले मूल्य समायोजनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्ने हुन्छ । नेपालमा क्यान्सर रोगीहरूको यकिन तथ्यांक छैन । तर ‘ग्लोबल क्यान्सर अब्जर्भेटरी’ को अनुमानअनुसार नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी क्यान्सरका बिरामी थपिन्छन् । त्यस्तै, १४ हजार जनाको बर्सेनि मृत्यु हुने गर्छ । ६० प्रतिशत क्यान्सर रोगीहरूले किमोथेरापी गराउने गरेको अनुमान छ ।
