५ चार्टमा हेर्नुहोस् प्रधानन्यायाधीश शर्माको न्यायिक ‘ट्र्याक रेकर्ड’

सर्वोच्च अदालतमा २०७६ मा नियुक्त भएयता शर्मा कस्ता इजलासमा बसे ? कति फैसला लेखे ? ‘कान्तिपुर’ ले यस अवधिमा ‘नेपाल कानुन पत्रिका’मा प्रकाशित सबै (१,२६३) फैसला केलाएको छ ।

जेष्ठ २२, २०८३

तुफान न्यौपाने

See Chief Justice Sharma's judicial 'track record' in 5 charts

What you should know

काठमाडौँ — नेपाल कानुन पत्रिका सर्वोच्च अदालतले नजिरयोग्य ठहर्‍याएका मात्र फैसला छाप्ने आधिकारिक प्रकाशन हो । मनोजकुमार शर्मा सर्वोच्चमा नियुक्त भएको महिना (वैशाख २०७६) देखि  नेकापको पछिल्लो उपलब्ध अंक (भदौ २०८२) सम्म १,२६३ फैसला प्रकाशित छन् । 

तिनको विवरण केलाउँदा शर्मा १४३ इजलासमा बसेका र त्यसमध्ये उनले करिब एक तिहाइमा मात्रै फैसला लेखेको देखिन्छ । बाँकीमा उनी अरूले लेखेको फैसलामा हस्ताक्षरकर्ता मात्रै थिए । साढे ६ वर्ष नेकापमा निरन्तर देखिएका ११ न्यायाधीशमध्ये फैसला–संख्याका आधारमा शर्मा नवौं स्थानमा छन् ।

सबै इजलास उत्तिकै शक्तिशाली हुँदैनन् । दुई न्यायाधीशको संयुक्त इजलासका फैसलाभन्दा तीन न्यायाधीशको पूर्ण इजलासका र त्योभन्दा माथि बृहत् पूर्ण इजलासका फैसला बढी शक्तिशाली हुन्छन् । शर्माको कलम उनी संलग्न इजलासका आधारमा तुलना गर्दा ठूलामा कम चलेको देखिन्छ । संयुक्त इजलासमा उनी बसेकामध्ये करिब ३७ प्रतिशत फैसला लेखेका छन् । तर, पूर्ण इजलासमा २० र बृहत् पूर्ण इजलासमा १७ प्रतिशत मात्रै । उही अवधिमा निरन्तर नेकापमा फैसला प्रकाशन गरेका सर्वोच्च अदालतका अन्य १० न्यायाधीशको फैसलामध्ये तीनै तहमा उनकोभन्दा माथि छ ।

शर्माले कति फैसला लेखे ? त्यो प्रायः इजलासमा उनी कोसँग बसे भन्नेबाट पनि निर्धारण भएको देखिन्छ । विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीसँग बस्दा उनले लेख्ने अवसर पाएनन् । सपना प्रधान मल्लसँग पनि कम मात्रै पाए । हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईसँग भने उनको लेखन–भार तुलनात्मक रूपमा सन्तुलित रहेछ ।

साढे ६ वर्षमा तीन वा त्यसभन्दा बढी न्यायाधीशको इजलासमा बसेर शर्माले फैसला लेखेको पाँच पटक मात्रै हो । पूर्ण इजलासमा चार र बृहत् पूर्ण इजलासमा एक । यी पाँचमध्ये कुनैलाई पनि पछिल्ला इजलासले अहिलेसम्म उद्धृत गरेका छैनन् ।

फैसला लेख्नु एउटा विषय, त्यो फैसला पछिल्ला इजलासले नजिरका रूपमा उद्धृत गर्नु अर्कै । शर्मासँगै साढे ६ वर्ष नेकापमा देखिएका अन्य १० न्यायाधीशको उद्धरण–दर तुलना गर्दा सबैभन्दा माथि आनन्दमोहन भट्टराई (१४.३ प्रतिशत), सबैभन्दा तल प्रकाशमान सिंह राउत (३.८) छन् । शर्मा (४.२ प्रतिशत) पुछारका दुई–तीनमध्ये पर्छन् । 

यो विश्लेषण २०७६ वैशाखदेखि २०८२ भदौसम्म ‘नेपाल कानुन पत्रिका’ मा प्रकाशित सर्वोच्च अदालतका सबै (१,२६३) फैसलाका आधारमा गरिएको हो ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएको महिना (वैशाख २०७६) देखि नेकापको पछिल्लो उपलब्ध अंक (भदौ २०८२) सम्म प्रकाशित ७४ अंक (२०७७ सालमा एक र २०७८ सालमा दुई अंक प्रकाशन नभएको) का सबै फैसला केलाइएको हो ।

सर्वोच्च अदालतले नजिरयोग्य ठहर्‍याएका फैसला मात्रै छापिने आधिकारिक प्रकाशन हो– ‘नेपाल कानुन पत्रिका’ । ती सबै फैसला यहाँ उपलब्ध छन् ।

अध्ययन अवधिका सबै फैसलालाई ‘स्क्रेपिङ’ गरेर सुरुमा एउटा स्तरीय डेटाबेस बनाइयो । प्रत्येक फैसलाबाट लेखक, हस्ताक्षरकर्ता, फरक राय, सहमतीय राय, इजलासको प्रकार र उद्धरण (साइटेसन) संख्या तथा दर निकालेर वर्गीकरण गरियो । यो तथ्यांक गुगल कोल्याब (Google Colab) मा ‘पाइथन’ प्रयोग गरी विश्लेषण गरिएको हो ।

यहाँ ‘लेखक’ भनेको इजलासको फैसला लेख्ने न्यायाधीश हो, ‘हस्ताक्षरकर्ता’ भनेको अरूले लेखेको फैसलामा सहमति जनाउने न्यायाधीश । ‘उद्धरण गरिएको’ भनेको पछिल्ला फैसलाले नजिरका रूपमा अघिल्ला फैसलाबारे गरेको उल्लेखन हो, त्यसलाई दुई किसिमले गणना गरिएको छ ।

पहिलो, कुनै न्यायाधीशका फैसला जम्मा कतिपटक उद्धरण गरिए र दोस्रो, कतिवटा फरक–फरक फैसला कम्तीमा एकपटक उद्धरण गरिए (उद्धरण दर) ।

फैसला विश्लेषण गरिएको अवधिमा शर्मा १४३ इजलासमा बसेका थिए, जसमा ४८ वटामा उनी लेखक थिए, ९४ वटामा केवल हस्ताक्षरकर्ता । र, एउटामा छुट्टै सहमतीय राय (कन्कर्निङ अपिनियन) लेखेका थिए ।

शर्मा संलग्न सबै १४३ फैसलाको लेखक, हस्ताक्षरकर्ता, इजलास र उद्धरण–विवरण नेकाप को वेबसाइटमा ‘म्यानुअल्ली’ समेत परीक्षण र प्रमाणित गरिएको छ । अन्य न्यायाधीशका फैसलामध्ये ‘र्‍यान्डम्ली’ छानिएका ९० वटा फैसला (नमुना) पनि उही तरिकाले परीक्षण र प्रमाणित गरिएका छन् । यो विश्लेषण नेकापमा प्रकाशित फैसलामा मात्रै सीमित छ, अर्थात् यसले सर्वोच्चका सबै फैसलालाई समेट्दैन । नेकापमा नपरेका वा त्यहाँ उद्धृत नभएका फैसला यसमा समेटिएका छैनन् । न्यायाधीशले कति फैसला लेखे ? त्यो गणनाले केबल ती फैसला कसले लेखेका थिए भन्ने जनाउाछ, छलफलमा कसको योगदान कति थियो ? त्यो जनाउँदैन ।

 कानुन पत्रिकामा शर्माको ट्र्याक रेकर्डबारे कान्तिपुरको विस्तृत रिपोर्टिङ पढ्नुहोस् :

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Link copied successfully