आर्किटेक्चर पृष्ठभूमिकी यमि त्रिभुवन विश्वविद्यालयमा एमफिलकी विद्यार्थीका रुपमा भर्ना भएकी छिन् । कान्तिपुरसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक, सामाजिक तथा वैचारिक अनुभवलाई अनुसन्धानमुखी ढंगले अगाडि बढ्ने सोचका साथ अध्ययन थालेको बताइन् ।
What you should know
काठमाडौँ — प्राज्ञिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो– हिसिला यमी । कुनै बेला उनी पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउँथिन् । कक्षाकोठामा विद्यार्थीसँग अन्तरक्रिया गर्थिन् । माओवादी नेतृत्वको सशस्त्र संघर्षमा सहभागी भएपछि भने उनको राजनीतिक परिचय नै बलियो भएर गयो ।
यतिबेला उनी पुनः कक्षाकोठामै भेटिने भएकी छिन् । तर शिक्षकका रुपमा होइन, विद्यार्थीका रूपमा । उनी त्रिभुवन विश्वविद्यालयमा एमफिलकी विद्यार्थीका रुपमा भर्ना भइन् । यतिबेला आर्किटेक्चर पृष्ठभूमिकी उनी अब ‘जेन्डर स्टडिज’ मार्फत् आफ्नो प्राज्ञिक छविलाई फराकिलो बनाउने अभियानमा छिन् । कान्तिपुरसँग कुरा गर्दै यमिले आफ्नो राजनीतिक, सामाजिक तथा वैचारिक अनुभवलाई अनुसन्धानमुखी ढंगले अगाडि बढ्ने सोचका साथ एमफिल अध्ययन गर्न थालेको बताइन् ।
दसक अघि नै औपचारिक शिक्षा पूरा गरिसकेको, लैंगिक विषयमा बहस गर्दै आएको र राजनीतिक यात्रामा पनि उपल्लो स्थानमा पुगिसकेकी उनले ‘जेन्डर स्टडिज’ किन रोजिन् त ? भन्छिन्, ‘लैंगिक सवाल कुनै क्षणिक बहसको विषय होइन । जीवनभर चेतनाको रूपमा साथ रहने विषय हो ।’
‘एमफिल र पीएचडी जस्ता तहहरूको आफ्नै भाषा, अनुशासन र गहिराइ हुन्छ । यी तह अनुसन्धानमुखी र कम भावनात्मक हुन्छन्’, उनी भन्छिन्, ‘हामी सडकबाट आएका थियौं । हामी भावनात्मक तरिकाले नारीवादसँग जोडिएका थियौं । अब त्यसलाई अनुसन्धानमा आधारित ढाँचामा रूपान्तरण गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ अझ गहिरो रूपमा बुझ्न अध्ययन गर्न चाहेको हुँ ।’
हिसिलाको परिवार राजनीतिक र शैक्षिक पृष्ठभूमि बोकेको परिवार हो । उनका बाबु धर्मरत्न यमी राणा शासनविरुद्धका संघर्षमा सहभागी भएका, राजनीतिमा होमिएका र मातृका कोइराला नेतृत्वको सरकारका मन्त्री भएका थिए । उनका पति बाबुराम भट्टराई पनि माओवादी नेतृत्वको सशस्त्र संघर्षका दोस्रो तहका नेता थिए । पूर्वप्रधानमन्त्री पनि हुन् । वैचारिक नेताका रुपमा परिचित छन् ।
उच्च शिक्षालाई निरन्तरता दिने आफ्नो निर्णयमा परिवारको साथ र सहयोग मिलेको हिसिलाले सुनाइन् । ‘परिवार खुसी हुनुहुन्छ । साथ सबैको मिलेको छ,’ उनले भनिन्,‘बाबुराम जी आफैं किताब खुब रुचाउनुहुन्छ । राम्रो कामको लागि उहाँ सधैं इन्करेज गर्ने मान्छे हो । झन पढ्ने कुरामा त उहाँको सधैं साथ हुन्छ ।’
प्रारम्भिक र उच्च शिक्षा विदेशमै लिएकी हिसिलाले एमफिल भने नेपालमै गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् । ‘विद्यालय, कलेज र विश्वविद्यालयको शिक्षा विदेशमै हासिल गरेकी थिएँ । तर एमफिल भने नेपालकै विश्वविद्यालयबाट गर्न पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन्, ‘यसले आफ्नै देशको शैक्षिक वातावरण बुझ्ने र अनुभव बटुल्ने अवसर पाएकी छु ।’
लामो समय शिक्षकको रुपमा काम गरेको अनुभव बटुलेकी उनलाई कस्तो कक्षाको अपेक्षा गर्नुभएको छ भन्ने प्रश्नमा भन्छिन्, ‘म आफैं पनि पहिला पढाउँदा आफूलाई युवा ठान्थ्थे, अब पढ्न थालेपछि पनि त्यस्तै हुन्छ होला । एक वर्ष मज्जाले पढेपछि सेल्फ स्टडी गर्न पनि सहज हुन्छ कि भन्ने छ ।’
एमफिलपछि राजनीतिभन्दा पनि प्राज्ञिक भूमिकालाई अघि बढाउने उनको योजना छ । आफ्नो भूमिकालाई अब ‘सिन्थेसिस’ अर्थात् ‘अनुभव र विचारको संश्लेषण’ तर्फ केन्द्रित गर्ने उनले बताइन् ।
‘लामो समय राजनीतिमा लागियो । अब ‘सिन्थेसिस’ गर्नतिर लाग्नुपर्छ जस्तो लाग्छ । किनभने, अब राजनीतिमा नयाँ पुस्ता आएको छ,’ उनले भनिन्, ‘नयाँ पुस्ता फरक ढंगले अघि बढिरहेका छन् । अब उनीहरूलाई नियाल्ने, बुझ्ने र आवश्यक सुझाव दिने भूमिकामा रहने छु ।’
