बगाले बगेडीको छैन बगाल

किसानको साथी मानिने बगाले बगेडीको संख्या नेपालमा तीव्र रूपमा घट्दै गएको छ । नेपालका १२ जिल्लाका २० ठाउँमा भएको गणनामा २ हजार ५३० वटा यो चरा भेटिएको छ।

वैशाख २७, २०८३

रमेशकुमार पौडेल

There is no flock of sheep.

What you should know

चितवन — सयौंको संख्यामा हुलका हुल देखिने भएका कारण अंग्रेजीमा ‘एल्लो ब्रुस्टेड बुन्टिङ’ भनिने चराले नेपाली नाम पायो ‘बगाले बगेडी’ । पछिल्लो दशकमा यो चराको संख्या यसरी कटौती भयो कि एकाएक यो उच्च जोखिमपूर्ण अवस्थामा पुग्यो । आकार–प्रकारले भँगेरा जस्तो देखिने छातीमा पहेंलो र खैरो रंगको पखेटामा सेतो धर्सा मिसिएको यो चराको संख्या अहिले नेपालमा कति होला ?

नेपालका चराविद्हरुले गणना गरेर यसको संख्या पत्ता लगाएका छन् । बगाले बगेडीका अनुसन्धानकर्ता कृष्णप्रसाद भुषालले नेपालका १२ जिल्लाका २० ठाउँमा भएको गणनामा २ हजार ५३० वटा यो चरा फेला परेको जानकारी दिए । पन्छी संरक्षण नेपाल (बर्ड कन्जर्भेसन नेपाल, बिसीएन)को संयोजनमा नेपालमा पहिलो पटक गत फेब्रुअरी ११ देखि मार्च ११ सम्म ‘बगाले बगेडी’को गणना भएको थियो ।

यो चरा हिउँदयाममा नेपाललगायतका देशमा आउँछ । अरु बेला फिनल्याण्ड, साइबेरिया हुँदै काजाकिस्तान, मङ्गोलिया र चीनको उत्तरी क्षेत्रमा बसेर त्यहीँ प्रजनन् गर्छ । हिउँदमा आहारा र बासको खोजीमा नेपाल, भारत, म्यानमार, थाइल्याण्ड र कम्बोडियासम्म पुग्छ । यी देशहरुमा हिउँदयामका बेलामा ‘बगाले बगेडी’को गणना भएको भुषालले बताए ।

जसमा सबैभन्दा धेरै थाइल्याण्डमा १ लाख २६ हजार ७६ वटा बगाले बगेडी फेला परे । थाइल्याण्डका ६ स्थानमा भएको गणनामा यो संख्या भेटिएको बिसीएनले जनाएको छ । त्यसैगरी म्यानमारका तीन स्थानमा भएको गणनामा ४९ हजार ८६ वटा ‘बगाले बगेडी’ फेला परेका थिए । नेपालसहित थाइल्याण्ड, म्यानमार र कम्बोडियामा मात्रै १ लाख ८७ हजार ३१० वटा बगाले बगेडी फेला परे । ‘पहिला यो चरा अत्याधिक मात्रामा पाइन्थ्यो । त्यसैले सामान्य अवस्थामा हेरिन्थ्यो । अहिले यो चराको संख्या पहिलाको भन्दा ९० प्रतिशतले कमी आएको छ,’ भुषालले भने । संख्या एकाएक कम भएपछि अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले यो चरालाई उच्च जोखिमपूर्ण (क्रिटिकल्ली इन्डेन्जर्ड)को सूचीमा राखेर संरक्षण गर्नुपर्ने ठहर गरेको छ,’ भुषालले भने ।

यो चरा सिमसारको ढड्डी, उखुबारीमा बस्छ । नेपालको तराइका राजमार्ग आडका बजारमा कुनै समय बगेडी पोलेर बेच्ने–खाने चलन निकै थियो । यहीँ चलनले नेपालमा यसको संख्या ह्वात्तै घटेर गएको भुषाल बताउँछन् । ‘उखुबारीमा जाल हानेर समाउने, बगेडी भन्दै अरु चरा पनि खुवाउने चलन थियो । यस्तै सिकारले यसको संख्या घटेको हो,’ भुषालले भने । मासु खान रोकिए संख्या बढ्ने उनी बताउँछन् ।

सिमसार र उखु बारीमा बस्ने यो चरा खेतबारीमा गएर चर्ने गर्छ । अन्नका दाना र साना किरा यसको आहारा हो । खेतीलाई नोक्सान गर्ने किरा खाने भएका कारण यो चरा किसानको साथी भएको भुषाल बताउँछन् । तर मारेर खाने गर्दा उल्टै नोक्सानी भएको उनले बताए । ‘अर्कोतर्फ खेतमा रासायनिक मल र विषादीले पनि यो चरालाई असर गरेको हुनु पछ,’ भुषालले भने ।

There is no flock of sheep.

सिमसारको संरक्षण गरे, खेतीमा रासायनिक मल, विषादीको प्रयोग घटे बगेडीलाई राम्रो हुने भुषालले बताए । यसो गर्दा समग्र वातावरणमा प्रभाव पर्ने र बगेडी मात्रै नभएर मान्छे र अन्य सबै जीवलाई राम्रो हुने उनले बताए । नेपालमा सबैभन्दा धेरै बगाले बगेडी चितवनको दिव्यनगर फाँट र सुनसरीको मुधवनमा भेटिएको थियो । सप्तरीको भगलापुर घाँसेमैदानमा पनि प्रशस्त भेटिएको भुषालले बताए । ‘दुर्लभ हुँदै गएको संरक्षण गर्नुपर्ने चरा हेर्न पर्यटकले पनि रुचि देखाउँछन् । यो चरा पर्यटनको पनि राम्रो आधार बन्छ,’ भुषालले भने ।  

यो गणनाले नेपाल बगाले बगेडीको महत्वपूर्ण हिउँदे बासस्थलको रुपमा रहेको पुष्टि गरेको भुषालले बताए । ‘देशव्यापी रुपमा सफल भएको यो सर्वेक्षणले अनुसन्धानकर्ता, संरक्षण संस्था र स्थानीय बासिन्दाबीच सहकार्य स्थापित गरेको छ । देशमा जेजति बगाले बगेडी बाँकी छन् तिनको संरक्षणमा नियमित अनुमगन र समुदायमा आधारित संरक्षण अभियान आवश्यक छ,’ बिसीएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले भने । 

यो गणनाले नेपालसहित थाइल्याण्ड, म्यान्मार र कम्बोडियामा बगाले बगेडीको संरक्षणमा सक्रिय संस्था र संरक्षणकर्मीबीच बलियो सम्बन्धको सुरुवात गरेको गोसाई बताउँछन् । पहिलो गणनाले सिकाइका धेरै आधार तयार गरेको र आगामी दिनमा यो चराको अध्ययन र संरक्षणका लागि बलियो अन्तराष्ट्रिय सञ्जाल बनाउन सकिने उनले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully