कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे ।
काठमाडौं — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघले १५औं विश्व रेडियो दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले २३ र २४ भदाैकाे जेन-जी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे । उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिए ।
'सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ,' कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।
