कुन आईएनजीओबाट कति जनाले गर्दैछन् चुनावको पर्यवेक्षण

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका अलवा नेपालमा रहेका आवासीय राजदूतावास/नियोग रहेका तथा नेपालमा लागि सहप्रमाणीकृत भई अन्य मूलुकमा रहेका कूटनीतिक नियोगहरूका प्रतिनिधिले पनि निर्वाचन पर्यवेक्षण गर्ने ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा तीन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले पर्यवेक्षण गर्न गइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ३९ जनाले चुनावको पर्यवेक्षण गर्न गइरहेको जानकारी दिए । 

आयोगका प्रवक्ता भट्टराईले तीन अन्तर्राष्ट्रिय संस्थाका ३९ जनाले पर्यवेक्षणका लागि अनुमत पाएको जानकारी दिएका हुन् । जसमध्ये एसियन नेटवर्क फर फ्री इलेक्सनका सबैभन्दा बढी रहेका छन् । यो संस्थाबाट २० जनाले निर्वाचन पर्यवेक्षण गर्नेछन् । 

त्यस्तै, इन्टरनेसनल रिपब्लिकन  इन्स्टिच्युट  (आईआरआई) बाट १४ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् । नेपालको निर्वाचन मल्टिडिसिप्लिनरी  इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङबाट ५ जनाले निर्वाचन पर्यवेक्षकका लागि अनुमति पाएका छन् ।  

नेपालको निर्वाचनमा पर्यवेक्षकको भूमिकाका लागि यी संस्थाहरूले आयोगलाई निवेदन लेखेका थिए । निवेदन दिएपछि आयोगले उनीहरूलाई अनुमति प्रदान गरेको हो । 

यी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका अलवा नेपालमा रहेका आवासीय राजदूतावास/नियोग रहेका तथा नेपालमा लागि सहप्रमाणीकृत भई अन्य मूलुकमा रहेका कूटनीतिक नियोगहरूका प्रतिनिधिले पनि निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।

दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायका सदस्य राष्ट्रका निर्वाचन निकाय, निर्वाचन आयोगले विगतदेखि नै निर्वाचन पर्यवेक्षणमा सहकार्य गर्दै आएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिले पनि निर्वाचन पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । 

कान्तिपुर

Link copied successfully