स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरूले पनि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आ-आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयीक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।
छलफलमा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुव्यवस्थालगायतका पक्षमा मन्त्रालयको तर्फबाट कुनै कमी नरहने बताएका छन् । यस्तै, स्थानीय तहका छाता संगठनको समन्वयात्मक भूमिकाको प्रशंसा समेत गरेका छन् ।
स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरूले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आ-आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए । मन्त्रालयले स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२' सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिसकेको छ ।
छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी देवी पाण्डे, जिल्ला समन्वय समिति महासंघका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेलगायत गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो ।
