एकै दिनमा हुन्छ चुनाव : प्रधानमन्त्री कार्की

प्रधानमन्त्रीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्, एकै दिनमा हुन्छ चुनाव । दुई पटक हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ ।'

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Elections to be held on the same day: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन् । बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै सबैलाई निश्चिन्त रहन आग्रह गरिन् । निर्वाचनका बेला सबै भूगोलमा मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन् । निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरी आफूहरू घर फर्किने पनि उनले उल्लेख गरिन् ।

प्रधानमन्त्रीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्, एकै दिनमा हुन्छ चुनाव । दुई पटक हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनेछौँ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’

केही दिन अघि पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी) द्वारा आयोजित विद्यार्थीहरूको तालिम समापन समारोहमा पुगेका बेला प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा अत्यधिक चिसो बढेमा दोस्रो चरणमा निर्वाचन गरिने बताएकी छन् ।

कान्तिपुर

Link copied successfully