मुटु काँप्ने जाडोले सर्वसाधरण घरभित्र सीमित छन् । कामकाजीलाई जाडो छल्न हम्मे भइरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म चिसोले असर गरेको छ ।
What you should know
काठमाडौँ — पुस लाग्नेबित्तिकै हुस्सु र कुहिरोले ढाकिन थालेपछि तराईमा घाम लाग्न छाड्यो । हुस्सुसँगै शीतलहर चल्न थाल्दा पूर्वदेखि पश्चिम तराईसम्म जनजीवन प्रभावित भएको छ ।
मुटु काँप्ने जाडोले सर्वसाधरण घरभित्र सीमित छन् । कामकाजीलाई जाडो छल्न हम्मे भइरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म चिसोले असर गरेको छ ।
बर्दियामा एक सातादेखि बाक्लो हुस्सु लाग्दा घाम देखिएको छैन । घाम नलागेपछि सर्वसाधारण जाडोले थुरथुर बनेका छन् । ह्वात्तै जाडो बढेपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने विपन्न परिवारको जीवन कष्टकर बनेको छ । गुलरिया नगरपालिका–८ टपरास्थित सुकुम्बासी टोलका बाबुलाल धोबीको परिवार चिसोको मारमा छ । कपडा धोएर गुजारा चलाउने परिवार पुस १ गतेदेखि घाम नलागेपछि भोकै हुने चिन्तामा छ ।
कमाइ नभएपछि भान्छामा रासनपानी अभाव भएको छ । बाबुलाल गाउँ–गाउँमा ठेला गुडाएर कपडा ‘आइरन’ गरेर साँझ– बिहानका लागि छाक जुटाउँथे । केही दिनदेखि जाडोले घरमै थन्किन बाध्य भएको उनले बताए ।
गुलरिया–८ की प्रेमा धोबीको पनि बाबुलालकै जस्तो पिरलो छ । ‘अन्य काम गर्न हामीसित सीप छैन,’ उनले भनिन्, ‘कपडा धुने काम नपाएका दिन घरमा रासन हुँदैन ।’
अन्न नभएपछि साँझमा मात्र खाना पकाउने गरेको उनले बताइन् । बच्यो भने त्यहीँ खान बिहान छोराछोरीले खाने गरेको उनले बताइन् । उनका पति, दुई छोरा, एक छोरीसँगै छन् । जाडो बढेपछि आगो सहारा बनेको गुलरिया–८ की ६२ वर्षीया कोइली लोधले बताइन् । ‘बाक्लो र न्यानो लुगा किन्न पैसा छैन,’ उनले भनिन्, ‘काठ दाउरा पनि किन्ने स्थिती छैन, जाडोबाट बच्न पातपतिङ्गर सोहरेर आगो ताप्छु ।’
जाडोबाट कसरी जोगिने भनेर सूचना प्रवाह गरिरहेको गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्यालले बताए । पहिलो चरणमा चोक–चोकमा दाउरा वितरण गर्ने तयारी भइरहेको उनले बताए । जाडो बढेसँगै आगो ताप्न जिल्लाका ८ वटै पालिकालाई दाउरा वितरण गर्न परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
बाँकेमा चिसो अत्यधिक बढेसँगै ‘शीतलहर आकस्मिक योजना’ लागू गरिएको छ । शीतलहरबाट सर्वसाधारणलाई जोगाउन यस्तो योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । जोखिममा पर्नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी पहिचान गरी उनीहरुलाई सघाउने निर्णय गरिएको उनले बताए । यसवर्ष बाँकेमा एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन क्ने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रूपन ज्ञवालीले सहरीभन्दा ग्रामीण बासिन्दा सबैभन्दा बढी प्रभावित हुने बताए । पूर्वानुमान अनुसार शीतलहरबाट नेपालगन्जका ८ हजार ५ सय २४, कोहलपुर नगरपालिकाका ४ हजार १ सय ३८, खजुरा गाउँपालिकाका ३ हजार १ सय ९३, जानकी गाउँपालिकाका ३ हजार ८ सय ८९ परिवार प्रभावित हुने देखिएको छ ।
शीतलहरले कपिलवस्तुको जनजीवन कष्टकर बन्नुकासाथै सर्वसाधरणको दैनिकी प्रभावित छ । शुक्रवारबाट घाम लागेको छैन् । रातदिन बाक्लो हुस्सुले कठ्यांङ्ग्रिने गरी जाडो बढेको छ । शीतलहरले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थित पातलिएको छ । हिडँडुल गर्ने कम देखिन थालेका छन् ।
चोक–चोकमा सर्वसाधारणले आगो बाल्दै तापेर राहत महसुस गर्ने गरेका छन् । घरमा पनि आगो र हिटर बालेर बस्ने बढेका छन् । मुटु छुने चिसो बढेपछि वालवालिका र बृद्धबृद्धा प्रभावित बनेका छन् । आइतबार न्युनतम तापक्रम ११ डिग्री सेल्सीयस रहेकामा अधिकतम तापक्रम १४ डिग्री सेल्सियस रहेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग इकाईका रामु रेग्मीले बताए ।
मधेस प्रदेशमा मुटु काँप्ने जाडो छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणपूर्व गएपछि रौतहटको चन्द्रपुर–९ चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ । त्यहीँ झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओडेर ६० वर्षीया देवरतीया देवी माझी (मुसहर्नी) सुतिरहेकी थिइन् । भूइँमा पराल/बोरा बिछ्याएकी थिइन् । जाडोले आइतबार बिहान ११ बजेसम्म उठ्न सकेकी थिइनन् । उनका तीन छोरा छन् । जेठा भागीरत, माइला रामकृष्ण र कान्छो जागरित मुसहर हुन् । उनीहरु आमालाई छाडेर अन्यत्र गएका छन् । देवरतीया बेसाहाराजस्तै रहेको छिमेकी बीरबहादुर श्रेष्ठले सुनाए । ‘शीतलहर चलेको छ । जाडोमा ओढ्ने पनि छैन,’ उनले भने, ‘परालको मान्द्रो ओढेर रात बिताउने गरेकी छन् । बिजोग छ ।’
देवरतीयाका श्रीमान् लालगोविन्द मुसहरको १० वर्षअघि मृत्यु भइसकेको छ । उनीमात्र होइन जाडो बढेकाले चेतनगरका अधिकांश मुसहरको जीवन कष्टकर छ । बस्तीका बृद्धबृद्धा बालबालिका प्रभावित छन् । दुई दिनदेखि बढेको चिसो र शीतलहरले रौतहटलगायत मधेसका जिल्ला प्रभावित छन् ।
शीतलहरले विपन्न बस्तीका साथै सुत्केरी, गर्भवती, बृद्धबृद्धा, विपन्न परिवार बढी प्रभावित छन् । चिसो बढेसँगै अधिकांश बासिन्दा गाउँमा धुनी बालेर आगो तापिरहेका छन् । बजारलगायत ग्रामीण क्षेत्रमा मानिसको चहलपहल न्यून रहेको छ । रौतहटका डुमरिया, चेतनगर, सन्तपुर, गुजराको जुगौलीया, कटहरिया, ईशनाथ, गौर, समनपुर, लगायतको क्षेत्रका दलित बस्तीमा जाडोको मार बढी छ ।
हवाई सेवा प्रभावित
एक सातादेखि बाक्लो हुस्सु लाग्न थालेपछि तराईका जिल्लामा हवाई सेवा प्रभावित बनको छ । मौसम नखुलेपछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान/अवतरण हुन सकेको छैन । बिहान न्यून भिजिविलिटी हुने गरेको छ । दिउँसो केही सुधार भएमात्र जहाव अवतरण हुने गरेका छन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचनाअधिकारी बिनोदसिंह रावतका अनुसार भैरहवाबाट उडान भर्न कम्तीमा १ हजार मिटर भिजिविलिटी जरुरी पर्छ । अवतरण हुन १ हजार ८ मिटर भिजिविलिटी आवश्यक हुन्छ । मौसम प्रतिकुल हुँदा बाँकेको नेपालगन्जस्थित विमानस्थलबाट पहाडी जिल्लामा हुने उडान प्रभावित बनेको छ । नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराकालागि २५ भन्दाबढी हवाइ उडान हुने गरेका छन् ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा चिसाले जनजीवन प्रभावित हुनुकासाथै हवाइ यातायात अवरुद्ध भइरहेको छ । धनगढी विमानस्थलबाट उडान पनि प्रभावित छन् । यहाँ बिहानका उडान प्रभावित भइरहेका छन् । शुक्रबार सम्पूर्ण उडान रद्द भएका थिए । ‘बाक्लो हुस्सुका कारण शुक्रबारका सम्पूर्ण उडान रद्द भए, अरु दिन पनि समयमा उडान हुन सकिरहेको छैन,’ धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहले भने,‘ धनगढी–काठमाडौं दैनिक ६ वटा उडान हुँदै आएका थिए ।’ धनगढीको न्यूनतम तापक्रम ९ र अधिकतम १५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालयका मेट्रोलोजिष्ट अखिलेश चौरसियाले बताए ।
(बर्दियाबाट रामप्रसाद चौहान, बाँकेबाट रुपा गहतराज, कपिलवस्तुबाट मनोज पौडेल, रौतहटबाट शिव पुरी र धनगढीबाट अर्जुन शाह)
