हुस्सु र चिसो बताससँगै मधेशका गरिब, दलित र पिछडिएका बस्तीहरुको जनजीवन कष्टकर बनेको छ । यातायात, व्यापार र खेतीपाती प्रभावित छन्।
What you should know
महोत्तरी — मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।
पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो ।
'यतातिर गत बुधबारदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ, लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन,' जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी–८ का ३० वर्षीय युवा इसराफुल राइन भन्छन्, 'यसले जीवन गुजारामै सकस बढाएको छ ।'
जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि यो क्रम बढेको हो । बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो ।
'बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासि डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो,' गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, 'यो बढ्दो चिसोले अब धेरै टिकिन्न कि जस्तो बनाइसक्यो ।' मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ ।
यो बढ्दो चिसोले गरिब बस्ती अत्यधिक प्रभावित भएका छन् । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लास्टिक र झित्राझिक्री बालिने ‘घुर’ मात्र सहारा बनेको छ । 'लकडीकाठी (दाउरा) कहीँ पाइँदैन, कोही फर्केर हेर्ने आउँदैनन्, के गरौं ? यही घुरको धुवाँ तापेर जाडो काट्नु परेकोछ,' भङ्गाहा–४ रामनगरको मुसहरीटोलकी हेमनी सदा मुसहरले भने ।
बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा प्रभावित हुन थालेका छन् । बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका हवाई सेवा धेरैजसो प्रभावित हुँदै छन् । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।
एकाबिहानैको समयका सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँठाउँमा रोकिनुपरेको चालक बताउँछन् । बाक्लो हुस्सुसँगैको चिसो हावा बहने क्रमले बिहान बेलुका जाडो निकै छिप्पिएको छ ।
चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्प झैँ भएका छन् । मध्याह्नपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफेरो निस्कन गारो बन्दै गएको छ । यसले बजारको चहलपहल देखिन छाडेको गौशाला–५ गौशाला बजारका व्यापारी अजय साह बताउँछन् ।
एक्कासि बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर नियमित खेतीपातीका काममा बिहानैदेखि लाग्न नसकिएको किसान बताउँछन् । लाग्दो पुसमै यस्तो चिसो बढेपछि यहाँका बुढापाका अझ पछिका दिन कस्तो होला भन्दै छन् । भंगाहा–५ सीतापुर बजारमा बस्दै आएका ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन्, 'चिसोले उठ्न बस्न पनि नसकिने भइयो, दुःख पाइने छाँट छ ।'
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा देखिन्छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक बिहानको काममा जान पातलिएको छ ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।
