दुई दिनदेखि शीतलहर र बाक्लो हुस्सुका कारण मधेसको जनजीवन कष्टकर बनेको छ । अधिकांश मानिसहरू धुनी बालेर बसेका छन् । दलित, मुसहर, सुत्केरी, गर्भवती, वृद्धवृद्धालाई बढी सकस परेको छ।
रौतहट — पूर्व–पश्चिम राजमार्गबाट झन्डै ६ किलोमिटर दक्षिण पूर्व गएपछि चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ ।
झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओडेर थरथर काँप्दै गरेकी ६० वर्षीया देवरतिया देवी माझी (मुसहर्नी) भेटिइन् । उनी भुँईमा पराल र बोरा बिछ्याएर सुतेकी थिइन् ।
चन्द्रपुर–९ चेतनगरकी देवरतियाको अवस्था कष्टकर छ । जाडोले उनी बिहान ११ बजेसम्म उठ्न सकेकी थिइन् । उनका तीन छोरा छन् । जेठो भागीरत मुसहर, माइला रामकृष्ण मुसहर र कान्छो जागरित मुसहर हुन् ।
उनीहरूले आमा देवरतियालाई छोडेर अन्यत्र गएका छन् । घरमा उनी बेसहारा जस्तै भएको छिमेकी वीर बहादुर श्रेष्ठले सुनाए । ‘शीतलहर चलेको छ । जाडोमा बुढीको ओढ्ने केही छैन,’ उनले भने, ‘परालको मान्द्रो ओडेर रात बिताउने गरेकी छन् । बिजोग छ।’
देवरतियाका श्रीमान् लालगोबिन्द मुसहरको दस वर्षअघि मृत्यु भइसकेको छ । यही कारण उनको जीवन कष्टकर छ । देवरतिया मात्र होइन, जाडो बढेकाले चेतनगर गाउँका अधिकांश मुसहरहरूको जनजीवन कष्टकर छ । धेरैजसोको राति ओढ्ने सिरक नै नभएको गुनासो गर्छन् । जाडोले बस्तीका बुढाबुढी र बालबालिका धेरै प्रभावित छन् ।
गाउँका अधिकांश मानिसहरू धुनी बालेर आगो तापेर बस्छन् । दुई दिनदेखि बढेको चिसो र शीतलहरका कारण रौतहटलगायत तराई–मधेसमा जनजीवन कष्टकर बनेको छ । चिसोका कारण सबैभन्दा बढी दलित बस्तीका मानिसहरू प्रभावित भएका छन् । लगातारको शीतलहरले दलित बस्तीका साथै सुत्केरी, गर्भवती, वृद्ध वृद्धा, गरिब, विपन्न र पशु चौपाया प्रभावित छन् ।
चिसो बढेसँगै अधिकांश गाउँमा धुनी बालेर मानिसहरू आगो तापिरहेका छन् । बजारलगायत भित्री गाउँमा मानिसको चहलपहल निकै कम छ । दलित बस्तीमा राति सुत्ने ओढ्न नभएकाले समस्यामा परेको गुनासो गर्छन् । जाडोका कारण पशु चौपायालाई बोरा ओढाएर न्यानो पारिएको छ । चिसोबाट दमका बिरामीहरू बढी समस्यामा पर्ने चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए ।
जिल्लाको डुमरिया, चेतनगर, सन्तपुर, गुजराको जुगौलिया, कटहरिया, ईशनाथ, गौर, समनपुरलगायत क्षेत्रका दलित बस्तीमा जाडोको प्रभाव बढी छ । स्थानीय तहले अहिलेसम्म जाडोबाट जोगिन कुनै सहयोग उपलब्ध नगराएको डुमरियाकी मुसहर सुखलिया माझी (मुसहर्नी) ले सुनाइन् । ‘जाडोले ज्यान जाने अवस्थामा पुगिसकेका छौँ,’ उनले भनिन्, ‘कतैबाट सहयोग पाएका छैनौँ । जनप्रतिनिधिहरूले यस्तो बेला सहयोग गर्नुपर्थ्यो ।’
शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्गमा यातायातका साधन कम चलेका छन् । जिल्ला ट्राफिक चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले हुस्सुका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै सडकमै गएर चालकलाई बिस्तारै सवारी चलाउन अनुरोध गर्न थालिएको बताए ।
‘हुस्सुले नजिकको सवारी देखिँदैन । यस्तो बेला सवारीहरू एकआपसमा ठोक्किन सक्छन्,’ उनले भने, ‘हामीले बिस्तारै सुरक्षित यात्राका लागि सडकमै पुगेर चालकलाई सम्झाउने गरेका छौँ । ठाउँ–ठाउँमा बोर्ड राखेका छौँ ।’ मधेशका जिल्लाहरूमा दुई दिनदेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ ।
