सिमरा घटनाप्रति 'नागरिक समूह'को गम्भीर चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह 

'संवैधानिक हकमा हस्तक्षेप गर्ने, निषेधात्मक कदम चाल्ने तथा हिंसात्मक क्रियाकलाप 'कुनै हालतमा स्वीकार्य नहुने'

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

'Citizens' group expresses serious concern over Simara incident, urges all parties to exercise restraint

काठमाडौँ — नागरिक समूहले बाराको सिमरामा मंसिर ३ गते जेन-जी समूह र एमाले कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशको राजनीतिक स्थायित्व र फागुन २१ का लागि तोकिएको चुनाव बिथोलिने गतिविधि नगर्न आग्रह गरेको छ ।  

समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक हकमा हस्तक्षेप गर्ने, निषेधात्मक कदम चाल्ने तथा हिंसात्मक क्रियाकलाप 'कुनै हालतमा स्वीकार्य हुन नसक्ने' जनाएको छ । समूहका अध्यक्ष विष्णुहरि दाहालले राजनीतिक प्रतिस्पर्धामाथि प्रहार हुने गतिविधिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने चेतावनी दिएका छन्।

'सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको घटना देशलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत हो,' दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  विज्ञप्तिमा जेन–जी समूहलाई शान्तिपूर्ण अभिव्यक्तिमा बस्न र दलहरूलाई प्रतिस्पर्धाको नाममा उक्साहट र भिडन्तबाट टाढा रहन आग्रह गरिएको छ । 

'चुनाव नजिकिँदै गर्दा सबै पक्ष संयमित भई संवादद्वारा समस्या समाधान गर्नुपर्छ,'समूहले जनाएको छ ।सरकारलाई निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको पूर्वतयारीमा गम्भीर बन्न आग्रह गर्दै समूहले अत्यधिक बल प्रयोग वा अनावश्यक दमन नगर्न चेतावनी दिएको छ ।

नागरिक समूहले देशमा देखिएको तनावपूर्ण अवस्थालाई सामान्य बनाउन तथा लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न 'सबै पक्षसँग संवाद र सहयोग गर्न तयार रहेको' जनाएको छ ।

कान्तिपुर

Link copied successfully