जेन-जी समूहका जिल्ला संयोजक सम्राट उपाध्याय आफूहरूमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेपछि मात्र वार्ता हुने बताउँछन् ।
What you should know
बारा — बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूलाई वार्तामा बोलाएका छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
'उहाँहरू आउने तयारीमा हुनुहुन्छ,' उनले भने, 'जिल्लाका सबै सुरक्षा प्रशासनका तर्फबाट उहाँहरूसित सम्पर्क भइरहेको छ । कहीँ कतै कुनै रूपमा कुनै प्रकारले क्षति नहोस् भनेर हामी सावधानीपूर्वक संवेदनशील भएर समन्वय गर्दैछौं ।'
जेन-जी समूहका जिल्ला संयोजक सम्राट उपाध्याय आफूहरूमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेपछि मात्र वार्ता हुने बताउँछन् । 'हाम्रो विरोध प्रदर्शन र वार्ता सँगसँगै हुन्छ,' उपाध्यायले भने, 'किटानी जाहेरीअनुसार ६ जनालाई पक्राउ गरी कारबाही नगरेसम्म विरोध र प्रदर्शन जारी रहन्छ ।'
जिल्ला प्रहरी कार्यालयले भने घटनामा संलग्न २ जनालाई पक्राउ गरिसकेको जनाएको छ । जिप्रकाले विज्ञप्ति सार्वजिनक गरेर पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु भइसकेको जनाएको छ ।
संयोजक उपाध्यायले किटानी जाहेरी दिएअनुसार एमालेबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का कैमुद्दीन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै जेन-जी समूहले बिहीबार पनि बिहान १० बजेपछि प्रदर्शन गर्न थालेपछि प्रशासनले फेरि पौने १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु अवज्ञा गर्दै जेन-जी युवाहरूले प्रदर्शन गरेका छन् । बिहीबारको प्रदर्शनमा जेन-जीतर्फ ४ र प्रहरीका ६ जना घाइते भएका छन् । प्रदर्शन उग्र भएर प्रहरीमाथि ढुंगामुढा भएपछि ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरिएको थियो । सिमरामा तनावपूर्ण अवस्थाले सिमरा क्षेत्रका विद्यालयहरू बन्द छ ।
