सिमरा झडपले काठमाडौंमै रोकियो जहाज

सिमरा विमानस्थलमा तनाव उत्पन्न भएपछि बुद्ध एयरले बुधबार दुईतर्फी आठ उडान रद्द गर्‍यो भने बिहीबार दुईवटा अतिरिक्त उडान थपको छ ।

मंसिर ३, २०८२

सुरज कुँवर

Plane stopped in Kathmandu due to Simara clash

What you should know

काठमाडौँ — सिमरा उड्ने एटीआर विमानभित्र ६६ यात्रु थिए । इन्जिन चालु भइसकेको थियो । क्याबिन क्रुको निर्देशनअनुसार यात्रुले सिट बेल्ट बाँधिसकेका थिए । क्याप्टेन शैलेश रावलले काठमाडौं टावरसँग ट्याक्सी–वेमा जहाजलाई लैजान अनुमति माग्नै लागेका थिए । अचानक एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नराम्रो खबर सुनाए, ‘सिमरा विमानस्थलभित्र आन्दोलनकारी पसे । सिमरा विमानस्थल बन्द भयो । जहाज रोक्नुपर्‍यो ।’

सिमरा विमानस्थलको टावर हुँदै काठमाडौं विमानस्थलको टावरमा यो खबर आइपुगेको थियो । बुद्ध एयरको ‘नोभेम्बर इन्डिया’ कल साइन भएको जहाजको ककपिटभित्र पुगेपछि चालकदलले जहाजका दुवै इन्जिन बन्द गर्ने निर्णय लियो । क्याबिन क्रुलाई सिमरा जान नसक्ने सूचना बोर्डमा रहेका यात्रुलाई सर्कुलर गर्न ककपिटभित्रबाट भनियो । एयरहोस्टेसले उडान रद्द भएको जानकारी दिए । तर, सिमरा विमानस्थल बन्द भएको यकिन कारण यात्रुलाई भन्न सकेनन् । एयरहोस्टेसले पुनः उडान हुन सक्ने उल्लेख गर्दै तत्कालका लागि सबै यात्रुलाई टर्मिनल हलमा राखिने जानकारी गराइन् ।

क्याबिन क्रुले यति भन्दासम्म त्यो जहाज रोकिनुमा त्यहींभित्र बोर्डमा रहेका एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सहभागी हुन लागेको कार्यक्रमको विरोधका कारण हो भन्ने धेरै कमलाई थाहा थियो । पाइलटहरूले त समाचार आएपछि मात्रै सिमरा उडान रोकिनुको कारण थाहा पाए । सबै यात्रुलाई बसमा राखेर टर्मिनल हलमा ल्याइयो । त्यसपछि उनीहरूले पनि युवा संघ र जेन–जीबीचको झडप थाहा पाए ।

बुद्ध एयरको त्यो एटीआर विमान नेपालगन्जबाट फर्केर काठमाडौंबाट सिमरा उड्न लागेको थियो । विमान उड्नुपर्ने बिहान साढे १० बजे थियो । सामान्य ढिलाइले ११ बजे उड्ने तयारीमा थियो । उता सिमराबाट ६० हाराहारी यात्रु काठमाडौंमा आउने तयारीमा थिए । काठमाडौंबाट जहाज नै नउडेपछि उनीहरू अलपत्र परे ।

सिमरा विमानस्थलमा तनाव उत्पन्न भएपछि बुद्ध एयरले बुधबार दुईतर्फी आठ उडान रद्द गरेको छ । सिमरा विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार राजनीतिक हुलदंगाका कारण सिमरा विमानस्थल बन्द भएको यो पहिलो घटना हो ।

विमानस्थलकै प्रवेशद्वारमा दुई समूहबीच बोतल हानाहान, भागदौड र कुटपिट हुन थालेपछि नागरिक उड्डयन कार्यालय सिमराले कानुनी अधिकार प्रयोग गर्दै उडान सुरक्षाका लागि विमानस्थल नै बन्द गर्ने निर्णय लिएर जिल्ला सुरक्षा समितिलाई सुरक्षाका लागि अनुरोध गरेको थियो । विमानस्थलको अनुरोधपछि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका थिए । ‘सिमरा विमानस्थलले नै नआउनु भनेपछि बुधबार काठमाडौंबाट तय भएका उडान रद्द भए,’ बुद्धका निर्देशक रूपेश जोशीले कान्तिपुरसँग भने, ‘बुधबार रोकिएका यात्रुका लागि बिहीबार दुईवटा अतिरिक्त उडान राखेका छौं ।’

काठमाडौं–सिमरा रुटमा भारतीय नागरिक, व्यापारी र स्थानीय यात्रुको चाप हुन्छ । यस रुटमा बुद्धले मात्रै दुईतर्फी १० उडान गर्छ । बुधबार दुईतर्फी आठ उडान रद्द हुँदा ४० लाख रुपैयाँ बराबरको कारोबार गुमाउनुपरेको बुद्ध एयरले जनाएको छ ।

सिमरा विमानस्थलको सुरक्षामा सईको कमान्डमा १५ प्रहरी छन् । जिल्ला सुरक्षा समितिले बुधबार १२ प्रहरी थपेको सिमरा विमानस्थलले जनाएको छ । विमानस्थल आसपासको स्थिति बुधबार बेलुकीपख सामान्य बन्दै गएकाले बिहीबार नियमित उडान सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully