सिमरामा भएको के हो ? यो घटनाक्रम ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

बुधबार सिमरामा एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडपको स्थिति मात्रै सिर्जना भएन विमानस्थल नै बन्द गर्नुपर्‍यो । त्यति मात्र नभइ दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी भयो ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

What happened in Simara? Understand this event in 5 questions and answers

What you should know

काठमाडौँ — बुधबार बिहानैदेखि बाराको सिमरा चोक अशान्त बन्यो । एमाले कार्यकर्ता र जेन-जी समूहबीच झडपको स्थिति मात्रै सिर्जना भएन विमानस्थल नै बन्द गर्नुपर्‍यो । त्यति मात्र नभइ दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी भयो ।

कर्फ्यु थप्ने/नथप्ने विषयमा अवस्था विश्लेषण भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र बताउँछन् । उनका अनुसार अहिले अवस्था सामान्यतिर फर्किने क्रममा छ । यो घटना कसरी विकसित भयो ?  दिनभर सिमरा आसपासमा के-के भयो र यसमा कुन-कुन समूह कसरी जोडिन पुगे भनेर हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।

सिमरा विमानस्थलबाहिर भएको झडपको पृष्ठभूमि के हो ?

एमालेको भ्रातृ संगठन युवा संघको मधेश प्रदेश कमिटीले बाराको परवानीपुरमा कार्यक्रम आयोजना गरेको थियो । त्यसैमा भाग लिन एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको सिमरा विमानस्थल हुँदै जाने कार्यक्रम थियो । उनीहरू आउन लागेको थाहा पाएपछि सिमराका जेन-जी समूह अघिल्लो दिनदेखि नै विरोधको तयारीमा थिए । बुधबार त्यही विरोध झडपमा परिणत भएको थियो ।

घटनाक्रम कसरी अगाडि बढ्यो ?

यो घटनाक्रम कसरी अगाडि बढेको रहेछ भनेर बुझ्न हामीले जिल्ला प्रहरी कार्यलय बारा, इलाका प्रहरी कार्यलय सिमरा, स्थानीय एमाले नेता, जेन-जी प्रतिनिधि र स्थानिय प्रत्यक्षदर्शीसँग कुरा गर्यौँ । यो घटनाक्रममा जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङ समूहसमेत जोडिएको देखिन्छ ।

What happened in Simara? Understand this event in 5 questions and answersतस्बिर सौजन्य : सयपत्री अनलाइन

जेन-जी विद्रोहको बलमा सत्तापलट भएपछि गुरुङले सातै प्रदेशमा जेन-जी समूह संगठित गरेका थिए । त्यही जेन-जी समूहका मधेश प्रदेश संयोजक शिव यादवले बारा जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हातपात गरिएको बताएका छन् । सम्राटले मंगलबार बिहान  ८ बजेतिर फेसबुकमा स्टाटस लेख्दै 'निर्वतमान हत्यारा सरकार विरुद्ध शान्तिपूर्ण प्रर्दशन' हुन गइरहेको भन्दै सबैलाई आउन अपिल गरेको देखिन्छ । 

सम्राटले स्टाटस लेखेको विषयमा एमालेका स्थानीय नेताहरू पनि जानकार थिए । एमालेका केही स्थानीय नेताले यस विषयमा आफूहरूले सम्राटसँग मंगलबार नै कुरा गरेको समेत दाबी गरे । बुधबार बिहानै केही जेन-जी युवाहरू विमानस्थलनजिकैको सिमरा बजारमा भेला भएका थिए ।

सोही भेलामा वादविवाद हुँदा एक जनाले स्रमाटसहित केही युवाहरूमाथि हातपात गरेको सार्वजनिक भिडियोमा देखिन्छ । स्रमाटसहितका केही युवामाथि हातपात भएपछि अरु युवाहरू थपिएर विमानस्थलभित्र छिर्न प्रयत्न गरेको देखिन्छ । सार्वजनिक भिडियोमा केही युवाहरुले विमानस्थलको गेटभित्र छिर्न प्रयास गरेको र त्यस क्रममा प्रहरीसँग घम्साघम्सी भएको देखिन्छ ।

विमानस्थल नै बन्द गर्नुपर्ने र कर्फ्यु नै लगाउनुपर्ने अवस्था किन आयो ?

सिमरा विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार, बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो । काठमाडौंबाट विमान उड्नुअघि नै विमानस्थलको मूल गेटबाहिर झडपको स्थिति निम्तिएको थियो । एमाले नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा एमाले कार्यकर्ता भेला भएका थिए ।

त्यहीबेला सिमरा चोकबाट आएका जेन-जी समूह र एमाले कार्यकर्ताबीच झडपको स्थिति निम्तिएको थियो । विमानस्थलका कर्मचारीहरूले त्यतिबेला दुई समूहबीच  बोतल हानाहान भएपछि यहाँको सुरक्षा अवस्था बिग्रिएको बताए । सुरक्षा स्थिति कमजोर बन्दै गएपछि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

झडप बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गर्यो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कर्फ्यु जारी गरिएको बताए । 

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

झडपको घटनापछि के भयो ?

सिमरा चोकमा जेन-जी युवाहरूमाथि कसले हातपात गर्‍यो भन्ने विषयमा प्रहरीले स्पष्ट बताइसकेको छैन । घाइतेहरूले सिमरा अस्पतालमा उपचार गराएर फर्केपछि कुटपिटमा संग्लनविरुद्ध उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सन्तोष तामाङले ७/८ जनाको समूहले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी परेको बताए । 'उजुरी परेको हो, त्यसमा को को संलग्न थिए भन्नेमा अनुसन्धान भइरहेको छ,' तामाङले भने, ‘कुटपिट कसले गरेको हो भन्ने पनि छानबिन गरिरहेका छौं ।’ प्रहरीका अनुसार उजुरीमा चाहिँ स्थानीय एमाले नेता, कार्यकर्ताले कुटपिट गरेको उल्लेख गरिएको छ ।

घटनाबारे एमालेका नेताहरू के भन्छन्, जेन-जी समूहका के भन्छन् ?

एमालेको मधेश प्रदेश सचिव मनोज पौडेलसँग हामीले घटनामा के भएको हो भनेर सोध्यौँ । उनले अघिल्लो दिनदेखि नै केही जेन- जी युवाहरूले कार्यक्रम रोक्न खोजेको र त्यस विषयमा अघिल्लो दिन नै  वडाध्यक्ष र नगर अध्यक्षले जेन-जी युवाहरूलाई सम्झाएको बताए ।

उनले आफूहरूले १५ दिनअघि नै कार्यक्रम सार्वजनिक गरिसकेको बताउँदै कार्यक्रम भाँड्ने प्रयास भएको बताए । उनले बिहान दस बजेतिर सिमरा चोकमा जेन-जी युवामाथि हातपातको प्रयास भएको घटना आफूले सुनेको बताए । तर त्यसमा को सहभागी थियो भन्नेबारे आफूले यसै भन्न नसक्ने बताए । उनले भने, 'कसले कुट्यो थाहा भएन ।'

सुधन गुरुङ नेतृत्वको जेन-जी समूहका मधेश प्रदेश संयोजक शिव यादवले भने एमालेका मान्छेले कुटपिट गरेको दाबी गरेका छन् । उनले भने, 'एमालेका गुण्डाहरू सिमरामा आएर जेन-जी साथीहरूको अपमान गर्ने, दुव्यवहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्नै प्रयास गरेका छन् ।’ उनले घटनामा संग्लनमाथि तत्काल कारबाही हुनुपर्ने बताएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully