सिमरा घटनामा मानवअधिकार आयोगले भन्यो- 'शान्ति सुरक्षा मजबुत बनाऊ, घटनाको छानबिन र घाइतेको उपचार गर'

यस प्रकारका घटनाले स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Human Rights Commission says on Simara incident - 'Strengthen peace and security, investigate the incident and treat the injured'

What you should know

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले बाराको सिमरामा बुधबार एमालेका कार्यकर्ता र जेनजी समूहबीच घटना र सोपश्चात् उत्पन्न परिस्थितिप्रति चासो राखेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै आयोगले शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन र एकअर्काको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । साथै आयोगले उक्त घटनाको अनुगमन गरिरहेको पनि जनाएको छ । 

'एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले मंसिर ३ गते बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय पूर्वनिर्धारित कार्यक्रममा भाग लिन सो पार्टीका केन्द्रीय नेताहरू सिमरा जान लागेको र स्थानीय जेनजी समूहका संयोजकले मंसिर २ र ३ गते फेसबुकमार्फत गरेको आह्वानपछि सोही समयमा भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरुले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउने भन्दै बिहान करिब १०:३० बजे जेनजी युवाहरू सिमरा चोकमा जम्मा भएको,' आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सो स्थानमा एमालेका कार्यकर्ता पुगेपछि दुई पक्षबीच विवाद भई असामान्य परिस्थिति सिर्जना हुँदा पाँच जना युवा घाइते भएको देखिएको छ ।'

त्यसपछि आक्रोशित भिड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेको आयोगको भनाइ छ । 'त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको पाइएको छ । घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ,' विज्ञप्तिमा छ ।

देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्ने नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आयोगले आग्रह गरेको छ । यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जाने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ । 

शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन र घाइतेहरूको प्रभावकारी उपचार गर्न आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully