देशको अन्न भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष बर्खामै खडेरी परेपछि धान रोपाइँ नै ढिलो भयो, ढिलाइका कारण उत्पादन घट्नेमा चिन्तित रहेका किसान धान भित्राउने बेलैमा झरी परिदिएपछि थप चिन्तामा छन्। खेतमै पानी जमेपछि काटेर सुकाउन राखिएको निहिन मात्रै डुबाएको छैन, काट्न बाँकी धान पनि ढल्दा किसानलाई धान स्याहार्न समस्या परेको छ।
काठमाडौँ — बर्खामै पानी नपर्दा खडेरी परेपछि ढिलो गरी रोपिएको धान बाली पाकेर भित्र्याउन ठिक्क पारेका बेलामा झरी परेपछि किसान चिन्तामा परेका छन् । कतिपयको काटिसकेको निहिन खेतमै डुबेको छ । धान रोप्ने बेला खडेरी खेपेका किसानलाई धान थन्क्याउने बेला सोमबारदेखि परेको बेमौसमी वर्षाले दुःख दिएको हो ।
शनिबार बिहानदेखि वर्षा थामिएपछि भिजेको निहिन सुकाउन र पानीले ढालेको धान स्याहार्न किसानलाई यतिबेला भ्याइनभ्याई छ ।
६ महिनादेखिको मिहिनेत वर्षाले तीन दिनमै नष्ट गरिदिएको भन्दै चन्दननाथ–८ धरालबाडाका जयकृष्ण धरालाले दिग्दारी पोखे । लामो झरीका कारण शुक्रबारसम्म धानखेत पोखरी जस्तै भएका थिए । ‘काटेको धान खेतमै भिजिरहेको छ । न दाना काम लाग्ने देखिन्छ, न पराल नै,’ मन्नु परियारले चिन्ता व्यक्त गरिन् ।
केही किसानले पानीले ढालेको धान पालले छोपेर राखेका छन् । केहीले डाँठसहित नै धानलाई घर पुर्याएका छन् । केहीले खेतमै लहरा बनाएर राखेका छन् । केही किसान भने काटेर खेतमै सुकाउन राखेको निहिनलाई वर्षाको पानीले भिजाउन थालेपछि खाली ठाउँमा कुनिउँ लगाएर त्रिपाल र बोराले छोप्न हतारिँदै थिए । खेत सबै जलमग्न भएपछि कुनिउँ लगाउने ठाउँकै समस्या परिरहेको किसानको गुनासो थियो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाका आठ स्थानीय तहमध्ये पाँच पालिकाका किसानले धानबाली भित्र्याइसकेका थिए । तातोपानी र हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका केही वडाका किसानले भने धान भित्र्याइसकेका थिएनन् । कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको धानमध्ये २० प्रतिशत खेतमै भिजेको कृषि कार्यालयले जनाएको छ ।
सातासम्म पनि धान सुक्ने अवस्था नभएमा दाना उम्रने र बाला तथा पराल खेतमै कुहिएर खेर जानेमा किसान चिन्तित छन् । जुम्लामा कालीमार्सी, उन्नत जातमा लेकाली १ र लेकाली ३, चन्दननाथ १ र चन्दननाथ ३ जातको धान रोपिने गरेको छ ।
महोत्तरीको बर्दिबास–१२ का अवदकिशोर महतोले वार्षिक ७५ हजार रुपैयाँमा दुई बिघा जग्गा भाडामा लिएर खेती गर्दै आएका थिए । यस पटक भने उनी पनि धानबाली भित्र्याउनुअघि नै झरी परिदिएपछि ११ जनाको परिवारले वर्ष दिन खाने धान नष्ट हुने भएपछि चिन्तित छन् । ‘धान रोप्ने बेलामा पानी नपरेपछि एक महिना ढिलो भएको थियो । अहिले भित्र्याउन ठिक्क पारेको बाली पानी परेर बर्बाद पार्यो,’ उनले भने, ‘झन्डै एक बिघा जग्गाको धान एकै पटक काटेको थिएँ, अब खेतमै उम्रिने चिन्ता छ ।’
सबै धान कुहिने चिन्ताका कारण आफू तीन दिनदेखि सुत्न नसकेको महतोले बताए । बर्सेनि २ सय क्विन्टल धान उत्पादन गर्दै आएका उनले खडेरी परेपछि यस वर्षको धान साउनमा मात्र रोप्न पाएका थिए । ‘एकातिर ढिलो रोपेर धान कम फलेको चिन्ता त छँदै थियो, अर्कोतर्फ धान भित्र्याउने बेला पानी परेर केही बाँकी राखेन,’ महतोले भने ।
औरही नगरपालिका–१ की नैनीकुमारी पनि अधियाँमा कमाएको १० कट्ठा खेतको धान काटेकै बेला पानी परेपछि बिलखबन्दमा परेकी छन् । उत्पादनको आधा हिस्सा धान बटैया बुझाएर आफ्नो भागमा पर्ने आधाले वर्ष दिनको जोहो गर्ने उनी अहिले आकाश हेर्दै पानी रोकिने आसमा बसेकी छन् ।
मध्यबर्खाको समय मधेशमा परेको खडेरीले प्रदेशका विभिन्न ठाउँमा खानेपानीसमेत दमकलबाट वितरण गरिएको थियो । मध्यबर्खामा नै मनसुन निष्क्रिय हुँदा सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । तराईमा असार बितिसक्दा पनि किसानले धान रोप्नै पाएका थिएनन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सरदरभन्दा आठ दिन ढिलो गरी २४ असोजमा मौसम नेपालबाट बाहिरिएको थियो । मनसुन बाहिरिएको एक महिना नपुग्दै बर्खाको झल्को दिने गरी देशभर वर्षा भयो । महोत्तरीमा मात्र यस वर्ष खडेरीका कारण धान खेतीयोग्य जमिनको करिब एक चौथाइ खेतमा रोपाइँ हुन पाएको थिएन । कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीमा यस वर्ष ३० हजार १ सय ३७ हेक्टर जग्गामा मात्रै रोपाइँ भएको थियो । जुन विगत वर्षको तुलनामा एक चौथाइले कम हो ।
यस वर्ष जिल्लाको धान खेती हुने क्षेत्रफलको ७५.३५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।
झन्डै ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको महोत्तरीमा लगभग ३४ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । ३६ हजार हेक्टर जग्गामा अकासेपानीको भरमा पर्नुपर्ने बाध्यताका कारण धान रोप्ने समयमा पानी नपरेपछि रोपाइँ घटेको थियो । असार–साउनमा खडेरीले खानेपानीको समेत हाहाकार भएपछि सिँचाइ अभावमा किसानले समयमा धान रोप्न नपाएको ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।
४० वर्षदेखि खेतीकिसानी गरिरहेका अवदकिशोर पछिल्ला वर्ष रोप्ने बेलामा पानी नआउने र स्याहार्ने बेला पानी परेर बिगारिदिने भइरहेको बताउँछन् । एक क्विन्टलको ४ हजार रुपैयाँ हाराहारीले बिक्री हुने धान पानी नरोकिए आफ्नो परिवारमै खान पनि नपुग्ने हो कि भन्ने चिन्ता लाग्न थालेको महतोले बताए । ‘यसपालि कति धान भित्र्याउन पाइने हो थाहा छैन,’ उनले थपे, ‘केही धान काटेकै छैन, काटेको पनि पानीबाट जोगाउन मुस्किल छ ।’
खेतमै डुब्यो निहिन
निरन्तरको वर्षाले रामेछापका किसान महिनौंको परिश्रम खेर जाने चिन्तामा छन् । यस वर्ष रामेछापमा कात्तिक पहिलो सातादेखि नै धान पाक्न सुरु भएको थियो । सोमबारदेखि मौसम बिग्रिन थाले पनि धेरै किसानले पानी नपर्ने ठानेर धमाधम धान काटेर खेतमै सुकाउन निहिन फिँजाएर राखेका थिए, तर बुधबारदेखि सुरु भएको निरन्तरको वर्षाले सबै निहिन भिजाएको छ ।
मन्थली नगरपालिका–६ कुनौरीका गोपाल माझीले यस पटक राम्रै धान फले पनि थन्काउने बेला पानी परेर नोक्सानी व्यहोर्नुपरेको बताए । ‘धान थन्क्याउने बेलामै बेमौसमी झरीले सबै मिहिनेत खेर गएको छ,’ माझीले भने, ‘यो वर्ष बोक्से र कुनौरीको बगर फाँटमा राम्रै धान फलेको थियो । बोक्से फाँटको धान त थन्क्याइसकेका थिए, बगर फाँटमा काटेको भोलिपल्टदेखि नै झरी परेर पूरै डुबाएको छ ।’
चार दिनदेखि निरन्तर परेको झरीका कारण काटेको धान पानीमा डुबेर उम्रने अवस्थामा पुगेको मन्थली नगरपालिका–७ का सुरज श्रेष्ठले सुनाए । भने, ‘यो बेलामा झरी पर्छ भन्ने कल्पना पनि गरेका थिएनौं । चार दिनदेखि पानी रोकिएको छैन ।’ उनले निहिन खेतमै डुबेको मात्र नभई काट्न बाँकी धानलाई पनि वर्षाले ढालेको बताए ।
मुख्यबाली धान भित्र्याउने चटारोमा रहेका किसानलाई हालको बेमौसमी वर्षाले समस्या बनाएको मन्थली नगरपालिका कृषि विकास उपशाखाका सहायक कृषि अर्थविज्ञ योवनकुमार सुनुवारले बताए । ‘मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउने किसानले धान जोगाउन सके,’ उनले थपे, ‘तर जानकारी नपाएका किसानको धान वर्षाले क्षति पुर्याएको छ ।’
कृषि विकास कार्यालय रामेछापका अनुसार जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिकामा ७ हजार ८ सय ५९ हेक्टर धान खेत छ । यो वर्ष ७ हजार २ सय हेक्टरभन्दा बढी जग्गामा रोपाइँ गरिएको थियो । गत वर्ष रामेछापमा करिब २० हजार १५ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ ।
काटेर थन्काउन ठिक्क पारिएको धान खेतमै भिजेपछि सल्यानका किसान पनि तनावमा छन् । झरीमा भिजेको धान सुकाउन किसानलाई हम्मेहम्मे परेको छ । सल्यानमा धान उत्पादन हुने झन्डै ७ हजार हेक्टर क्षेत्रफलमध्ये आधाजसोको धान भित्र्याउन बाँकी नै थियो । अहिले पनि शारदा नदी किनार, बाग्चौर, बन्गाड कुपिन्डे नगरपालिका, त्रिवेणी, कालिमाटी, सिद्धकुमाख, कुमाख, दार्मा गाउँपालिकाको खहरेखोला आसपासका खेतमा पाकेको धान काटेर सुकाएको अवस्थामा भिजेको छ ।
तिहार मनाएर फुर्सदमा धान भित्र्याउन लागेका बेला वर्षाले खेतमै भिजेको कालीमाटी गाउँपालिकाका दीपक भण्डारीले बताए । कालीमाटीको टोटके, चापी, चंखेली, स्यांकु जिउला, सिमलचोक, ढोरनीलगायत क्षेत्रमा काटेर सुकाएको निहिन भिजेको मात्र छैन, कतिपय स्थानमा खेतमै डुबेको छ ।
शारदा नगरपालिका–९ का भीमबहादुर नेपालीले काटेर सुकाएको धान २४ घण्टासम्म खेतमै भिजेपछि अहिले सुकाउन धौ–धौ परेको बताए । भने, ‘हिजोआज मेसिन लगाएर धान झाट्ने गर्छन् । हामी पनि मेसिन कुरेर बसेका थियौं । तर मेसिन ल्याउन नपाउँदै पानी परेपछि भित्र्याउनै पाएनौं ।’
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले सिँचाइ नलाग्ने खेतमा ढिलो पाकेको धान पानीले भिजे पनि खासै क्षति नहुने बताए । धेरै किसानले हाइब्रिड जातको धान लगाउँदै आएकाले एक दिनको पानीले भिज्दैमा केही असर नपर्ने उनी बताउँछन् । सल्यानको ७ हजार हेक्टरबाट २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
कपिलवस्तुमा यस वर्ष ६२ हजार ९ सय ७ हेक्टर खेतमा धान लगाइएकोमा २५ प्रतिशत मात्र धान काटिएको कृषि ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । उत्तरी क्षेत्रमा प्रायः काटिसकिए पनि दक्षिणी क्षेत्रको अधिकांश खेतको धान काट्न बाँकी हुँदै झरी परेको हो । खेतमै काटेर छाडिएको धान र खेतमा ढलेर डुबेका धानलाई वर्षाले क्षति पुर्याएको चौधरीले बताए ।
जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाका अनुसार समग्र धान उत्पादनलाई समेत अहिलेको वर्षाले असर गर्नेछ । विशेषगरी छिटो पाक्ने गोरखनाथ, राधा ४ र ६ जातका धानलाई वर्षाले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताए । धान बालीमा पुगेको क्षतिबारे पालिकासँग समन्वय गरी विवरण संकलन गरिरहेको उनले बताए ।
डीबी बुढा (जुम्ला), सुनिता बराल (महोत्तरी), नवराज श्रेष्ठ (रामेछाप), विप्लव महर्जन (सल्यान) र मनोज पौडेल (कपिलवस्तु)
