तेन्जिङ शेर्पा र एडमन्ड हिलारीका सगरमाथा सहयात्री ९३ वर्षको उमेरमा अस्ताए

सगरमाथाको पहिलो सफल आरोहण गरेका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ५१ सदस्यीय आरोहण दलका एक सदस्य थिए, कान्छा शेर्पा । २००९ फागुनमा सिलिगुडीदेखि हिाडेको कान्छाको टोली बाटो बनाउादै एक सातामा आधारशिविरबाट खुम्बु आइसफलसम्म पुगेको थियो ।

आश्विन ३१, २०८२

सुरज कुँवर

Tenzing Sherpa and Edmund Hillary's Everest companion dies at 93

What you should know

काठमाडौँ — विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको छ । कान्छाका छोरा छिरिङ पेन्जो शेर्पाका अनुसार, बुबाको निधन बिहान २ः१० बजे कपनस्थित निवासमै भएको थियो । सगरमाथामुनिको नाम्चे बजारमा दुई छोराहरूसँगै बस्दै आएका कान्छा तीन महिनायता उपचारका लागि काठमाडौं आएका थिए । उनी क्यान्सर ट्युमरबाट पीडित थिए ।

पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्येका माइला उनी नाम्चेमा जन्मिएका थिए । फुर्वा नाम भए पनि उनलाई परिवारमा ‘कान्छा’ भनेर बोलाउँदा बोलाउँदै नागरिकतामा पनि सोही नाम राखिएको थियो ।

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गर्दा कान्छा २१ वर्षका थिए । हिलारी र तेन्जिङले १५ जेठ २०१० (२९ मे १९५३) मा सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहण दलमा त्यसताका १६ बेलायती र ३५ नेपाली शेर्पाको संलग्नता थियो ।

२०७० पछि कान्छा उक्त दलका एक्ला जीवित सदस्य थिए । उक्त ब्रिटिस अभियान दलमा उनी दार्जिलिङबाटै हिलारी र तेन्जिङसँग काठमाडौं आई भक्तपुरबाट हिँडेर सगरमाथा आरोहणका लागि सहभागी भएको उनले केही वर्षअघि कान्तिपुरसँगको अन्तर्वार्तामा बताएका थिए । अन्तर्वार्तामा कान्छाले आफू त्यतिबेला भरिया भई सगरमाथाको चुचुरोमुनिको साउथकोलसम्म (८ हजार ३ सय ८२ मिटर) पुगेको बताएका थिए । 

२००९ को हिउँदयामको समय, खुम्बु क्षेत्रको ग्रामीण जीवन ज्यादै कष्टकर थियो । दोलखाबाट भरियाले बोकेर लगेको चामल खाने शेर्पा नगण्य थिए । प्रायः शेर्पाको जीवन आलु र मूलाकै झोलमा भरथेग चल्थ्यो । कान्छा गाउँमा दाउरा चिर्ने काम गर्थे । त्यसबेला तिब्बततर्फको उत्तरी मोहडाबाट बेलायती र अमेरिकी आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरिरहेका थिए ।

नेपाली शेर्पाहरू कामको खोजीमा दार्जिलिङसम्म जान्थे । त्यसै बेला कसैले गाउँमा खबर सुनायो, ‘दार्जिलिङमा तेन्जिङ नोर्गे छन् । तिनले काम दिन्छन् !’ त्यसपछि कान्छा घरबाट भागेर संखुवासभा, ताप्लेजुङको हिमाली बाटो हुँदै दार्जिलिङ पुगेका थिए । उनका अनुसार, त्यसताका तेन्जिङ नोर्गे पनि हिमाली जीवनको कष्टले चौंरी गोठ छाडेर दार्जिलिङ पुगेका थिए ।

Tenzing Sherpa and Edmund Hillary's Everest companion dies at 93

तेन्जिङ दार्जिलिङ छेउछाउका हिमालमा विदेशी पर्यटकलाई घुमाउने गर्थे । उनले एउटा आरोहण दलसँग तिब्बतको उत्तरी मोहडाबाट सगरमाथा आरोहणको प्रयास गरेका थिए । उक्त अभियानमा कान्छाका बुबा पनि तेन्जिङसँगै सगरमाथाको उत्तरी मोहडा पुगेका थिए । ‘त्यस अभियानमा मेरा बाले उनीसँगै काम गरेकाले मैले मेरा बुबाको नाम पुकारेपछि उनले मलाई आफूसँगै राखे । अरू दुई साथीलाई त्यहीँको शेर्पाको घरमा काम खोजिदिएका थिए,’ कान्छाले भनेका थिए ।

दार्जिलिङमा कान्छाले दाउरा टिप्ने काम गर्थे । त्यसै बेला तेन्जिङले नेपालतर्फबाट सगरमाथा आरोहणमा जाने हिलारीको अभियानबारे कान्छा र उनका साथीहरूलाई भनेका थिए । केही महिनाको दार्जिलिङ बसाइपछि २००९ फागुनमा कान्छा तेन्जिङसँगै सिलिगुडी हुँदै रेलमा रक्सौल ओर्लिएका थिए । त्यहाँबाट सरदारको भारतीय ट्रकमा चढेर उनी बाइरोडको बाटो हुँदै काठमाडौं उत्रिएका थिए । ११ जना दार्जिलिङका हिमाल आरोहणमा अनुभव भएका शेर्पाहरू पनि साथै आएका थिए ।

कान्छाले त्यसै बेला काठमाडौंमा देखिएका विदेशीसँगको घुलमिल आफ्नो पहिलो अनुभव बताएका थिए । ‘पहिलो पटक विदेशी काठमाडौं आएपछि नै देखेको थिएँ,’ कान्छाले त्यो भेटमा भनेका थिए । उनले हिलारीलाई पनि त्यसै बेला देखेको बताए । त्यसताका बेलायती सैनिकहरूको आरोहण दलका साथ आएका थिए, हिलारी । शेर्पाहरूको टोलीले न्युजिल्यान्ड र बेलायतबाट रक्सौल हुँदै आएका आरोहणका सरसामानलाई भक्तपुरमा जम्मा गरेका थिए । कान्छाका अनुसार, त्यस बेला पहिलो क्याम्प भक्तपुरमा दुई साता पाल टाँगेर बसेको थियो ।

Tenzing Sherpa and Edmund Hillary's Everest companion dies at 93त्यस बेला भारी बोक्ने १२ सय तामाङ र हिमाल चढ्न जाने ३५ जना शेर्पालाई दिनको ८ रुपैयाँ ज्याला तोकेर भेला पारिएको थियो । भरियाले आफ्नो खाना आफैंले व्यवस्था गर्नुपर्थ्यो । धेरैले घरबाटै सातु बोकेर ल्याएका हुन्थे । त्यसताका कागजी नोट चल्तीमा थिएन । चाँदीका सिक्काबाट कारोबार हुन्थ्यो । ‘भरिया र शेर्पालाई तिर्न मात्रै २५ बाकस पैसा थियो । तत्कालीन सरकारले पैसाको सुरक्षार्थ भरुवा बन्दुकसहित ५ प्रहरी नाम्चेसम्मै खटाएको थियो,’ कान्छाले भनेका थिए । 

हिलारीको टोली २७ फागुन २००९ मा भक्तपुरबाट पाँचखाल, दोलालघाट हुँदै १६ औं दिनमा नाम्चे पुगेको थियो । काठमाडौंबाट २ सय ७३ किलोमिटर दूरीको यात्रा सरदर दिनको ८ किलोमिटरका दरले उनीहरू हिँडेका थिए । ‘हाई अल्टिच्युट सिकनेस’ का कारण नाम्चेबाट तामाङ भरियालाई फर्काइएको थियो ।

हिलारीसहितका विदेशीलाई उचाइको वातावरणसँग घुलमिल गराउन एक साता नाम्चेमा राखिएको थियो । त्यस बेला झन्डै ५ टन हाराहारी खाद्यान्नसहितका सामान भरियाले ओसारेका थिए । नाम्चेबाट सगरमाथाको आधारशिविरसम्म पुग्न थप ६ दिन लागेको थियो । नाम्चेबाट थामे, खुम्जुङ, पाङ्बोचेका २ सय हाराहारी चौंरी र भरियाले टेन्ट, स्लिपिङ ब्याग, अक्सिजन, मट्टीतेलका टिन, क्यानमा राखिएका तयारी खानेकुरा, औषधि र आरोहण सामग्री ओसारेका थिए । ३०–४० किलो तौलका अक्सिजनका सिलिन्डर रुकस्याकमा राखेर भारी बनाइएको थियो ।

त्यसअघि खुम्बु क्षेत्रका शेर्पाहरूले आधारशिविर टेकेकै थिएनन् । चौंरी गोठ बस्ने लुबुचेमाथि गाउँ नै थिएन । अन्तिम गाउँ डिङ्बोचे थियो । चोमोलोङमा देउताका रूपमा मानेको त्यो शृंखलामा कान्छासँगै उनका फुपाजु पासाङ फुतार शेर्पा पनि गएका थिए । उनले त्यसताका सगरमाथाको आधारशिविर आसपासलाई अनौठो मानेका थिए ।

 आधारशिविरबाट माथि खुम्बु आइसफलमा बाटो बनाउन शेर्पाहरूलाई एक साता लागेको थियो । अहिलेजस्तो निकुञ्ज थिएन । रूख काट्न छुट थियो । शेर्पाहरूले २० वटा सल्लाका रूख काटेर आधारशिविरसम्म पुर्‍याएका थिए । त्यहाँबाट उनीहरूले बोकेरै हिउँमाथि पुलेसा, कतै सिँढी, कतै बाटो बनाएका थिए । आधारशिविरबाट अगाडि पहिलो क्याम्प खडा भएको थियो । त्यसपछि एक–एक दिनमै दोस्रो, तेस्रो, चौथो क्याम्पमा उनीहरू पुगेका थिए । बेलुकीपख शिविरमा मट्टीतेल बालिन्थ्यो । हिउँ तताउँदै सुप बनाएर खाइन्थ्यो ।

Tenzing Sherpa and Edmund Hillary's Everest companion dies at 93हिलारीका साथ केही डाक्टर आएका थिए, केही फोटो खिच्थे, केही नक्सा र टेन्टको काम गर्थे । त्यस बेला अहिले जस्तो पञ्जाको प्रयोग हुन्थेन । सबैलाई चस्मा दिइएको थियो । त्यो पनि कान्छासहित शेर्पाहरूको पहिलो अनुभव थियो । हरेक टेन्टमा दुई–दुई जना सुत्थे । हिलारी र तेन्जिङ भने एउटा टेन्टमा सुत्थे । चौथो क्याम्पबाट माथि उक्लेपछि साउथकोलमा हिलारी, तेन्जिङसहित दार्जिलिङबाट आएका दुई शेर्पा र कान्छासहित १४ जना पुगेका थिए । धेरै विदेशी दोस्रो क्याम्पबाट माथि उक्लिन सकेनन् ।

हिलारी र आरोहण अभियानको नेतृत्व गरेका विदेशीहरूबीच वाकीटकीमा कुरा हुन्थ्यो । संयोगवश त्यस बेला मौसम बिग्रिएन । साउथकोलबाट माथि अर्को क्याम्प थियो । त्यहाँसम्म कान्छा र उनका साथीहरूले सामान ओसार्नुपरेको थियो । उनीहरू सामान ओसारेर फर्किहाल्थे । १६ जेठ २०१० को १२ बजे हिलारी र तेन्जिङले सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । त्यो खबर दोस्रो क्याम्पमा वाकीटकीबाट आइपुग्यो । अंग्रेजीमा आएको खबर दार्जिलिङका शेर्पाहरूले उल्था गरेर कान्छा र उनका साथीहरूलाई सुनाएका थिए । ‘त्यो खबरले हामी धेरै खुसी भएका थियौं,’ कान्छाले भनेका थिए ।

हिलारीअघि विभिन्न आरोहण दलले १० पटकसम्म सगरमाथा आरोहणको प्रयास गरिसकेका थिए । हिलारीअघि बेलायतीहरूले नै पहिलो पटक तिब्बततर्फबाट आरोहणको प्रयास गरेका थिए । तर त्यो अभियान सफल भएन । नेपालतर्फबाट भएको पहिलो आरोहण अभियानलाई त्यस बेला चुचुरोमा पुग्न ३ महिना लाग्ने अनुमान गरिएको थियो । तर, ४५ दिनमा यात्रा सकियो । आरोहण सकिएको दिन दिउँसो नै हिलारी र तेन्जिङ दोस्रो क्याम्प ओर्लिएका थिए । त्यहीँ उनीहरूलाई लिन काठमाडौंबाट हेलिकोप्टर पुगेको थियो । उनीहरू हेलिकोप्टरमा फर्किएपछि कान्छासहितका शेर्पाहरूले खानेकुरा त्यहीँ छाडेर बन्दोबस्तीका सामान ओसार्दै चार दिनमा नाम्चे फर्किएका थिए ।

Tenzing Sherpa and Edmund Hillary's Everest companion dies at 93

यो कान्छाको पहिलो सगरमाथा आरोहण अभियानको कथा हो । हिमाल आरोहण तथा पहिलो आरोहण दलको अनुभवसहित कान्छाबारे थुप्रै पुस्तक र डकुमेन्ट्री बनेका छन् । पछिल्ला वर्ष हिमालमा बढेको प्रदूषणप्रति उनको गहिरो चिन्ता थियो । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले कान्छाको सम्झनामा पोखरा र ककनीमा स्मृतिपार्क र सालिक निर्माण गरिने बताए । ‘कान्छा नेपालको पर्वतारोहण क्षेत्रमा गडफादर हुनुहुन्थ्यो । हामी उहाँको नाममा पुरस्कार स्थापना गर्दै छौं,’ अध्यक्ष शेर्पाले भने ।

पर्यटन तथा उड्डयन व्यवसायी लाक्पा सोनाम शेर्पाले कान्छाको निधनसँगै यो पृथ्वीकै एक महत्त्वपूर्ण घटनाको जीवित साक्षीको बिदाइले विश्वभरको पर्यटन क्षेत्र स्तब्ध भएको बताए । ‘कान्छा विश्वभरको अल्पाइन समुदायका लागि प्रेरणाका स्रोत थिए । उनको निधनले विश्वभरिकै सबै आरोहीहरू स्तब्ध भएका छौं,’ शेर्पाले भने । कान्छा शेर्पाको निधनसँगै सगरमाथाको पहिलो आरोहण दलका सबै सदस्य अब इतिहासको पानामा रूपान्तरण भएका छन् । कान्छासँगै एक साहसिक युगको पनि बिदा भएको छ ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully