उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै भन्यो : भारी हिमपात हुने उच्च सम्भावना रहेकोले उच्च हिमाली पदमार्ग भएर यात्रा नगर्नू

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Chance of heavy snowfall and rain in high mountainous areas

What you should know

काठमाडौँ — सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका हिमाली र उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको  न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । 

विभागका अनुसार सोमबार राति(कात्तिक १०) देखि बुधबार बिहान(कात्तिक १२) गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ र बाँकी प्रदेशका हिमाली क्षेत्रमा  हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की र पर्वतका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै डोल्पामा पनि हिमपात र वर्षाको सम्भावना रहेको छ ।

हिउँ र पानी पर्ने सम्भावना रहेकाले घुम्न जाने पर्यटकलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पछिल्लो समय मनाङ, मुस्ताङ, डोल्पालगायतका हिमाली जिल्लामा पर्यटकको घुइँचो लागेको छ ।

मौसमी बदलीका कारण अप्ठ्यारो परिस्थिति नआओस् भनेर मुस्ताङ जिल्ला प्रशासन कार्यालयले पनि सोमबार साँझ सूचना प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उच्च हिमाली क्षेत्र (मुस्ताङ जिल्लाको मुस्ताङ-डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ-मनाङ थोरङला पास ५४५० मिटर, मुस्ताङ-मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ-म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक) लगायतका क्षेत्रमा हल्कादेखि भारी हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्न/नगराउन आग्रह गरेको छ ।

त्यस्तै मुस्ताङको अन्य भागमा समेत हिमपात र वर्षाको सम्भावना रहेकोले पर्यटक/तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी आवश्यक जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । 

Chance of heavy snowfall and rain in high mountainous areas

कान्तिपुर

Link copied successfully