धेरै पर्यटकहरु यात्रा छोट्याउँदै हिमपातकै समय तल्लो क्षेत्र झरेका छन् ।
What you should know
लमजुङ — तिलिचो ताल (४९१९ मि.) घुम्न हिँडेकाहरु हिमपातका कारण तिलिचो बेस क्याम्पबाटै फर्किन थालेका छन् । मौसममा आएको खराबीका कारण मनाङका विभिन्न ठाउँबाट पर्यटकहरु तल्लो क्षेत्र झर्न थालेका छन् ।
धेरै पर्यटकहरु यात्रा छोट्याउँदै हिमपातकै समय तल्लो क्षेत्र झरेका छन् । बेंसीसहरबाट तिलिचो घुम्न गएका कृष्ण लामिछानेले धेरैजसो तिलिचो पुग्न नसकी बेसक्याम्पबाट फर्किएको बताए । ‘व्यवसायीले १ हजार जना फर्किए भनेका छन् । ८ सयदेखि ९ सय जनाजति फर्किए होलान्,’ उनले भने ।
फर्किएकामध्ये सबैजना तिलिचो पुग्न नसकेर फर्किएका भने होइन । मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका वडाअध्यक्ष च्योल्पा गुरुङले तिलिचो बेसक्याम्पबाट ८ सय हाराहारीमा पर्यटक फर्किएको बताए । खाङसार तिलिचोतर्फको सवैभन्दा माथिल्लो गाउँ हो ।
‘हिजो साँझैदेखि हिउँ पर्यो । आज माथि कोही जान सकेन । हामीले पनि नजानु भन्यौं । बेसक्याम्पबाट मात्रै ८ सयभन्दा बढी झरेका छन् । धेरै त खाङसार आएर पनि तल झरिसके,’ उनले भने, ‘हिजो यहाँ बस्न आएकाहरु यहीँ छन् । केही भर्न थालेका छन् ।’
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले खाङसारसम्मको बाटो खुलाउने प्रयास भइरहेको बताए । उनका अनुसार माथिल्लो मनाङमा एउटा र हुम्डेदेखि सदरमुकाम चामेतर्फ एउटा डोजर प्रयोग गरेर सडकको हिउँ हटाउन थालिएको बताए ।
उनले हिउँ हटाउने कार्यका लागि जिल्ला सुरक्षा समितिको टिम नै खटिएको बताए । उनका अनुसार सडक खुलाउन जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि पौडेल, सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्मका प्रमुख डीएसपी ध्रुव रेग्मी, नेपाली सेनाको नयाँ भैरवी दल गुल्मका मेजर अनिल थापासहित सुरक्षाकर्मीहरु माथिल्लो मनाङमा सडक खुलाउन लागेको बताए । सडक खुलाउन सावेल र बेल्चासहित सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । केही ठाउँमा मोटरसाइकल गुड्न थालेको उनले बताए ।
‘हामी सडक खुलाउँदैछौं । पर्यटकहरु फर्किरहेका छन् । सुरक्षित हुन आग्रह गरेका छौं,’ उनले भने । एक जना बिरामीलाई उद्धार गरेर हुम्डे स्वास्थ्य चौकीमा राखेर उपचार गराइरहेको उनले बताए । ‘हामीले हाम्रो ४ वटा गाडी ल्याएका छौं । अप्ठ्यारोमा परेकाहरुलाई यही गाडीमा राखेर उद्धार गर्छौं,’ उनले भने, ‘अप्ठ्यारोमा परेका पर्यटकलाई हामी उद्धार गर्छौं । बस्न चाहने पर्यटकलाई मिलाएर राख्न होटल व्यवसायीलाई आग्रह गरेका छौं ।’
उनका अनुसार तिलिचो बेसक्याम्पबाट ८ सयदेखि ९ सयको हाराहारीमा पर्यटक फर्किएका छन् । फर्किएकामध्ये धेरैजसो स्वदेशी पर्यटक रहेका छन् । ‘फर्किएका तिलिचो पुगेर झरेका र जान नसकेकाहरु छन् । विदेशी पर्यटक भने आफू बसेकै होटलमा रोकिएका छन्,’ उनले भने ।
