उच्च हिमाली क्षेत्रकाे यात्रामा सतर्क रहन पर्यटन बोर्डकाे आग्रह

ट्रेकिङ मार्गमा रहेका पर्यटकहरूले मौसम सुधार नहुँदासम्म सुरक्षित आश्रयस्थलमा बस्न र प्रभावित क्षेत्रमा रहेका होमस्टे, होटल र रिसोर्ट सञ्चालकहरूले पाहुनाको सुरक्षाको ख्याल राख्दै आवश्यक आश्रय र सहुलियत उचित मूल्यमा उपलब्ध गराउन पर्यटन बोर्डले अनुरोध गरेको छ ।

कार्तिक ११, २०८२

सुरज कुँवर

Tourism Board urges caution when traveling to high Himalayan regions

What you should know

काठमाडौँ — नेपाल पर्यटन बोर्डले आगामी केही दिन उच्च हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने पर्वतारोहण, ट्रेकिङ टोली तथा घरेलु र अन्तर्राष्ट्रिय पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा असर पारिरहेको छ । यसका कारण देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ ।

 

हिमपातबाट विशेषगरी गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेश रहेका छन् । कात्तिक १० र १२ को बीचमा यी प्रदेशका केही उच्च हिमाली क्षेत्र र पहाडी भागमा भारी वर्षा र हिमपात हुने अनुमान गरिएको छ। 

 

बोर्डले पर्वतारोहण र ट्रेकिङ समूहहरूले स्थानीय प्रशासन र गाइडसँग समन्वय गरी सुरक्षालाई प्राथमिकतामा राख्न अनुराेध गरेकाे छ । त्यस्तै ट्रेकिङ मार्गमा रहेका पर्यटकहरूले मौसम सुधार नहुँदासम्म सुरक्षित आश्रयस्थलमा बस्न र कुनै कठिनाइ भएमा तुरुन्त स्थानीय प्रशासन वा पर्यटक प्रहरीलाई सम्पर्क गर्न भनेको छ ।

 

प्रभावित क्षेत्रमा रहेका होमस्टे, होटल र रिसोर्ट सञ्चालकहरूले पाहुनाको सुरक्षाको ख्याल राख्दै आवश्यक आश्रय र सहुलियत उचित मूल्यमा उपलब्ध गराउन बोर्डले अनुरोध गरेको छ ।

 

गण्डकी प्रदेश र अन्य सम्बन्धित संघ-संगठनहरूले पर्यटकको सुरक्षाका लागि समन्वय र जानकारी प्रवाहमा सहयोग गर्न बोर्डको आग्रह छ । साथै, खराब मौसम र सुरक्षाको दृष्टिले अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ मार्ग अस्थायी रूपमा शुक्रबार साँझसम्म बन्द रहने बोर्डले भनेको छ ।

 

बोर्डले सबै भ्रमणकर्ता र पर्यटन क्षेत्रका सरोकारवालालाई सुरक्षालाई प्राथमिकता दिन र जल तथा मौसम विज्ञान विभागकाे आधिकारिक जानकारीलाई नियमित रूपमा अनुगमन गर्न अनुरोध गरेको छ।

 

सम्बन्धित समाचारहरु 

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

उत्तरी गोरखामा हिमपात, मनास्लु पदयात्रामा रहेकालाई सचेत रहन आग्रह

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

भारी हिमपातपछि मनाङमा पदयात्रा र हिमाल आरोहणमा रोक

 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully