गोरखाको उत्तरी क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ ।
गोरखा — मनास्लु क्षेत्रमा पदयात्रामा रहेका पर्यटकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न तथा मौसम सुधार नभएसम्म पदयात्रामा नजान प्रशासनले सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको हो ।
गोरखाको उत्तरी क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ । सामागाउँ, ल्हो, छेकम्पारलगायतका क्षेत्रमा हिमपात भएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘हिजो राति ११ बजेबाट हिउँ पर्न सुरु भएको हो, अहिले पनि हिउँ परिरहेको छ,’ उनले भने ।
उत्तरी क्षेत्रमा हिमपात हुँदा मनास्लु पदयात्रामा जाने पर्यटकको यात्रा प्रभावित बनेको छ । भ्रमणको सिजन रहेकाले अहिले दैनिक १५० भन्दा बढी पर्यटक सो क्षेत्रमा जाने गरेका छन् । ‘कात्तिक १० गते मात्र १९८ पर्यटक मनास्लु क्षेत्रमा आएको रेकर्ड छ, अहिले मनास्लु घुम्ने सिजन नै हो,’ मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख सन्तोष शेरचनले भने, ‘हिजो रातिदेखि हिमपात भए पनि पर्यटक समस्यामा परेको जानकारी आएको छैन, हामीले धर्मशालासम्मकै क्षेत्रमा पर्यटकलाई कुनै समस्या परेको नपरेको बुझिरहेका पनि छौं ।’
उत्तरी क्षेत्रमा हिमपात सुरु भएसँगै जनजीवन भने प्रभावित बनेको छ । हिमपात भएसँगै जाडो बढेको छ ।
