भारी हिमपातपछि मनाङमा पदयात्रा र हिमाल आरोहणमा रोक

प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई आफू रहेको स्थानमा सुरक्षित रहन र नयाँ यात्रा वा आरोहणका लागि ननिस्किन आग्रह समेत गरेको छ ।

कार्तिक ११, २०८२

आश गुरुङ

Trekking and mountain climbing banned in Manang after heavy snowfall

What you should know

लमजुङ — मनाङमा निरन्तर वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालयले पदयात्रा र हिमाल आरोहणमा तत्कालका लागि रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले मंगलबार एक सूचना जारी गर्दै हालको मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्र वा मनाङ हुँदै गरिने सबै प्रकारका पदयात्रा तथा आरोहण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्धारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले कात्तिक १० गते जारी गरेको विशेष बुलेटिनअनुसार कात्तिक १० गते रातिदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ ।

Trekking and mountain climbing banned in Manang after heavy snowfall‘हिमाली भू–भागमा वर्षा तथा भारी हिमपातको प्रक्षेपण अनुरुप यस जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारी हिमपात भइरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्लामा वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउनुहुन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाहृय पर्यटकहरुमा हार्दिक अनुरोध गर्दछ’ प्रशासन कार्यालयद्धारा जारी सूचनामा भनिएको छ ।

प्रशासनले जिल्लाभित्र रहेका सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई आफू रहेको स्थानमा सुरक्षित रहन र नयाँ यात्रा वा आरोहणका लागि ननिस्किन आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी पौड्यालले हालको मौसम अवस्था अत्यन्तै जोखिमपूर्ण भएकाले पर्यटक तथा स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरिएको बताए ।

Trekking and mountain climbing banned in Manang after heavy snowfallयस्तै, माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिकाले गाउँपालिकाभित्र भारी हिमपात भइरहेको भन्दै पदयात्रा नगर्न र नगराउन अनुरोध गरेको छ । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीद्वारा जारी सूचनामा पदयात्रामा रहेकाहरू सबै आफ्नो ठाउँमा बस्न र सुरक्षित रहन अनुरोध गरिएको छ ।

मनाङमा चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल (४,९१९ मि.), थोराङ्ला (५,४१६ मि.) पास, हिमलुङ हिमाल (७,१२६ मि.) आरोहणका लागि पर्यटक रहेका छन् । मनाङमा यो समय आन्तरिक तथा बाह्य गरी करिब ३ हजारको संख्यामा पर्यटक रहेको अनुमान गरिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully