दसैंका लागि काठमाडौँ छाडेका ३ लाख मानिस फर्कन बाँकी

गत ६ गते असोजदेखि आज बिहानसम्म विभिन्न नाकाबाट ७ लाखभन्दा बढी मानिसले काठमाडौँ छाडेका थिए ।

आश्विन १८, २०८२

विवेक पोख्रेल

3 lakh people who left Kathmandu for Dasain are yet to return

What you should know

काठमाडौँ — घटस्थापनादेखि विभिन्न नाकाबाट काठमाडौँ छाडेका ३ लाख मानिस फर्कन बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत ६ गते असोजदेखि आज बिहानसम्म विभिन्न नाकाबाट ७ लाखभन्दा बढी मानिसले काठमाडौँ छाडेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असोज ६ गतेदेखि आज बिहानसम्म १३ दिनको अवधिमा १ लाख ३१ हजार ३ सय ६२ वटा सवारीसाधनमार्फत ७ लाख १ सय २९ जना यात्रुले काठमाडौँ छोडेका हुन् ।

विभिन्न पेसा र व्यवसायका लागि काठमाडौँ आएकाहरू दसैं मनाउन घर फर्किँदा उपत्यका सुनसान जस्तै बनेको छ । सुवेदीका अनुसार सोही अवधिमा ८६ हजार ८ सय ८० वटा सवारीसाधनमार्फत ३ लाख ५१ हजार ६ सय ३३ जना काठमाडौँ भित्रिएका छन् ।

असोज १७ गते बिहान ६ देखि आज बिहान ६ बजेसम्म मात्र २ हजार ४ सय ९६ वटा सवारीसाधनमा ११ हजार ९ सय ५५ जना काठमाडौँ भित्रिएका छन्, जुन सङ्ख्या बढ्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

बस तथा निजी सवारीसाधनमार्फत काठमाडौँ बाहिरिने र भित्रिने क्रम चलिरहेको अवस्थामा सरकारले नै सूचना प्रकाशित गर्दै सम्भावित वर्षा र त्यसबाट हुन सक्ने विपद्‌बाट जोगिन आग्रह गरेको थियो ।

असोज १८ देखि २० गतेसम्म अत्यावश्यक नभई सकेसम्म लामो दूरीको यात्रा नगर्न र काठमाडौँ भित्रने–बाहिरिने यात्रुहरूले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले यसअघि नै सूचना जारी गरेको थियो ।

यद्यपि अहिले काठमाडौँ भित्रिने सबै राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् र सवारी सञ्चालन ठप्प छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानका सम्भावित जोखिमका कारण सोमबारसम्म सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको जनाएको छ ।

लामो दूरीका तथा काठमाडौँ उपत्यका भित्रने–बाहिरिने सवारीसाधनको आवागमन आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । सरकारले असोज १८, १९ र २० गते सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

वर्षाकाे विपत्ति

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully