जल तथा मौसम विज्ञान विभागले १७ देखि २० भदौसम्म मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरेको थियो । अहिले देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ ।
काठमाडौँ — अविरल वर्षाका कारण आइपर्नसक्ने विपद्लाई लक्षित गरेर सरकारले उद्धारका लागि सैनिक हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ अवस्थामा राखेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्यले नेपाली सेनासहित चारवटै सुरक्षा संयन्त्रलाई विपद् प्रतिकार्यका लागि परिचालित गरिएको बताए ।
‘उद्धारका लागि हेलिकोप्टर स्ट्याण्ड बाई राख्नेदेखि आवश्यक तयारीका सबै काम गरिएका छन्,’ उनले भने, ‘टीकाको दिनदेखि नै मन्त्रालयले विपद् पूर्वतयारीका लागि आवश्यक निर्देशन दिने लगायतका काम थालिसकेको थियो ।’
जल तथा मौसम विज्ञान विभागले १७ देखि २० भदौसम्म मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरेको थियो । अहिले देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ ।
यस्तोमा आवश्यकता अनुसार परिचालित हुने गरी सैनिक हेलिकोप्टरलाई तैनाथ राखिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले कान्तिपुरलाई बताए ।
‘आवश्यकता अनुसार कुनै पनि बेला परिचालन गर्न सक्नेगरी हवाई मार्गमा हेलिकोप्टर र स्थलमार्गमा समेत सवारी साधन र मद्दत टोलीहरु तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘सम्भावित जोखिमयुक्त क्षेत्रमा समेत सेनाको टोली परिचालित भइसकेको छ ।’
सेनाको हवाई उद्दार टोली सुर्खेत, काठमाडौं र इटहरीमा ‘स्ट्याण्ड बाई’ छ । सम्भावित क्षति हुने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले समेत माइकिङ गरिरहेको छ । कतिपयलाई सुरक्षित स्थानमा सार्ने प्रयास समेत भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
