तुइनखोलामा ढुंगा खस्न थालेपछि नारायणगढ-मुग्लिन सडक पनि बन्द, चितवनका १४ ठाउँमा रोकिएका छन् गाडी 

पानी पर्न नरोकिएको र ढुंगा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको छ ।

आश्विन १८, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road was also closed after stones started falling in Tuinkhola, vehicles were stopped at 14 places in Chitwan.

चितवन — चितवन-नारायणगढ मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्र तुइनखोलामा ढुंगा झर्न सुरु भएपछि शनिबार दिउँसो एक बजेपछि त्यो बाटो हुँदै गाडी चलाउन पूर्णरूपमा रोक लागेको छ । 

यसअघि सो सडक हुँदै काठमाडौँ जाने गाडीलाई रोके पनि पोखरा आउजाउ गर्ने गाडीहरू चलेका थिए । पानी पर्न नरोकिएको र ढुंगा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

त्यसैगरी मुग्लिनदेखि पूर्व पृथ्वी राजमार्गको कुरिनटार र फिस्लिङको बीचमा पनि पहिरो गएका कारण बाटो अवरुद्ध भएको उनले बताए । पृथ्वी राजमार्गको धादिङ जवाङ खोलानजिक शनिबार बिहानै गएको पहिरोले बाटो अवरुद्ध थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयले यात्रा जारी राख्न जोखिम भएका कारण जिल्लाका विभिन्न १४  ठाउँमा गाडीहरू सुरक्षित तरिकाले रोकेको जानकारी दिएको छ ।

मुग्लिन तर्फ फिस्लिङ, कुरिनटार, मुग्लिनसहित जुगेडी, रामनगर र भरतपुर तर्फ आँपटारी, बाइपास रोड,पोखरा बसपार्क, भरतपुरको केन्द्रीय बसपार्क, गोन्द्राङ र टीकौली पूर्व रत्ननगर टाँडी, पर्सा, भण्डराको डढुवा र चितवन मकवानपुर सिमाना लोथर बजारमा गाडीहरू सुरक्षित स्थानमा रोकेको चितवन प्रहरीले जनाएको छ ।

एसपी गोविन्द पुरीले सडकमा यात्रु बसहरू खासै नरहेको, धेरै जसो फर्काइएको र ट्रक, ग्याँस बुलेटहरू भने बाटोमा रहेको बताए । चितवन प्रहरीले नदी तटीय क्षेत्रमा नजान माइकिङसमेत गरेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully