सडकका विभिन्न खण्डमा आवागमन बन्द भएपछि सवारी चालक र यात्रुलाई सुरक्षित स्थानमा बस्न तथा सवारीसाधन त्यहीँ राख्न नाकाहरूमा सूचना जारी गरिएको छ ।
काठमाडौँ — अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडकखण्ड तत्काल नखुल्ने भएपछि प्रहरीले यात्रु र सवारी चालकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सडकका विभिन्न खण्डमा आवागमन बन्द भएपछि सवारी चालक र यात्रुलाई सुरक्षित स्थानमा बस्न तथा सवारीसाधन त्यहीँ राख्न नाकाहरूमा सूचना जारी गरिएको समेत कान्तिपुरलाई जानकारी दिए।
‘तत्काल सडक खोल्ने अवस्था नभएकाले यात्रु र चालकलाई सुरक्षित रहन आग्रह गरिएको हो,’ उनले भने, ‘मौसम सामान्य भएसँगै यातायात सहज हुने अपेक्षा छ।’
सुवेदीले यात्रु र सवारी चालकलाई मौसम तथा सडकको अवस्थाबारे सचेत रहन अनुरोध समेत गरेका छन्। वर्षापछि काठमाडौं जोड्ने सबै सडक अहिले बन्द छन्।
