अहिले खुम्बु क्षेत्रमा २ हजार ५ सय बढी पर्यटक पुगेकाे बताइएको छ
(सोलुखुम्बु) — असोज महिनामै सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बुमा भारी हिमपात भएको छ । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकास्थित लोबुचे र सोभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै मौसममा अचानक आएको बदलावले खुम्बु क्षेत्रमा बेमौसमी हिमपात भएको हो । अहिले जिल्लाको तल्लो क्षेत्रमा भीषण वर्षा भइरहेको छ भने माथिल्लो क्षेत्रमा बिहानैदेखि हिउँ परिरहेको छ ।
पाङबोचे र सोभन्दा माथिको क्षेत्रमा हिउँ पर्दा पर्यटकहरु पदयात्रा रोकेर होटलमै बसिरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनका अनुसार अहिले खुम्बु क्षेत्रमा २ हजार ५ सय बढी पर्यटक पुगेका छन् । जस मध्ये नाम्चेका होटलमा मात्रै ८ पर्यटक बसिरहेका छन् । धेरै पर्यटक तेङबोचे गाउँमा बसिरहेको बताइएको छ ।
खुम्बु क्षेत्रमा पर्यटकको सूचना र सुरक्षाका लागि प्रहरीले गस्ति गरिरहेको प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार पर्यटकहरुलाई सुरक्षित रुपमा होटलमा बस्न सूचना जारी गरिएको छ । मौसम खराब भएसँगै अहिले हवाइमार्ग र सडक मार्गबाट पर्यटक सगरमाथा क्षेत्र भित्रिन सकेका छैनन् ।
