पर्साको वीरगञ्जमा २४ घण्टामा सबैभन्दा धेरै १८२ मिलिमिटर वर्षा मापन भएको छ ।
What you should know
काठमाडौँ — चार वटा वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ । पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको हो ।
यी केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
पर्साको वीरगञ्जमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जको जलमापन केन्द्रमा पछिल्लो २४ घण्टामा १८२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाराको कलैयामा १७६ मिमि, रौतहटको गौरमा १६२ र महेशपुरमा १४४ मिमि वर्षा रेकर्ड भएको छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेश प्रभावित हुने देखिएको छ । विशेषगरी मधेशका पर्सा, सर्लाही, रौतहट, बारा जिल्लामा अति भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बताए । मधेश प्रदेश हुँदै यो विस्तारै कोशी प्रदेशतर्फ पनि बढ्दै गएको उनको भनाइ छ ।
यस्तै, काठमाडौंस्थित बागमती जलाधारका जलमपान केन्द्र र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रको सतह बढ्दो क्रममा रहेको छ । आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपास नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
शुक्रबारदेखिको वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । दसैं चहलपहलका बेला एकैसाथ वर्षा भएपछि लामो दुरीका यात्रु बढी प्रभावित भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि सोमबारसम्म नै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेको थियो ।
