नाकामा दसैँमा घर फर्किनेको उत्साह

दसैंमा घर फर्किनेहरू गहुँ छरेपछि पुनः अल्मोडातिर लाग्ने र चैतमा गहुँ भित्राउन र नयाँ वर्षमा बिसु पर्वका लागि घर फर्किन्छन्।

आश्विन १२, २०८२

भवानी भट्ट

The excitement of returning home on Dussehra at Nakama

कञ्चनपुर — अछामको रामारोशन गाउँपालिका–५ का बलहादुर साउद गड्डाचौकी नाकामा निकै हतारमा थिए । भारत उत्तराखण्डको अल्मोडाबाट आएका उनी दसैं मनाउन घर फर्किरहेका हुन् । बिहानको अछाम जाने बस छुटिरहेकाले उनी हतारमा रहेछन् । गड्डाचौकी नाकाबाट महेन्द्रनगर पुगेर बस भेट्नका लाागि उनी साथीभाइलाई जम्मा गरिरहेका थिए । 

‘दसैं मान्न घर फर्किरहेका छौं, दुई/चार महिना मजदुरी गरेर दसैं खर्च जुटाएर घर फर्किएका हौं,’ साउदले भने, ‘गाउँमा दसैंको चहलपहल छ, घरबाट पनि चाँडो आउन खबर गरिरहेका छन् ।’

उनी चार महिनाअघि भारत उत्तराखण्डको बागेश्वरमा ज्याला मजदुरीका लागि गएका थिए । उनीसँगै गएका रामारोशनका अन्य २१ जना पनि घर फर्किएका छन् । साउद मजदुरीका लागि अल्मोडातिर जान लागेको पाँच/छ वर्ष भइसक्यो । त्यसअघि उनी दिल्ली, मुम्बईलगायत विभिन्न ठाउँमा पुगिसकेका छन् । केही वर्षयता नियमित रूपमा अल्मोडा जान लागेका हुन् । उनका अनुसार सडक निर्माण, घर निर्माणलगायत विभिन्न किसिमका काममा ज्यालादारी पाइन्छ । त्यसकै लागि उनी नियमित रूपमा जाने गरेका हुन् । 

The excitement of returning home on Dussehra at Nakama

असारमा रोपाइँ सकेपछि गाउँका साथीभाइसँगै बागेश्वर पस्ने उनको वार्षिक तालिका नै बनिसकेको छ । यहाँका स्थानीय दसैंमा घर फर्किने र गहुँ छरेर पुनः अल्मोडातिर लाग्ने, त्यसपछि चैतमा गहुँ भित्र्याउन र नयाँ वर्ष बिसु पर्वका लागि घर फर्किन्छन् । ‘सानोतिनो घर खर्च जुटाउन पनि भारत नगई सुखै छैन,’ साउदले भने, ‘दुई/चार महिना काम गर्‍यो, अनि घर फर्कियो । घरमा खेतीपातीको काम सकेपछि फेरि मजदुरी गर्न उतै जाने गर्छौं ।’

केही दिनयता सीमा नाकामा दसैंका लागि घर फर्किने नेपालीको भीडभाड बढेको छ । भारतका विभिन्न ठाउँबाट नेपालीहरू घर फर्किरहेका छन् । पिठ्युँमा भारी बोक्दै कतिपय नाकामा पैदलै हिँडेर आउँछन् भने कतिपय गाडीमा आइरहेका छन् । ‘घरपरिवारसँगै दसैं मनाउन आएका हौं,’ बागेश्वरबाट घर फर्किन लागेका सुर्खेतका दिवस फौंजाले भने, ‘यो त हाम्रो परम्परा जस्तै हो, दसैंमा सधैं घर फर्किन्छौं ।’ उनी पनि बागेश्वरमा विभिन्न किसिमका निर्माण कार्यमा ज्याला मजदुरी गर्छन् । उनका भाइ चित्रबहादुरसहितको परिवार बागेश्वरमै काम गर्छ । अहिले दसैंका लागि सबै सँगै फर्किएका हुन् । 

The excitement of returning home on Dussehra at Nakama

नवरात्रि सुरु भएपछि घर फर्किनेको चाप नाकामा अझै बढेको छ । केही दिनयता भारतबाट गड्डाचौकी नाका भएर दैनिक एक हजार हाराहारी नेपाली कामदारहरू फर्किरहेका छन् । असार/साउनमा रोपाइँ सकेर रोजगारीका लागि उत्तराखण्ड र हिमाञ्चलतिर प्रवेश गर्दा पनि यस्तै भीडभाड देखिन्थ्यो । अहिले फर्किनेमा पनि तिनै बढी छन् । नाकामा भारतबाट घर फर्किनेको चाप बढेसँगै दसैं लागेको आभास गराउँछ । 

नाकामा घर फर्किनेका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तर यात्रुहरू भने नेपाल र भारत दुवैतर्फका यातायात व्यवसायीबाट ठगिने गरेका छन् । बढी भाडा लिने, सानोतिनो सामानको पनि भाडा लिने तथा बीच बाटोमा छाड्ने लगायतका दुःख दिने सवारी यातायातको नियतबाट भने देश फर्किरहेकाहरू आजित छन् । गड्डाचौकीदेखि महेन्द्रनगरसम्मको भाडा ५० रुपैयाँ भए पनि अटो व्यवसायीहरूले सय/दुई सय र चार/पाँच सयसम्म लिने गरेको पाइन्छ । सुरक्षाकर्मीकै अगाडि खुलेआम यात्रुहरू दोब्बर भाडा तिर्न बाध्य भएका छन् । 

दसैं रौनक

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully