प्लास्टिकका सामग्रीले वातावरणमा असर पुर्याउने भएकाले स्थानीय किसानले उत्पादन गरेका फूलको बजार व्यवस्था दुई पालिकाले आग्रह गरेका छन् ।
सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका र कुमाख गाउँपालिकाले दसैंतिहारको समयमा प्लास्टिकजन्य फूलमाला बिक्री गर्न रोक लगाएका छन् । प्लास्टिकका सामग्रीले वातावरणमा असर पुर्याउने भएकाले स्थानीय किसानले उत्पादन गरेका फूलको बजार व्यवस्था दुई पालिकाले आग्रह गरेका छन् ।
वातावरण संरक्षण र स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिन चाडपर्वमा प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । उनले पालिकाभित्र पटकाजन्य वस्तुसमेत उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराए ।
उनका अनुसार नेपाल सरकारको वातावरण संरक्षण ऐन २०७६ को दफा (१५) १ ले दिएको कानुनी अधिकारबमोजिम कार्यपालिकाको बैठकबाट प्लास्टिकजन्य माला बिक्री वितरण तथा पटकाजन्य वस्तु उत्पादन र बिक्रीमा रोक लगाइएको हो ।
कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले स्थानीय स्तरमा किसानले बिक्रीका लागि उत्पादन गरेका फूललाई प्राथमिकता दिन प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाइएको बताए । स्थानीयस्तरमा किसानले उत्पादन गरेका फूल किन्दा आयस्तरमा वृद्धि हुने र पैसा बाहिर नजाने उनको भनाइ छ ।
