भारतका होटल, निर्माण साइट, सुरक्षा गार्डदेखि मजदुरीसम्मका काममा संलग्न अछामीहरू दसैं सुरु हुनु केही साताअघि नै गाउँ फर्किन थाल्छन् ।
अछाम — अछामका प्रायः गाउँका चौतारामा सुनिने आवाज एउटै हुन्छ ‘यो वर्ष दसैंमा छोरा आउँछ कि आउँदैन ?’ यो प्रश्नसँगै अछामी आमाबुबा र परिवारका सदस्यमा रोजगारीका लागि भारत गएका आफन्त फर्कने प्रतीक्षा सुरु हुन्छ । भारततिर पसिना बगाउन गएकाहरू दसैं नजिकिँदै गर्दा घर फर्किन थालेपछि गाउँमा बल्ल चहलपहल सुरु हुन्छ ।
अछामका युवाको रोजगारीको मुख्य थलो भारत हो । दिल्ली, मुम्बई, लखनउ, देहरादुन, चण्डीगढदेखि सिमला, दार्जिलिङ र सिलीगुडीसम्म अछामका युवा विभिन्न काममा संलग्न छन् ।
कोही ठूला भवन, सडक र पुल निर्माणमा दिनभर पसिना बगाउँछन् भने, कोही होटल रेस्टुराँमा भाँडा माझ्ने, खाना पकाउने वा वेटरको रूपमा काम गर्छन् । सहरी क्षेत्रका पसल, अपार्टमेन्ट र अफिस भवनमा सुरक्षा गार्डको ड्रेसमा उभिएका धेरै नेपाली नै हुन्छन् । यस्तै हिमाचल, हरियाणा र पन्जाबका खेतबारीमा धान, गहुँदेखि तरकारी उत्पादनसम्मको काम गर्ने कृषि श्रमिकमा पनि अछामीहरूको उपस्थिति अनिवार्यझैँ छ ।
यी काम सजिलो छैनन् । बिहानदेखि बेलुकासम्म घाममा पसिना बगाउनु, न्यून तलबमा कठोर श्रम गर्नु उनीहरूको बाध्यता हो । तर यही पसिनाले दसैं–तिहार जस्ता चाडबाडमा अछामका घर आँगन उज्यालो हुन्छन्, परिवारमा खुसी छर्छ । अछामका युवाको बढी उपस्थिति हिमाचल प्रदेशका सिमला र मनालीमा देखिन्छ, जहाँ उनीहरू निर्माण र होटल, रेस्टुराँमा काम गर्छन् । दिल्ली र हरियाणामा भने सुरक्षा गार्ड र निर्माण मजदुरीमा हुनेको संख्या उल्लेखनीय छ । मौसमी रूपमा खेतीपातीका लागि जाने अछामका युवाको ठूलो समूह पन्जाबमा पाइन्छ । त्यस्तै मुम्बई र बेग्लोंरमा सेवा क्षेत्र तथा साना काममा उनीहरूको उपस्थिति दिन प्रतिदिन बढ्दो छ ।
सिमलाको एक होटलमा काम गर्ने र अहिले दसैं मनाउन घर फर्केका कमलबजार नगरपालिका—३ का २६ वर्षीय युवराज विष्ट भन्छन्, ‘वर्षभरी भारतमा पसिना बगाए पनि दसैंमा घर फर्किदा त्यो दुःख सबै बिर्सन्छु ।’ युवराज जस्तै वर्षभरि भारतका सहर र गाउँमा पसिना बगाउने युवाहरू दसैं मनाउन घर फर्किरहेका छन् । खेतीपातीले मात्रै गुजारा नहुने अछामका अधिकांश परिवारका सदस्य वर्षभरि भारततिर रोजगारीमा जाने गर्छन् । तर पारिवारिक खुसी र सामाजिक मेलमिलापको प्रतीक मानिने दसैंलाई भने उनीहरूले कहिल्यै छुटाउँदैनन् ।
भारतका होटल, निर्माण साइट, सुरक्षा गार्डदेखि मजदुरीसम्मका काममा संलग्न अछामीहरू दसैं सुरु हुनु केही साताअघि नै गाउँ फर्किन थाल्छन् । घर फर्किने लहरसँगै बाटोघाटामा यात्रुको भीड बढेको छ । बजारमा खरिदबिक्रीको चाप बढेको छ र गाउँघरमा लामो समयपछि भेटिएका आफन्तबीच भलाकुसारी चलिरहेको छ । ‘वर्षभरि जति दुःख भए पनि दसैंमा घर नआई सुखै छैन,’ कमाइका लागि भारत गएका ढकारी गाउँपालिका—७ का भरत नेपाली भन्छन् ‘दसैं भनेको परिवारसँग भेट्ने, माया बाँड्ने र आशीर्वाद लिने बेला हो । घर आउने बहाना पनि त यही हो ।’
४० वर्षीय भरत कामको सिलसिलामा भारत गएका थिए । ७ वर्षपछि दसैं मनाउन घर फर्केका भरत १५ दिन बस्ने गरी आएका छन् । उनीसँगै उनको गाउँका ६० भन्दा बढी पुरुष गाउँ फर्केका छन् । अरू बेला महिला , बालबालिका , वृद्धवृद्धा मात्रै हुने गाउँमा अहिले पुरुषहरू भरिभराउ हुन थालेका छन् । सुनसान भएका गाउँमा यति बेला चहलपहल बढेको छ ।
‘एक महिना मात्रै काम नगरी बस्दा घर खर्च चलाउन मुस्किल हुन्छ । पहिलेका वर्षमा पनि आउन खोजेको हुँ । त्यो बेलामा पैसाको बन्दोबस्त मिलाउन सकिएन,’ उनले भने,‘धेरै वर्षपछि भारतमा बगाएको पसिनाले चाडबाड सजाउन पाइने भयो ।’
भारतमा पसिना बगाउने अछामीहरूको संख्या लाखौँमा पुग्छ भन्ने अनुमान गरिन्छ । तर, यी सबै दुःख र दूरीलाई भुलाउने एउटा समय भने भने चाडबाडको मौसम नै हो । दसैं नजिकिँदै गर्दा मंगलसेन, साँफेबगरदेखि बयलपाटा, कमलबजारदेखि पञ्चदेवल, मुजाबगरसम्मका बजारमा यात्रुको चहलपहल बढिरहेको छ । भारततिरबाट फर्किएका युवाको उपस्थितिले अछामका गाउँ यति बेला गुलजार बनेका छन् । बसपार्क, सडकमा यात्रुको भीडभाड र बजारमा गरिने किनमेलले उत्सवमय बनाएको छ । ‘छोराछोरी वर्षभरि टाढा हुन्छन्, दसैंमा फर्किदा घर आँगन रमाइलो हुन्छ,’ ढकारी—७ की ६० वर्षीया धनकला नेपाली भन्छिन्, ‘परदेश भएका छोराछोरी आएपछि मात्रै दसैं आए जस्तो हुन्छ ।’
