दसैं नजिकिएपछि सर्वसाधारणले भरिन थाले व्यापारिक केन्द्र

नाकामा सामान रोकिँदा निराश व्यवसायी, पुराना र नाका बन्द हुनुअघि ल्याइएका सामानले काम चलाइँदै

आश्विन ७, २०८२

राजु चौधरी

As Dasain approached, the commercial center began to be filled with people

काठमाडौँ — केही दिनयता न्युरोड, असन, महाबौद्धलगायत व्यापारिक केन्द्रमा हिँड्न मुस्किल पर्न थालेको छ । बिहानैदेखि पसलमा सर्वसाधारणको बाक्लो भीड बढ्दो छ । किनकि, दसैं सुरु नै भइसकेको छ । केही दिनमा त दसैंको फूलपाती छ ।

अहिले व्यापारिक केन्द्रमा सर्वसाधारणसँगै व्यापारी पनि किनमेलमा व्यस्त छन् । होलसेल पसलबाट सामान किनेर खुद्रामा बिक्री गर्न पनि व्यापारी व्यापारिक केन्द्र आउने गरेका छन् । तर यही बेला बजारमा पर्याप्त सामान नहुँदा व्यापारी त्यति सन्तुष्ट छैनन् ।

‘चाडबाड आएसँगै बजारमा चहलपहल बढेको छ, पसलमा भीडभाड बढेको छ । सर्वसाधारणले दसैंलक्षित सामान किन्न थालेका छन्,’ हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने, ‘तर बजारमा सोचेअनुसार सामान आएको छैन । चाडबाडलक्षित सामान नाकामा रोकिएका छन् ।’

As Dasain approached, the commercial center began to be filled with peopleदसैं नजिकिएपछि तातोपानी र रसुवा नाका तत्काल सञ्चालनमा ल्याउन पहल भइराखेको पराजुलीले बताए । तातोपानी नाका खुल्ने सम्भावना रहे पनि रसुवा तत्काल सम्भावना नदेखिएको उनले जनाए । ‘नयाँ मन्त्रिमण्डललाई पनि जानकारी गराएका छौं, सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको आश्वासन पाए पनि रसुवा खुल्ने सम्भावना न्यून छ,’ पराजुलीले भने, ‘दसैंमा त्यति बिक्री नभए पनि दसैं र तिहारको बीचमा बिक्री हुने अनुमान गरेका छौं ।’

 व्यवसायी भन्छन्– चाडबाडमा चाहिने करिब ५० प्रतिशत सामान नाकामा रोकियो, चीनबाट नआउँदा स्वदेशी वस्तुको माग व्यापक छ तर कच्चा पदार्थ नहुँदा समस्या भयो व्यवसायी भन्छन्– ‘चाडबाडमा चाहिने करिब ५० प्रतिशत सामान नाकामा रोकियो, चीनबाट नआउँदा स्वदेशी वस्तुको माग व्यापक छ तर कच्चा पदार्थ नहुँदा समस्या भयो’

राष्ट्रिय व्यापार संघले पनि बजारमा दसैंको भीड बढेको जनाएको छ । ‘दसैं लागेपछि सर्वसाधारण किनमेलमा आएका छन् । तर सामान नहुँदा सोचेअनुसार व्यापार भएन,’ नाम उल्लेख गर्न नचाहने संघका एक व्यापारी भने, ‘केरुङ र तातोपानी नाका बन्द हुँदा केही ठूला व्यापारीले जहाजबाट सामान ल्याएका छन् । उनीहरूको व्यापार बढेको छ । तर साना व्यापारीको व्यापार भएन, कारण नयाँ लत्ताकपडा, सामान आएनन् ।’ सबै पसलमा भीड बढे पनि त्यसअनुसार व्यापार नभएको ती व्यापारी जनाए । ‘करिब ९० प्रतिशत साना व्यापारीलाई भाडा तिर्न समस्या छ । दसैंमा व्यापार हुने आशा थियो, तर सबै सामान नाकामा रोकियो,’ ती व्यापारीले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले दुई/चार दिनयता सन्तोषजनक व्यापार भएको जनाए । ‘दसैंका लागि एक सातासम्म व्यापार राम्रो हुन्छ । तर पहिरोका कारण सामान नाकामा रोकिएको अवस्था छ । चीनबाट सामान नआउँदा नेपाली उत्पादनले राम्रो व्यापार पाएको छ,’ कटुवालले भने, ‘नेपाली सामानको व्यापार राम्रो हुँदाहुँदै कच्चा पदार्थ अभावले समस्या बनायो ।’

स्वदेशी उत्पादन जुत्ता, चप्पल, ब्याग र टिसर्टको माग राम्रो भएको महासंघले जनाएको छ । तर स्वदेशी कच्चा पदार्थ पर्याप्त नहुँदा स्वदेशी उद्योगी समस्या भोगेको महासंघको भनाइ छ । ‘फेन्सी सामानको धेरै माग छ । तर सामान उपलब्ध गराउन सकेनौं, कारण कच्चा पदार्थ सबै नाकामा रोकिएको छ,’ जुत्ता उत्पादक संघ नेपालका रुद्रप्रसाद न्यौपानेले भने । पछिल्लो समय स्वदेशी जुत्तामा देखिएको प्रतिस्पर्धाले बजार मूल्य घटेको उनको दाबी छ ।

As Dasain approached, the commercial center began to be filled with peopleराष्ट्रिय व्यापार संघका अध्यक्ष हेमलाल खरालले पनि बजारमा मुख्य समस्या सामानको उपलब्धता नै रहेको बताए । ‘बजारमा सामान अभाव त छैन, तर नयाँ सामान सबै नाकामा रोकिए । यसले सबै व्यवसायीलाई निराश पारेको छ,’ अध्यक्ष खरालले भने, ‘गत वर्षको तुलनामा करिब ५० प्रतिशत नयाँ सामान आउन सकेन ।’ तातोपानी र केरुङमा गरी करिब ५ सय चिनियाँ कन्टेनर रोकिएका छन् । कोलकाता, विशाखापट्टनम र जहाजबाट आएका केही सामानले बजार धानिरहेको संघले जनाएको छ ।

दसैंका लागि ल्याइएका सामान भन्सार नाकामा रोकिएपछि बजारभाउ महँगो हुने विश्लेषण गरिएको छ । तर व्यवसायी भने त्यस्तो नभएको दाबी गर्छन् । चीनका सामान पूर्वी नाकाबाट ल्याउँदा सामान्य मात्रै मूल्य बढेको उनीहरूको भनाइ छ ।

‘सामान नआएपछि मूल्य धेरै बढ्छ भन्ने थियो, तर त्यो भएन । कालोबजारी हुने गरी बजारभाउ बढेको छैन,’ हिमालय सीमापार वाणिज्य संघका महासचिव पराजुलीले भने, ‘गत वर्ष आएको र नाका बन्द हुनुअघि आएको सामानले माग धानेको छ, मूल्य बढ्न दिएको छैन ।’ संघका अध्यक्ष खरालले पनि यस पटक मूल्यवृद्धि नहुने दाबी गरे । ‘अहिले अभाव पनि छैन, मूल्य पनि बढेको छैन,’ उनले भने, ‘५/१० प्रतिशत मूल्यवृद्धि बढ्नु स्वाभाविकै हो ।’

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully