दसैं किनमेलले गुलजार बुटवल

बुटवलमा पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मिलन हुने भएकाले दसैंमा घर फर्किनेको ओहोरदोहोरले चलायमान बन्यो बजार

आश्विन ९, २०८२

सन्जु पौडेल

Gulzar Butwal by Dasain shopping

बुटवल — दसैं सुरु भएसँगै पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलमा उपभोग्य सामान र लत्ताकपडा किनमेल गर्नेको चहलपहल बढेको छ । बुटवलमा पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गको मिलन हुने भएकाले दसैंमा घर फर्किनेको ओहोरदोहोरले बजार गुलजार देखिएको छ ।

गुल्मी इस्मा गाउँपालिका–३ की सुशीला नेपाली मंगलबार बजारमा दसैंका लागि किनमेल गर्न व्यस्त थिइन् । बुटवल–११ मझुवामा अस्थायी बसोबास भएकी उनले आफू र बच्चाका लागि लुगा खरिद गर्न बजार आएको सुनाइन् । वर्ष दिनको चाडमा छोराछोरीले नयाँ लुगा लगाउन रहर गर्ने, आफूलाई पनि सपिङ गर्न मन पर्ने भएकाले किनमेल गर्न आएको उनको भनाइ छ । ‘अघिपछि धोइवरी लुगा लगाए पनि हुन्छ,’ उनले भनिन्, ‘चाडपर्वमा त नयाँ लुगा नभई छोराछोरीले मान्दैनन्, उनीहरूलाई निराश बनाउन मन लाग्दैन ।’ एकै पटक सबैलाई कपडा तथा अन्य सामग्री खरिद गर्दा धेरै खर्च भए पनि चाडबाडको बेला भनेर किन्ने गरेको उनले जनाइन् ।

श्रीमान्को सामान्य जागिर छ । त्यहीँबाट पैसा कमाएर शिक्षा, स्वास्थ्य र घरायसी खर्च टार्नुपर्छ । तर, चाडबाडमा आर्थिक अभाव भए पनि आवश्यकता पूरा गर्दै आएको उनले बताइन् । असोज १० सम्म पहाड घर गइसक्ने गरी किनमेलको काम सक्न लागेको नहिँड्ने उनको भनाइ छ । ‘पानी पर्‍यो भने बाटोघाटोको अवस्था राम्रो हुन्न,’ उनले भनिन्, ‘लगातार पानी परिरहे ज्यानभन्दा ठूलो त चाड हुँदैन ।’ 

मुलुकको अवस्था धेरै रमाइलो गर्ने खालको नभए पनि बुबाआमाको हातबाट टीका लगाउन भए पनि घर जाने उनले जनाइन् । अर्को वर्ष के हुन्छ भन्ने निश्चित नहुने भएकाले मिलेसम्म दसैंको टीका थाप्न पुर्ख्यौली घरमै जाने परम्परा रहेको सुनाइन् ।

पाल्पाको रिब्दीकोट–४ की रनमाया मगरले बुटवलमा तरकारी र सालको पात बिक्री गर्छिन् । घरमै फलेको कागती, खुर्सानी र पात बेचेर गुजारा चलाउने गरेको उनको भनाइ छ । ‘चाडबाड आयो भनेर खुसी लागेको त छ, तर व्यापार त्यति छैन,’ उनले भनिन्, ‘आफैँ टपरी गाँसेर बिक्री गर्ने भएकाले व्यापार ठिकै छ ।’ 

नवरात्रिमा पूजाआजाका लागि टपरीको माग हुने भएकाले टपरी धेरै अर्डर आउने गरेको उनले जनाइन् । बिहानै घरदेखि आउने र राति फर्कने गरेकी उनले व्यापारबाट दैनिक ५ हजार जति बचाउने गरेको बताइन् । बजारमा पोहोर जस्तो भीड आएको नदेखिए पनि दैनिक उपभोग्य वस्तु भएकाले आफ्नोमा व्यापार भएको उनको भनाइ छ ।

चाडपर्वका बेला मानिस नयाँ लुगा, भाँडाकुँडा र सवारीसाधन किनेर भित्र्याउँछन् । यति बेला सामान खरिद गर्दा शुभ हुने विश्वाससाथ खरिद गर्ने गरेको तिलोत्तमा–१ की भगवती सुवेदीले बताइन् । यस पटक उनले पुरानो स्कुटर साटेर नयाँ खरिद गरेकी छन् । ‘चाडबाडमा अफर पनि हुने, दिन हेराउन नपर्ने भएकाले घटस्थापनाका दिन किनेकी हुँ,’ उनले भनिन्, ‘दसैंका बेलामा प्रायःले साधन किन्छन्, मैले पनि यस वर्ष एक्सचेन्ज गरेँ ।’ यस पटक पुरानो स्कुटर दिएर ७० हजार रुपैयाँ थपेर अफरमा पाइएको उनले जनाइन् ।

चाडपर्वलाई लक्ष्य गरी रुपन्देहीका विभिन्न ठाउँमा कपडा पसल, सवारीसाधन र खाद्यान्नमा पनि सस्तो बजार सुरु भइसकेको छ । विशेष गरी लुगाका पसलमा मानिसको अधिकतम भीड बढ्दै गएको छ । प्रहरीले रुपन्देही हुँदै ओहोरदोहोर गर्नेलाई यात्रामा सघाउन नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वमा हुन सक्ने दुर्घटना, यात्रुले पाउने असुविधा, चोरी डकैती र लुटपाटका घटनालाई रोक्न भन्दै बुटवलको नयाँ बसपार्कमा नागरिक यात्रु सहायता कक्ष शुभारम्भ गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी बुटवल र पश्चिम नेपाल व्यवसायी प्रालिको सहकार्यमा बुटवल बसपार्कमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । यी निकायले दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक पोस्टरसमेत सार्वजनिक गरेका छन् ।

दुर्घटना न्यूनीकरणको कारण खोजी गर्ने र न्यूनीकरणमा जोड दिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माले बताए । चाडपर्वमा अधिकांश समयमा हुने गरेको दुर्घटनालाई बुझ्ने, सहायता दिने गरी स्थापना गरिएको भन्दै यसलाई प्रभावकारी बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने पश्चिम नेपाल व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलको भनाइ छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully