दसैं नजिकिएपछि सर्वसाधारणले भरिन थाले व्यापारिक केन्द्र

नाकामा सामान रोकिँदा निराश व्यवसायी, पुराना र नाका बन्द हुनुअघि ल्याइएका सामानले काम चलाइँदै, व्यवसायी भन्छन्– ‘चाडबाडमा चाहिने करिब ५० प्रतिशत सामान नाकामा रोकियो, चीनबाट नआउँदा स्वदेशी वस्तुको माग व्यापक छ तर कच्चा पदार्थ नहुँदा समस्या भयो’

आश्विन ८, २०८२

राजु चौधरी

As Dasain approached, the commercial center began to be filled with people

काठमाडौँ — केही दिनयता न्युरोड, असन, महाबौद्धलगायत व्यापारिक केन्द्रमा हिँड्न मुस्किल पर्न थालेको छ । बिहानैदेखि पसलमा सर्वसाधारणको बाक्लो भीड बढ्दो छ । किनकि, मुखमै आइसकेको छ, दसैं । एक सातामा दसैंको फूलपाती छ । अहिले व्यापारिक केन्द्रमा सर्वसाधारणसँगै व्यापारी पनि किनमेलमा व्यस्त छन् । होलसेल पसलबाट सामान किनेर खुद्रामा बिक्री गर्न पनि व्यापारी व्यापारिक केन्द्र आउने गरेका छन् । तर यही बेला बजारमा पर्याप्त सामान नहुँदा व्यापारी त्यति सन्तुष्ट छैनन् । 

‘चाडबाड आएसँगै बजारमा चहलपहल बढेको छ, पसलमा भीडभाड बढेको छ । सर्वसाधारणले दसैंलक्षित सामान किन्न थालेका छन्,’ हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले भने, ‘तर बजारमा सोचेअनुसार सामान आएको छैन । चाडबाडलक्षित सामान नाकामा रोकिएका छन् ।’ 

दसैं नजिकिएपछि तातोपानी र रसुवा नाका तत्काल सञ्चालनमा ल्याउन पहल भइराखेको पराजुलीले बताए । तातोपानी नाका खुल्ने सम्भावना रहे पनि रसुवा तत्काल सम्भावना नदेखिएको उनले जनाए । ‘नयाँ मन्त्रिमण्डललाई पनि जानकारी गराएका छौं, सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको आश्वासन पाए पनि रसुवा खुल्ने सम्भावना न्यून छ,’ पराजुलीले भने, ‘दसैंमा त्यति बिक्री नभए पनि दसैं र तिहारको बीचमा बिक्री हुने अनुमान गरेका छौं ।’ 

राष्ट्रिय व्यापार संघले पनि बजारमा दसैंको भीड बढेको जनाएको छ । ‘दसैं लागेपछि सर्वसाधारण किनमेलमा आएका छन् । तर सामान नहुँदा सोचेअनुसार व्यापार भएन,’ नाम उल्लेख गर्न नचाहने संघका एक व्यापारी भने, ‘केरुङ र तातोपानी नाका बन्द हुँदा केही ठूला व्यापारीले जहाजबाट सामान ल्याएका छन् । उनीहरूको व्यापार बढेको छ । तर साना व्यापारीको व्यापार भएन, कारण नयाँ लत्ताकपडा, सामान आएनन् ।’ सबै पसलमा भीड बढे पनि त्यसअनुसार व्यापार नभएको ती व्यापारी जनाए । ‘करिब ९० प्रतिशत साना व्यापारीलाई भाडा तिर्न समस्या छ । दसैंमा व्यापार हुने आशा थियो, तर सबै सामान नाकामा रोकियो,’ ती व्यापारीले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले दुई/चार दिनयता सन्तोषजनक व्यापार भएको जनाए । ‘दसैंका लागि एक सातासम्म व्यापार राम्रो हुन्छ । तर पहिरोका कारण सामान नाकामा रोकिएको अवस्था छ । चीनबाट सामान नआउँदा नेपाली उत्पादनले राम्रो व्यापार पाएको छ,’ कटुवालले भने, ‘नेपाली सामानको व्यापार राम्रो हुँदाहुँदै कच्चा पदार्थ अभावले समस्या बनायो ।’ 

स्वदेशी उत्पादन जुत्ता, चप्पल, ब्याग र टिसर्टको माग राम्रो भएको महासंघले जनाएको छ । तर स्वदेशी कच्चा पदार्थ पर्याप्त नहुँदा स्वदेशी उद्योगी समस्या भोगेको महासंघको भनाइ छ । ‘फेन्सी सामानको धेरै माग छ । तर सामान उपलब्ध गराउन सकेनौं, कारण कच्चा पदार्थ सबै नाकामा रोकिएको छ,’ जुत्ता उत्पादक संघ नेपालका रुद्रप्रसाद न्यौपानेले भने । पछिल्लो समय स्वदेशी जुत्तामा देखिएको प्रतिस्पर्धाले बजार मूल्य घटेको उनको दाबी छ । 

राष्ट्रिय व्यापार संघका अध्यक्ष हेमलाल खरालले पनि बजारमा मुख्य समस्या सामानको उपलब्धता नै रहेको बताए । ‘बजारमा सामान अभाव त छैन, तर नयाँ सामान सबै नाकामा रोकिए । यसले सबै व्यवसायीलाई निराश पारेको छ,’ अध्यक्ष खरालले भने, ‘गत वर्षको तुलनामा करिब ५० प्रतिशत नयाँ सामान आउन सकेन ।’ तातोपानी र केरुङमा गरी करिब ५ सय चिनियाँ कन्टेनर रोकिएका छन् । कोलकाता, विशाखापट्टनम र जहाजबाट आएका केही सामानले बजार धानिरहेको संघले जनाएको छ । 

दसैंका लागि ल्याइएका सामान भन्सार नाकामा रोकिएपछि बजारभाउ महँगो हुने विश्लेषण गरिएको छ । तर व्यवसायी भने त्यस्तो नभएको दाबी गर्छन् । चीनका सामान पूर्वी नाकाबाट ल्याउँदा सामान्य मात्रै मूल्य बढेको उनीहरूको भनाइ छ । 

‘सामान नआएपछि मूल्य धेरै बढ्छ भन्ने थियो, तर त्यो भएन । कालोबजारी हुने गरी बजारभाउ बढेको छैन,’ हिमालय सीमापार वाणिज्य संघका महासचिव पराजुलीले भने, ‘गत वर्ष आएको र नाका बन्द हुनुअघि आएको सामानले माग धानेको छ, मूल्य बढ्न दिएको छैन ।’ संघका अध्यक्ष खरालले पनि यस पटक मूल्यवृद्धि नहुने दाबी गरे । ‘अहिले अभाव पनि छैन, मूल्य पनि बढेको छैन,’ उनले भने, ‘५/१० प्र्रतिशत मूल्यवृद्धि बढ्नु स्वाभाविकै हो ।’

...

खाद्यले छुटका खसीबोका नबेच्ने

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक सहुलियतको खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्था र मुख्य सडकहरू अवरुद्ध हुँदा यस पटक छुटको खसीबोका बिक्री नगर्ने निर्णयमा पुगेको खाद्यले जनाएको छ ।

‘विगतका वर्षझैं यस पटक पनि विभिन्न जिल्लाबाट १५ सय खसीबोका र मुस्ताङबाट करिब ३ सय च्याङ्ग्रा ल्याएर बजारभाउभन्दा सस्तोमा बिक्री गर्ने योजना थियो । यी चौपाया वस्तुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भइसकेको थियो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भीमबहादुर थापाले भने, ‘तर पछिल्लो राजनीतिक घटनाक्रमले गाउँपालिकासँग सम्पर्क टुटेको छ । बाटोको अवस्था पनि ठीक भएन, त्यही कारण यस पटकको दसैंमा छुटका खसीबोका बिक्री नगर्ने निर्णयमा पुगेका छौं ।’ 

खाद्यले यस पटक खसीबोका र च्याङ्ग्रा बिक्री गर्न अग्रिम अनलाइन बुकिङसमेत खुला गरेको थियो । तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको थियो । त्यसपछि जेन–जीको प्रदर्शनले स्थानीय तहसँगको सम्पर्क टुटेको खाद्यको भनाइ छ । ‘खसीबोका संकलनदेखि ढुवानीसम्ममा स्थानीय तहकै सहकार्य चाहिन्छ, तर पछिल्लो समय सम्पर्क टुटेकाले यस वर्ष सहुलियत खसीबोका बिक्री गर्न सक्ने अवस्था रहेन,’ थापाले भने, ‘अग्रिम अनलाइन बुकिङ खुला गर्दा ४० जनाले बुकिङ गरेका थिए, अहिले रकम फिर्ता गर्दैछौं ।’

बजारमा सरकारी हस्तक्षेप नहुँदा व्यवसायीहरूले मनोमानी मूल्यमा खसीबोका बिक्री गर्दै आएका छन् । त्यसलाई निरुत्साहित गर्न खाद्यले छुटमा बिक्री गर्दै आएको थियो ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully