सुदूरपश्चिमको धनगढीस्थित गौरीफन्टा नाकाबाट मात्रै पछिल्लो तीन दिनयता ४ हजार नेपाली भारतका हरियाणा, दिल्ली, बैंग्लोर, महाराष्ट्र, पुना, पञ्जाब, सिम्ला, जम्मु, लखनउ, आसाम, राजस्थान, गुजरात, तामिलनाडु, सुरतलगायत मुख्य सहरतर्फ लागेका छन् भने गत मंगलबार एकैदिनमा १ हजार ५ सय सीमापार गएको सशस्त्र प्रहरीको बीओपीले जनाएको छ।
धनगढी — रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका अधिकांश नेपालीहरू प्रायः दसैं–तिहार मान्न गाउँघर फर्किने गर्छन् । मुख्य चाड दसैं–तिहार मनाउन आउनेको भीडले यतिबेला सबैजसो सीमा नाका, बसपार्क र मुख्य राजमार्गमा भीडभाड देखिनु नौलो भएन । सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा (त्रिनगर) बाट पनि दैनिकजसो हजारौंको संख्यामा नेपालीहरू चाडबाड मनाउन घरतिर फर्किरहेका छन् । तर, यही बेला कामको खोजीमा देश छोड्नेको संख्या पनि यहाँ कम छैन ।
त्रिनगरस्थित सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर आउट पोस्ट’ (बीओपी) का अनुसार यतिबेला दैनिक तीन हजारभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किरहेका छन् भने देश छोडेर भारत जानेको संख्या पनि यतिबेला दैनिक एक हजारभन्दा माथि छन् ।
त्रिनगरस्थित बीओपीका अनुसार पछिल्लो तीन दिनमा करिब ४ हजार जनाभन्दा बढी नेपाली त्रिगर सीमा नाका हुँदै भारत गएका छन् । बीओपी प्रमुख डीएसपी धिरेन्द्र शाहका अनुसार यहाँबाट सरदर दैनिक एक हजार तीन सयभन्दा बढीको संख्यामा भारतका विभिन्न सहरतर्फ गइरहेका छन् । यसपालि दसैं–तिहार र छठको मुखैमा भारत जानेको संख्या विगतको तुलनामा धेरै भएको सीमा सुरक्षाकर्मीहरूले बताए ।
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अनुसार पोहोर घटस्थापनाको दिनदेखि दसैंको टीकासम्म भारत जानेको संख्या सरदर दैनिक साढे दुई सय जना मात्रै थियो । तर यस वर्ष गत बुधबार १ हजार १ सय जनाभन्दा बढी र मंगलबार एकै दिन १ हजार ५ सय जना नेपालीले सीमापार गरेका छन् । दसैं–तिहारको मुखैमा भारत जाने लर्को शुक्रबार पनि कम भएको थिएन ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी हुँदै गौरीफन्टा नाका भएर दैनिक ठूलो संख्यामा भारतका विभिन्न सहरतर्फ रोजगारी खोज्न हिँडिरहेका छन् । दसैंमा छुट्टी नपाएर घर आउन नसकेकाहरूले पनि यतिबेला बालबच्चा र घरपरिवारलाई उतै बोलाइरहेका छन् । भारतका सहरतर्फ जाँदै गरेका बालबच्चाको संख्या पनि उल्लेख्य देखिन्थ्यो ।
त्रिनगर सीमानाका भएर सुदूरपश्चिमका नौवटै जिल्ला र कर्णालीका प्रायःजसो सुर्खेत, मुगु, दैलेख, हुम्ला र कालीकोट तथा लुम्बिनीको दाङ क्षेत्रका सर्वसाधारण कामको खोजीमा भारतका विभिन्न सहर जाने गरेका छन् । यहाँबाट हरियाणा, दिल्ली, बैंग्लोर, महाराष्ट्र, पुना, पञ्जाब, सिम्ला, जम्मु, लखनउ, आसाम, राजस्थान, गुजरात, तामिलनाडु, सुरतलगायत मुख्य सहरतर्फ जाने गरेको ती सहरका लागि यातायात सेवा सञ्चालन गर्दै आएको धनगढीस्थित केदार यातायात सेवामा कार्यरत कवि थापा बताउँछन् ।
सशस्त्रको बीओपीमा आफ्नो विवरण टिपाइसकेर सीमापार गर्न भारतीय सुरक्षा फौज ‘एसएसबी’ तैनाथ रहेको चेकपोस्टतर्फ अघि बढ्दै गर्दा डडेलधुराको नवदुर्गा गाउँपालिका सुवाकोटका कमल साउदले झोलाबाट नागरिकतालगायत कागजात झिके । चेकपोस्टको लाइनमा उनको पालो सात जनापछि थियो । भारतको बैंग्लुरु जान हिँडेका उनी सुरक्षा जाँच पार गर्दै पल्तिर रहेको गौरीफन्टा बसपार्कतर्फ लम्किए । ‘दसैंको मुखमा घर छाडेर परदेश जाने रहर त कसको पो होला र ?’ कमलले भने, ‘हाम्रो त गुजाराको आधार अन्त नभएकाले भारत फर्किन लागेको हुँ । यतिबेला पनि नफर्किने हो भने उता भएकै रोजीरोटी पनि गुम्ने डर हुन्छ ।’
यतिबेला नेपाली र भारतीय सुरक्षाकर्मीको चेकिङको लाइनमा बसेका अधिकांशको अनुहार मलिन देखिन्छ । दसैंको मुखमा परिवारबाट बिछोडिनु परेको पीडा एकातिर छ भने अर्कोतिर हालैको जेन–जी आन्दोलनपछि नेपालमा भएको सत्तापलटपछि सीमा क्षेत्र भएर आवतजावत गर्नेलाई नेपाली र भारतीय दुवै सुरक्षाकर्मीले कडा जाँच गरिरहेका छन् ।
आन्दोलनका क्रममा कैदीबन्दीहरू भागेकाले पनि दुवैतर्फका सुरक्षा निकायले सुरक्षा चुनौती मानेका छन् । सशस्त्र प्रहरीले कैदीबन्दीको विवरण राखेको छ । सरकारी कागजात हेरेर मात्रै जान दिने गरेको छ । भारतीय सुरक्षाकर्मीले पनि निकै कडीकडाउ गरेका छन् । सुरक्षा स्रोतका अनुसार उनीहरूले पनि भागेका नेपाली कैदीबन्दीको विस्तृत विवरण राखेका छन् ।
सुदूरपश्चिमको प्रमुख सीमानाका कैलालीको त्रिनगर हुँदै भारतका विभिन्न सहरमा कामको खोजीमा जानेहरूको लर्कोलाई चाडबाडले पनि रोक्न सकेको छैन । सुवाकोटकै करन बिष्ट बालबच्चासहित परिवारै लिएर भारतको दिल्ली गइरहेका बेला भेटिए । उनी पनि मुख्य चाडबाडकै बेला घरगाउँ छोडेर रोजीरोटीकै लागि सपरिवार मुग्लान जानुपर्ने बाध्यतामा खुसी थिएनन् । दिल्ली जाँदै गरेका कैलालीको सुख्खडका जीवन थारूले गौरीफन्टा पुगेर पलिया जाने बस खोजेपछि घरमा श्रीमतीलाई जानकारी गराए ।
गरिबी सूचांकमा सबैभन्दा पुछारमा रहेको सुदूरपश्चिमका बासिन्दाका लागि रोजगारी र आयआर्जनको मुख्यथलो नै भारतका विभिन्न सहर हुन् । भारत गएकाहरू चौकीदारी, होटल, पसल, घरमा मजदुरी गर्दछन् । त्यतिले नपुग्ने भएर अधिकांशले बिहान गाडी सफाइ गर्छन् । त्यसबापत अतिरिक्त कमाइ हुने गरेको उनीहरू बताउँछन् ।
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाका भारत ओहोरदोहार गर्ने मुख्य नाकाहरू हुन् । रोजगारीको खोजीमा मुग्लान पसेका सुदूरपश्चिमेलीहरू दसैं–तिहार मान्न घर फर्किने परम्परा त पुरानै हो । यतिबेला घर फर्किनेको पनि घुइँचो छ । सुरक्षाकर्मीहरूको कडा चेकजाँचका बाबजुद पनि यतिबेला त्रिनगर सीमानाका अस्तव्यस्त छ । तर आउने र जानेहरूको घुइँचोका कारण यतिबेला त्रिनगर सीमाक्षेत्र अस्तव्यस्त देखिन्छ । सशस्त्र प्रहरीका अनुसार यतिबेला दैनिक तीन हजार बढी भारतबाट स्वदेश फर्किरहेका छन् ।
